Shittalpati
आगलागी पीडितलाई राहत लिएर इस्मा पुग्यो पाल्पा रानीमहल लायन्स 

पाल्पा, सामाजिक सेवामा क्रियाशिल रहेको लायन्स क्लव अफ पाल्पा रानीमहलले गुल्मी इस्माका आगलागी पीडितका लागि राहत सामाग्री वितरण गरेको छ । एरिया लायन्स क्लवहरुसँगको सहकार्यमा क्लवले आगलागी पीडितहरुका लागि बस्तीमै पुगेर राहत सामग्री वितरण गरेको हो । 

गत शनिबार नजिकैको जंगलमा लागेको डढेलो बस्तीमा आउँदा घरबार गुमाएका इस्मा गाउँपालिकाका–२  सिदुङखा , मैनडाँडा  र ४ को कोटकोटरीका अग्निपीडितलाई घटनास्थलमा नै पुगेर क्लवले मंगलबार राहतका सामग्री वितरण  गरेको छ ।  डढेलोबाट यहाँका ४० वटा घर र ४६ गोठ जलेका थिए । नजिकैको वनको डढेलो घरगोठमा पस्दा ७५ पशुचौपाया जलेर मरेका छन् । क्लवका पदाधिकारीहरुले टोलमै पुगेर त्यहाँ पूर्ण क्षति भएका परिवारलाई चामल, तेल, साबुन, चिनी, चियापत्ति, दाल, नुन, सोयाविन, साबुन, कापी, कलम, ताउला, लिटो, चाउचाउ, चिउरा, बिस्कुट लगायतका राहत सामग्री वितरण गरेका थिए । उनीहरुले स्थानीय जनप्रतिनिधि, शिक्षक, सामाजिक व्यक्तिहरुको रोहबरमा उक्त राहत सामग्री वितरण गरेका हुन् । तत्कालका लागि पीडित परिवारलाई राहत दिनका लागि एक महिनालाई पुग्ने खाद्यन्न सामग्रीसहित अन्य सामान वितरण गरिएको क्लवका अध्यक्ष कोसीस भण्डारीले बताए । उनले इस्मामा भएको आगलागीको घटनाले लायन्सलाई अत्यन्त दुखी बनाएको र घरबारविहीन भएकाहरुलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले राहत सामग्री लिएर प्रभावित क्षेत्र पुगेको बताए ।

 जहाँ विपद् त्यहाँ लायन्स भन्ने उद्देश्य बोकेर क्लव अगाडि बढेको लायन्स इन्टरनेश्नल डिष्ट्रिक ३२५ रिजन ३ का रिजन चियर पर्सन गंगाबहादुर खत्रीको बताए । उनले भने‘ जहाँ विपद् आइलाग्छ, त्यहाँ लायन्स क्लव पुग्छ, पछिल्लो पटक इस्मामा आगलागीका कारण ठूलो भौतिक क्षति हुन पुगेको खबर पाउन साथ केही सहयोगी दाताहरुको सहयोगमा प्रभावित क्षेत्रमै पुगेर राहत बाँडेका हौं ।’ खत्रीले स्थानीय सरकारसँगको समन्वयमा पीडितहरुलाई सामग्री दिइएको बताए । क्लवले वडा नं. २ मा पूर्ण क्षति भएका १६, र ४ मा ८ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो ।  

पालिका अध्यक्ष भगतसिंह खड्काले पीडित नागरिकहरुप्रति लायन्सले देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । उनले प्रभावित क्षेत्रका नागरिकहरुका लागि स्थानीय सरकार , अन्य सरकारी निकाय, विभिन्न गैरसरकारी संस्थाहरुबाट प्राप्त राहत सामग्री बाँडिएको बताए । अध्यक्ष खड्काले भने ‘ सुरुका दिनदेखि नै हामीले प्रभावित क्षेत्रमा वडाका जनप्रतिनिधिहरु खटाएर राहत र उद्दार कार्यमा लाग्यौं, अहिले लगभग प्रारम्भीक चरणको राहतको कार्य सकिएको छ ।’ अबको चरण थप राहत र पुर्ननिमार्णका कार्यमा आफुहरु जुटेको उनको भनाई छ । अध्यक्ष खड्काले अहिले घर नभएकाहरुलाई आफ्न्त कहाँ र केही टहरामा व्यवस्थापन गरिएको भन्दै बर्खा अघि नै घर निर्माण सक्ने गरी योजना अगाडि बढाइएको बताए ।

उपाध्यक्ष पार्वती कुंवरले राहत वितरण कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन एकद्धार प्रणालीमार्फत राहत सामग्री वितरण गर्दै आएको बताईन् । उनले नगद जम्मा गर्नका लागि विपद् प्रकोप खातामा जम्मा गरिदिन आह्वान गरेको समेत जानकारी दिईन् । वडा नं. २ मा पहिलो चरणको राहत सामग्री पर्याप्त मात्र पुर्‍याइएको वडा अध्यक्ष लोकनाथ आचार्यले बताए । उनले अहिले घर नभएका केही पीडितहरुलाई त्रिपाल टाँगेर अस्थायी टहरा निर्माण गरी राखेको र केहीलाई छिमेकीको घरमा व्यवस्थापन गरिएको बताए । वडा नं .४ का वडा अध्यक्ष राजु बस्नेतले पनि प्रभावित नागरिकहरुका लागि राहत वितरण गर्दै आएको बताए । उनका अनुसार अहिलेको आवश्यकता आवास निर्माण रहेकाले अन्य विकास निर्माणका काम रोकेरै भए पनि अगाडि बढाइने छ । अध्यक्ष बस्नेतले लायन्स क्वलले पीडितहरुका लागि गरेको सहयोगले ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे ।

क्लवका अध्यक्ष कोसीस भण्डारी, पूर्व अध्यक्ष महेन्द्र पोखरेल, प्रथम उपाध्यक्ष राजेश भट्टराई, द्धित्तिय उपाध्यक्ष तुलबहादुर  अधिकारी, सचिव करुणा काफ्ले, कोषाध्यक्ष विष्णु पौडेल, लायन्स इन्टरनेश्नल डिष्ट्रिक ३२५ रिजन ३ का रिजन चियर पर्सन गंगाबहादुर खत्री, क्लवका सदस्यहरु तुल्सी काफ्ले, मधु पराजुली, पूर्ण थापा, पत्रकार रामचन्द्र रायमाझी लगायतको टोली राहत सामग्री लिएर  प्रभावित क्षेत्र इस्मा पुगेको थियो ।       
    

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update