Shittalpati
कोरोनाका कारण थप दुई जनाको मृत्यु

पाल्पा, पछिल्लो २४ घण्टामा नेपालमा दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । देशका विभिन्न ठाउँमा उपचाररत संक्रमितको शनिबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ३ हजार ६ सय ९९ नमूना परीक्षण गर्दा ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ७ सय ७९ र एन्टिजेनबाट १ हजार ९ सय २० नमूनाको परीक्षण गर्दा पीसीआारबाट २ सय ९२ र एन्टिजेनबाट १ सय ४६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ सय ७७ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ३ ६९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५८ हजार ५ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । दिनप्रतिदिन संक्रमितको संख्या उकालो लाग्दै गएको छ । संक्रमणको दर उकालो लाग्दै गए पनि न त संक्रमणको डरले सर्वसाधारण ‘आतंकित’ बनेका छन्, न संक्रमितलाई पहिलेजस्तो ‘असभ्य’ व्यवहार नै गरिएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट यसअघिका भेरिएन्टभन्दा बढी संक्रामक भएको चिकित्सकहरूले बताइरहे पनि सार्वजनिक स्थल, बजारमा भीड घटेको छैन । सार्वजनिक यातायातका साधनमा समेत यात्रु कोचिएरै यात्रा गरिरहेका छन् । विभिन्न संघसंस्थाले गरेका कार्यक्रम, खुला स्थान र बसपार्कमा मानिसको उपस्थिति बाक्लै छ । मास्क लगाउने, भौतिक दूरी कायम गर्नेलगायत स्वास्थ्य मापदण्डको पालना भएको देखिँदैन ।

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update