Shittalpati
तानसेन–४ : इतिहास, पहिचान र विकासको सम्भावना

नवराज बस्याल (बादल)    
तानसेन–४ मा सम्भावना छैन भन्ने होइन, सम्भावना धेरै छन् । तर ती सम्भावनालाई चिन्ने, संरक्षण गर्ने र सही ढंगले उपयोग गर्ने दूरदृष्टि चाहिएको छ । हामीसँग इतिहास छ, संस्कृति छ, मौलिकता छ । सरकारी तथा प्रशासनिक केन्द्र छन्, पुराना गल्ली छन्, दरबार छ, गणेश मन्दिर छन् । गोलाखाना, बारुदखाना र सिलखानाजस्ता ऐतिहासिक महत्व बोकेका स्थान पनि छन् । तर प्रश्न एउटै हो—यी सबै सम्पदालाई एकआपसमा जोडेर हामीले तानसेन–४ को आफ्नै विशिष्ट पहिचान बनाउन सकेका छौँ कि छैनौँ ? मेरो विचारमा, हामीले यस दिशामा अझै धेरै काम गर्न बाँकी छ । अब विकास भन्नासाथ सडक ढलान गर्ने, भवन बनाउने र बजेट खर्च गर्ने सोचबाट माथि उठ्नुपर्छ । सडक पनि चाहिन्छ, तर सडकसँगै इतिहास पनि बचाउनुपर्छ । भवन पनि चाहिन्छ, तर मौलिकता मेटाएर होइन । विकास पनि चाहिन्छ, तर आफ्नै पहिचान गुमाएर होइन । हामीले तानसेन–४ लाई सुन्दर, सफा, शान्त, सुरक्षित, व्यवस्थित र ऐतिहासिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सक्छौँ । त्यसका लागि ठूला योजना र ठूलो बजेट मात्र होइन, स्पष्ट सोच, स्थानीय सहभागिता र उपलब्ध सम्पदाको सही उपयोग आवश्यक छ । तानसेन–४ को विकासका लागि सडक र पैदलमार्गको सुधार आवश्यक छ । तर सडक तथा बाटो निर्माणलाई केवल आवागमन सहज बनाउने कामका रूपमा मात्र हेर्नु हुँदैन । उचित योजना बनाउन सकियो भने हाम्रा पुराना गल्ली, सिँढी र बाटाहरू आफैँमा पर्यटकीय आकर्षण बन्न सक्छन् । बागवानीबाट कृषि कार्यालयतर्फ निस्कने बाटोलाई आवश्यक र प्राविधिक रूपमा सम्भव स्थानमा सुधार गर्न सकिन्छ । निजी घरजग्गामा असर नपर्ने गरी बाटो व्यवस्थित गर्ने, आवश्यक ठाउँमा सौर्यबत्ती जडान गर्ने र रातिको आवागमनलाई सुरक्षित बनाउने काम गर्न सकिन्छ । निर्वाचन कार्यालयमाथिको क्षेत्रदेखि कर कार्यालयसम्म जोडिन बाँकी बाटो सम्भाव्यता अध्ययन गरेर जोड्न सकिन्छ । त्यस्तै, कृषि कार्यालय अगाडिदेखि महेन्द्र पोखरेल सरको घरसम्म जाने सिँढीलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन सकिन्छ । प्राविधिक रूपमा सम्भव भए मोटरसाइकलसमेत तलसम्म पुग्न सक्ने गरी वैकल्पिक व्यवस्थाबारे अध्ययन गर्न सकिन्छ । अदालत अगाडिदेखि हरि नेपाल दाइ र भगवती दिदीको घर हुँदै कर्माचार्य स्टोरतर्फ जाने भ¥याङलाई पनि विशेष आकर्षणका रूपमा विकास गर्न सकिन्छ । आकर्षक रङरोगन, कलात्मक बत्ती, स्थानीय कला र तानसेनको मौलिकता झल्काउने चित्र तथा सामग्री प्रयोग गरेर यसलाई एउटा विशिष्ट पर्यटकीय स्थल बनाउन सकिन्छ ।
किन यसलाई ‘भाइरल भर्‍याङ’ बनाउने अभियानका रूपमा अघि नबढाउने ?
आज मानिसहरू नयाँ, सुन्दर र फरक ठाउँको खोजीमा हिँड्छन् । एउटा आकर्षक भर्‍याङ, एउटा सुन्दर गल्ली, एउटा ऐतिहासिक ढु·ा, पुरानो झ्याल वा मौलिक घरको तस्बिर पनि सामाजिक सञ्जालमार्फत संसारभर पुग्न सक्छ । त्यसैले हाम्रा सामान्य देखिने संरचनाभित्र लुकेको सौन्दर्य र इतिहासलाई चिनाउन सक्नुपर्छ । तर सौन्दर्यीकरण गर्दा पुरानो संरचनाको मौलिकता नष्ट गर्नु हुँदैन । संरक्षण र आकर्षणबीच सन्तुलन कायम गर्नु नै वास्तविक कला हो । तानसेन–४ का सडक तथा बस्तीसम्बन्धी योजनाहरू कार्यालयमा बसेर मात्र तय गर्नु पर्याप्त हुँदैन । विशेषगरी तेस्रो सडक क्षेत्रजस्ता स्थानमा त्यहाँ बसोबास गर्ने घरधनी, व्यवसायी र स्थानीय नागरिकसँग प्रत्यक्ष छलफल गरेर मात्रै योजना अघि बढाउनुपर्छ । स्थानीयका आवश्यकता के छन् ? उनीहरूले भोगिरहेका समस्या के हुन् ? बाटो सुधार गर्दा कसलाई कस्तो असर पर्छ ? वैकल्पिक उपाय के हुन सक्छन् ? यस्ता प्रश्नको उत्तर खोजेर मात्रै दिगो विकास सम्भव हुन्छ । कसैको घरजग्गामा असर पर्ने गरी बाटो फराकिलो बनाउने निर्णय कागजमा सजिलो देखिन सक्छ । तर स्थानीयको पीडा बुझेर वैकल्पिक बाटो खोज्नु, सम्भव भएसम्म कम क्षति हुने उपाय अपनाउनु र प्रभावित व्यक्तिको सुझावलाई सम्मान गर्नु नै जिम्मेवार विकास हो । पर्यटनमैत्री विकासका नाममा स्थानीयलाई समस्यामा पार्नु हुँदैन । बरु स्थानीयलाई नै योजनाको साझेदार बनाउनुपर्छ । उनीहरूको घर, व्यवसाय, संस्कृति र जीवनशैलीलाई सम्मान गर्दै विकासको बाटो खोज्नुपर्छ ।
गोलाखानालाई इतिहास र पर्यटनसँग जोडौँ
आले माइलादाइको घर अगाडिदेखि गोलाखाना हुँदै जोर्ते होटलतर्फ जाने बाटोलाई व्यवस्थित बनाउन सकिन्छ । यस क्षेत्रमा सरसफाइ, उचित प्रकाश, बाटोको सुधार, दिशासूचक सूचना र ऐतिहासिक जानकारी समेटिएका संकेतपाटी राख्न सकिन्छ । गोलाखानाको इतिहासलाई संरक्षण गर्दै त्यहाँ रहेका तोपका गोला तथा अन्य ऐतिहासिक सामग्रीलाई सुरक्षित राख्ने व्यवस्था गर्नुपर्छ । सम्भाव्यता र ऐतिहासिक प्रमाणका आधारमा त्यहाँ सानो संग्रहालय वा इतिहास प्रदर्शन केन्द्र स्थापना गर्न सकिन्छ । त्यसैगरी, आले माइलादाइको घरअगाडिको सरकारी जमिनको कानुनी अवस्था र उपयोगसम्बन्धी सम्भाव्यता अध्ययन गरेर व्यवस्थित पार्किङको व्यवस्था गर्न सकिन्छ । आवश्यक पार्किङ क्षेत्र छुट्याएर बाँकी उपयुक्त ठाउँमा फूलबारी, हरियाली र विश्रामस्थल निर्माण गर्न सकियो भने यस क्षेत्रको स्वरूप नै परिवर्तन हुन सक्छ । विशाल बजारलाई पनि केवल किनमेल गर्ने ठाउँका रूपमा सीमित नराखी स्थानीय व्यापार, मौलिक उत्पादन र पर्यटनलाई जोडिएको जीवन्त बजारका रूपमा विकास गर्न सकिन्छ । स्थानीय उत्पादनको पहिचान, पसलहरूको व्यवस्थित स्वरूप, सरसफाइ र पर्यटकलाई आवश्यक जानकारी उपलब्ध गराउने व्यवस्था भए बजारले थप आर्थिक गतिविधि सिर्जना गर्न सक्छ ।
बारुदखाना र सिलखानाको इतिहास खोजौँ
गोलाखाना, बारुदखाना र सिलखाना केवल नाम मात्र होइनन् ।  यी स्थान तानसेन र पाल्पाको ऐतिहासिक विगतसँग जोडिएका सम्भावित महत्वपूर्ण सम्पदा हुन् । पाल्पाको सेनकालीन इतिहास, सैनिक व्यवस्थापन तथा तत्कालीन संरचनासँग सम्बन्धित पक्षको अध्ययन गर्नु हाम्रो दायित्व हो । तर इतिहासको सम्भावना बोकेका स्थानमा विकास निर्माण गर्दा हामीले एउटा महत्वपूर्ण प्रश्न सोध्न बिर्सनु हुँदैन—यहाँको माटोमुनि हाम्रो इतिहास त लुकेको छैन ? पुराना पर्खाल, ढु·े संरचना, भण्डारण कक्ष, माटाका भाँडा, धातुका अवशेष, तोपका गोला वा अन्य पुरातात्विक प्रमाण भेटिन सक्ने क्षेत्रमा निर्माण कार्य अघि बढाउनुअघि आवश्यक वैज्ञानिक अध्ययन गरिनुपर्छ । यस्ता स्थानमा ऐतिहासिक प्रमाण भेटिएमा सम्बन्धित विज्ञ तथा निकायको सल्लाहअनुसार संरक्षणका उपाय अपनाउनुपर्छ । विकास रोक्नु हाम्रो उद्देश्य होइन । इतिहास बुझेर, प्रमाणको सम्मान गर्दै विकास गर्नु हाम्रो उद्देश्य हो । त्यसैले गोलाखाना, बारुदखाना र सिलखानाको व्यवस्थित अध्ययन गरौँ । पुराना अभिलेख खोजौँ । स्थानीय ज्येष्ठ नागरिक, इतिहासका जानकार र परम्परागत ज्ञान भएका व्यक्तिका अनुभव तथा भनाइ अभिलेख गरौँ । आवश्यकता अनुसार पुरातत्वविद्, इतिहासकार र सम्बन्धित निकायको सहयोग लिऔँ । ऐतिहासिक प्रमाण भेटिए त्यसको संरक्षण गरौँ । ती स्थानको वास्तविक इतिहास पहिचान गरेर जानकारीमूलक सामग्री तयार गरौँ । सम्भव भए संरक्षणमैत्री प्रदर्शनीस्थल वा व्याख्या केन्द्र स्थापना गरौँ । हाम्रो इतिहासलाई अनुमानका भरमा प्रस्तुत गर्नु हुँदैन । प्रमाणका आधारमा पहिचान गर्नुपर्छ र प्रमाणित इतिहासलाई भावी पुस्तासम्म पुर्‍याउनुपर्छ ।
इतिहासलाई स्थानीय आम्दानीसँग जोडौँ
अब एउटा दृश्य कल्पना गरौँ । एक जना पर्यटक तानसेन आउँछ । उसले दरबार हेर्छ, पुरानो बजार घुम्छ, गोलाखानाको इतिहास बुझ्छ, बारुदखाना र सिलखानासँग सम्बन्धित ऐतिहासिक जानकारी लिन्छ । ऊ मौलिक गल्लीमा हिँड्छ, पुराना घरहरूको वास्तुकला नियाल्छ, स्थानीय खाना खान्छ र स्थानीय उत्पादन किन्छ । तस्बिर खिच्छ, आफ्ना अनुभव सामाजिक सञ्जालमा साझा गर्छ र सम्भवतः एक रात थप बस्छ । त्यसपछि पर्यटन केवल पर्यटकको आवागमनमा सीमित रहँदैन । त्यो स्थानीयको आम्दानीसँग जोडिन्छ । स्थानीय होटल तथा भोजनालयमा ग्राहक बढ्न सक्छन् । पसलमा व्यापार बढ्न सक्छ । स्थानीय उत्पादनले बजार पाउन सक्छ । गाइड, हस्तकला व्यवसायी, साना उद्यमी र अन्य सेवा प्रदायकले अवसर पाउन सक्छन् । हामीले विकास गर्नुपर्ने सोच यही हो—इतिहासलाई संरक्षण गर्ने, संस्कृतिलाई चिनाउने र पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने । पर्यटक ल्याउने नाममा ठूला संरचना बनाउनु मात्रै पर्याप्त हुँदैन । पर्यटकले के हेर्ने, कहाँ घुम्ने, कहाँ विश्राम गर्ने, के खाने, के किन्ने र के सिक्ने भन्ने सम्पूर्ण अनुभवबारे सोच्नुपर्छ । तानसेन–४ का ऐतिहासिक स्थानलाई जोडेर पैदल भ्रमण मार्ग बनाउन सकिन्छ । बाटोमा इतिहास र सम्पदासम्बन्धी सूचना राख्न सकिन्छ । स्थानीय गाइडको व्यवस्था गर्न सकिन्छ । मौलिक खाना, स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई पर्यटनसँग जोड्न सकिन्छ । यसरी विकास गरिएको पर्यटनले स्थानीय पहिचानलाई कमजोर होइन, अझ बलियो बनाउँछ । तानसेन–४ मा त्रिभुवन बहुमुखी क्याम्पस, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, जिल्ला अस्पताल, मालपोत, नापी, कर, घरेलु तथा अन्य महत्वपूर्ण सरकारी कार्यालयहरू छन् । जिल्लाका विभिन्न स्थानबाट दैनिक रूपमा धेरै मानिस आउने क्षेत्र भएकाले यस वडाको व्यवस्थित विकासको आवश्यकता अझ बढी छ । यस्तो वडाले पूर्वाधार, सरसफाइ, हरियाली, पार्किङ, सार्वजनिक सूचना प्रणाली, पैदलयात्रीको सहजता र सुरक्षित वातावरणका क्षेत्रमा उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । कार्यालयमा सेवा लिन आउने नागरिकले सहज बाटो पाऊन् । पैदल हिँड्ने व्यक्तिले सुरक्षित रूपमा आवतजावत गर्न सकून् । सवारीसाधन व्यवस्थित रूपमा पार्क गर्न सकियोस् । सार्वजनिक स्थान सफा र हरियालीयुक्त होऊन् । पर्यटकले ऐतिहासिक स्थलसम्म पुग्ने बाटो र आवश्यक जानकारी सजिलै पाऊन् । यी सबै काम एकैपटक गर्न नसकिए पनि प्राथमिकता निर्धारण गरेर चरणबद्ध रूपमा अघि बढाउन सकिन्छ । पहिलो चरणमा सरसफाइ, बाटोको अवस्था, बत्ती र सूचना संकेतको सुधार गर्न सकिन्छ । दोस्रो चरणमा ऐतिहासिक स्थलको अध्ययन, संरक्षण र सौन्दर्यीकरण अघि बढाउन सकिन्छ । त्यसपछि स्थानीय व्यवसाय, पैदल भ्रमण मार्ग र पर्यटकीय गतिविधिलाई व्यवस्थित रूपमा जोड्न सकिन्छ । यसका लागि वडा कार्यालय, स्थानीय समुदाय, व्यवसायी, शैक्षिक संस्था, सरकारी निकाय र सरोकारवालाबीच सहकार्य आवश्यक हुन्छ । विकासको कुनै पनि योजना स्थानीय नागरिकको जीवन सहज बनाउने उद्देश्यबाट निर्देशित हुनुपर्छ । पर्यटनका नाममा स्थानीयलाई विस्थापित गर्ने होइन, उनीहरूलाई नै पर्यटनको मालिक र लाभग्राही बनाउने हो ।  ...व्यवसायीलाई असर पर्ने योजना बनाउनुको सट्टा उनीहरूलाई योजनाको साझेदार बनाउनुपर्छ। घरधनीलाई समस्या पर्ने काम जबर्जस्ती गर्नुको सट्टा उनीहरूको सुझाव सुन्नुपर्छ । निजी सम्पत्तिमा पर्ने प्रभावलाई गम्भीरतापूर्वक लिनुपर्छ । सार्वजनिक हित र व्यक्तिगत अधिकारबीच सन्तुलन खोज्नुपर्छ । वडाको विकास स्थानीयको सल्लाहबाट हुनुपर्छ । नागरिकको सहभागिताले योजनालाई व्यवहारिक बनाउँछ, विवाद कम गर्न मद्दत गर्छ र निर्माण भएका संरचनाप्रति अपनत्व बढाउँछ । त्यसैले हरेक महत्वपूर्ण योजनाअघि स्थानीयसँग छलफल गरौँ । आवश्यकताअनुसार सार्वजनिक सुनुवाइ गरौँ । प्राथमिकता निर्धारण गर्दा स्थानीयको आवाज समेटौँ। योजनाको खर्च, प्रगति र उपलब्धिबारे पारदर्शिता कायम गरौँ । विकास भनेको भौतिक संरचना निर्माण गर्नु मात्रै होइन । विश्वास निर्माण गर्नु, सहकार्यको संस्कार विकास गर्नु र सबैलाई आफ्नो वडाप्रति गर्व गर्ने वातावरण बनाउनु पनि विकासकै महत्वपूर्ण पक्ष हो । तानसेन–४ को विकास कुनै एक व्यक्ति, समूह वा राजनीतिक दलको मात्रै सपना हुनु हुँदैन । यो सम्पूर्ण वडावासीको साझा सपना बन्नुपर्छ । राजनीतिक दलका झण्डा फरक हुन सक्छन् । विचार र प्राथमिकतामा भिन्नता हुन सक्छ । तर वडाको इतिहास संरक्षण गर्ने, स्थानीयको जीवन सहज बनाउने, व्यापार प्रवद्र्धन गर्ने र भावी पुस्ताका लागि राम्रो वातावरण निर्माण गर्ने विषयमा साझा सहमति बनाउन सकिन्छ । वडाको विकासका लागि दीर्घकालीन योजना तयार गरौं । कुन सम्पदा संरक्षण गर्ने, कुन बाटो सुधार गर्ने, कहाँ हरियाली बढाउने, कहाँ पार्किङ आवश्यक छ र कुन स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट प्राथमिकता निर्धारण गरौँ । सम्भव भएसम्म हरेक योजनालाई निश्चित समयसीमा, अनुमानित लागत, जिम्मेवार निकाय र अपेक्षित उपलब्धिसँग जोडौँ। कामको नियमित समीक्षा गरौँ । उपलब्ध स्रोतको सदुपयोग गरौँ र परिणाम देखिने गरी अघि बढौँ । राजनीतिक नेतृत्व परिवर्तन भए पनि वडाको दीर्घकालीन विकासको सोच परिवर्तन भइरहनु हुँदैन । साझा योजना, पारदर्शिता र निरन्तर प्रयासले मात्रै दिगो उपलब्धि हासिल गर्न सकिन्छ । हामीले भावी पुस्तालाई केवल नयाँ भवन र पिच सडक मात्र छाड्नु हुँदैन । उनीहरूलाई यस्तो तानसेन–४ हस्तान्तरण गर्नुपर्छ, जहाँ हिँड्दा इतिहास भेटियोस्, हेर्दा संस्कृति झल्कियोस्, बस्दा शान्ति अनुभव होस्, व्यापार गर्दा अवसर मिलोस् र पर्यटक आउँदा स्थानीयको घरआँगनसम्म आम्दानी पुग्ने वातावरण बनोस् । तानसेन–४ लाई सुन्दर बनाऔँ । सफा बनाऔं । शान्त र सुरक्षित बनाऔँ । व्यवस्थित तथा पर्यटनमैत्री बनाऔँ । इतिहास र मौलिकताको सम्मान गर्ने वडा बनाऔँ । हामीसँग इतिहास छ । सम्भावना छ । जनशक्ति छ । मौलिकता छ । अब आवश्यक छ—दूरदृष्टि, इमानदार प्रयास, जनसहभागिता र काम गर्ने इच्छाशक्ति । इतिहास भएको ठाउँ धेरै छन्, तर इतिहासलाई भविष्यसँग जोड्न सक्ने ठाउँले मात्रै आफ्नो विशिष्ट पहिचान निर्माण गर्न सक्छ । त्यसैले अब प्रश्न यो होइन कि तानसेन–४ मा सम्भावना छ कि छैन । प्रश्न हो—हामीले ती सम्भावनालाई कति चिनेका छौँ र तिनको सदुपयोग गर्न कति तयार छौँ ? आउनुहोस्, हाम्रो इतिहास खोजौँ, सम्पदा जोगाऔँ, मौलिकता बचाऔँ, पर्यटन बढाऔँ र स्थानीयलाई विकासको केन्द्रमा राखौँ। तानसेन–४ लाई केवल सरकारी कार्यालय भएको वडा होइन, इतिहास, संस्कृति, पर्यटन, व्यापार र मौलिकताको नमुना वडाका रूपमा चिनाउने साझा अभियानमा जुटौँ । किनकि तानसेन–४ को भविष्य निर्माण गर्ने जिम्मेवारी पनि हाम्रै हो, र यसको सम्भावनालाई वास्तविकतामा बदल्ने शक्ति पनि हामीमै छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update