पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २१ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कञ्चनपुर, कैलाली, बाँके, पर्सा, काठमाडौं लगायतका स्थनबाट लागूऔषध सहित २१ जना पक्राउ परेका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट अवैध लागूऔषध सहित सोही नगरपालिका–१८ बस्ने २६ वर्षीय रामकृष्ण बराललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीबाट लागूऔषध र नगद ४२ हजार ५ सय ९८ रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ ब्रम्हखेल घर भएका ३५ वर्षीय गणेश श्रेष्ठ र गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने नुवाकोट घर भएका २१ वर्षीय अनिस केसी रहेका छन् । यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध सहित धादिङ निलकण्ठ नगरपालिका–१४ घर भएका २९ वर्षीय जोनाम लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस्तै पर्साको वीरगंज महानगरपालिका–१६ बाट अवैध लागूऔषध सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ म्याग्दे गाउँपालिका–६ घर भएका २४ वर्षीय अमित दर्जी र सोही गाउँपालिका–२ घर भएका २९ वर्षीय दिपक परियार रहेका छन् । यस्तै सुनसरी, इनरूवा नगरपालिका–४ बसचोकबाट अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–१२ बस्ने ३५ वर्षीय रविन चौधरी, रामधुनी नगरपालिका–७ बस्ने ३० वर्षीय टार्जन चौधरी र इनरूवा नगरपालिका–८ बस्ने १९ वर्षीय लम्बु भन्ने साहदिन हुसेन रहेका छन् । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बुधबारे चोकबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय सिजन माझी र ३० वर्षीय सरोज माझी रहेका छन् ।


