पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन् । प्रहरीका अनुसार आइतबार साँझ गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटरको पछाडी सवार गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक निवासी ३७ वर्षीया माया कुँवर र स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका–४ निवासी ३६ वर्षीया केशरी कुँवर घाइते भएका थिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको थियो । उपचारका क्रममा माया कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक केशरी कुँवरको अवस्था सामान्य रहेको छ । दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


