तानसेन, पाल्पाको तानसेन नगरपालिका–७, प्रभासमा ‘सिएन पिउने पानी उद्योग’ सञ्चालनमा आएको छ । तानसेनका स्थानीय व्यवसायी दाजुभाइ रामजी ढुङ्गाना र लक्ष्मण ढुङ्गानाले विश्वकर्मा पूजाको अवसरमा आफ्नो माता नारायणी ढुङ्गाना र स्वर्गीय पिता चिरञ्जीवी ढुङ्गानाको स्मृतिमा उद्योग सञ्चालनमा ल्याएका हुन् ।
उद्योगको माता नारायणी ढुङ्गानाले एक औपचारिक कार्यक्रमका बिच विहीबार उद्घाटन गरेकी हुन् । २ करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा ल्याइएको ढुङ्गाना परिवारले जनाएको छ । तानसेनमा यसअघि सञ्चालित दुई वटा पानी उद्योगले बजारको बढ्दो माग अनुसार आपूर्ति गर्न नसकिरहेको अवस्थालाई ध्यानमा राख्दै नयाँ उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक बिराज ढुङ्गानाले बताए । उपभोक्ताको स्वास्थ्य र मागलाई प्राथमिकतामा राख्दै प्रारम्भिक चरणमा एक हजार मिलिलिटर, पाँच सय मिलिलिटर र तीन सय मिलिलिटर क्षमताका प्रशोधित बोतलको पानी बजारमा ल्याइने सञ्चालक ढुङ्गानाले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा उपस्थित भएका तानसेन नगरपालिका –७ का वडा अध्यक्ष प्रदीप खनालले प्रभास क्षेत्र पछिल्लो समय तीव्र विकासको गतिमा अघि बढिरहेको बताए । “प्रभासमा पिउने पानी उद्योग, दुग्ध प्रशोधन उद्योग, लुम्बिनी मेडिकल कलेज तथा निजी विद्यालयहरू सञ्चालनमा आएसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पुगेको छ,” अध्यक्ष खनालले भने । पछिल्लो समय तानसेनको परम्परागत बजारमा व्यापार–व्यवसाय सुस्ताउँदै गएको अवस्थामा ठूलो लगानीसहित नयाँ उद्योग स्थापना हुनुलाई तानसेन नगरबासीले सकारात्मक रूपमा लिएका छन् । स्थानीयस्तरमै रोजगार सिर्जना हुने र शुद्ध पिउने पानीको सहज आपूर्ति हुने अपेक्षा नगरबासीको छ । तानसेनको भौगोलिक अवस्था, बढ्दो शहरीकरण र आसपासका क्षेत्रमा विस्तार हुँदै गएको बस्तीलाई हेर्दा दैनिक उपभोग्य वस्तुको बजार विस्तार हुने सम्भावना छ ।
तर बजारको सम्भावनालाई उद्योगमा रूपान्तरण गर्न लगानी, पूर्वाधार, गुणस्तर, बजार व्यवस्थापन र स्थानीय तहको सहजीकरण आवश्यक हुन्छ । यही परिवेशमा दुई करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा आएको पिउनेपानी उद्योगले तानसेनमा स्थानीय लगानीकर्ताको सम्भावनालाई समेत देखाएको छ । व्यापारिक क्षेत्रमा आएको उतारचढावका बीच उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गए तानसेनको आर्थिक गतिविधिलाई नयाँ आधार मिल्न सक्छ । स्थानीय स्रोत, स्थानीय लगानी र स्थानीय बजारलाई जोड्न सक्ने उद्योगहरू थपिँदै गएमा तानसेन बजारलाई व्यापारसँगै उत्पादनको केन्द्रका रूपमा विकास गर्ने बाटो खुल्न सक्ने अपेक्षा गरिएको छ । सिएन समूहले यसअघि यातायात क्षेत्रमा सफल लगानी गरिसकेको छ । व्यावसायिक सफलतासँगै यस समूहले विभिन्न सार्वजनिक स्थानहरूमा चौपारी निर्माण गर्ने लगायतका सामाजिक र परोपकारी कार्यहरूमा पनि सक्रिय योगदान दिँदै आएको छ ।


