पदम न्यौपाने
पाल्पा तानसेन नगरपालिका वडा नं. १४मा पर्ने अर्गली फाँट अन्य फाँट जस्तो होइन । कालिगण्डकीको किनारमा पर्ने, प्राचिन धार्मिक क्षेत्रको रुपमा रहेको रिडिसँग जोडिएको उव्जाउ भूमि मात्र पनि होइन, यो त चार सय वर्ष अगाडि देखी पानी सभ्यताको इतिहास बोकेको क्षेत्र पनि हो ।
यसर्थ यस उपत्यका वा फाँटलाई बुझ्न खेतमा बगेको पानी वा सिचाइँ सुविधा उपलव्ध फाँटका रुपमा मात्र हेरेर पुग्दैन । अर्गलीको पानीभित्र इतिहास छ, राज्यको दृष्टि छ, किसानको श्रम छ, सामुदायिक अनुशासन छ र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको स्थानीय तर वैज्ञानिक ज्ञान छ । करिब चार सय वर्षभन्दा पुरानो मानिने अर्गलीको राजकुलो नेपालका सिनद्धारा व्यवस्थापन गरिएको सिचाइ प्रणली हो वा किसानद्वारा व्यवस्थित गरिएको सिंचाइ प्रणालीको महत्वपूर्ण उदाहरण हो । यस प्रणालीको विदेशी विश्वविद्यालयलको अध्ययन अनुसन्धानको विषय बनेको अर्गली राजकुलोलाई स्थानीय समुदायले लामो समयदेखि सञ्चालन र संरक्षण गर्दै आएको प्रणालीका रूपमा अभिलेख पनि गरिएको सम्पति पनि हो । यसैले भन्न सकिन्छ, पाल्पाको अर्गली सिंचाइ प्रणालीको इतिहास, नमुना, उद्देश्य, सिकाइ र भविष्यको बस्ती विकास रणनीतिसँग जोडिएको महत्वपूर्ण प्रणाली पनि हो ।
मणिमुकुन्द सेन र अर्गलीको राजकुलो
उपलब्ध अनुसन्धान दस्तावेजहरूमा अर्गलीको राजकुलोको निर्माणलाई पाल्पाका तत्कालिन राजा मणिमुकुन्द सेनको संरक्षण÷निर्देशनसँग जोडिएको पाइन्छ । एउटा अध्ययनले यसलाई करिब ४०० वर्षअघि मणिमुकुन्द सेनको संरक्षणमा बनाइएको बताउँछ भने अर्को अध्ययनले “राजाको निर्देशनमा स्थापित भएको” स्थानीय परम्परा भन्ने उल्लेख छ । कुलोसंग जोडिएको अर्को रोचक कुरा के छ भने, यो अर्गलीको स्थानीय परम्परा अनुसार पहिलो कुलो वि.सं. १६१५ अर्थात् सन् १५५८ मा खनिएको मानिन्छ । यसको उद्देश्य अर्गलीमा धान उत्पादन गरी नजिकैको ऋषिकेश मन्दिरमा पूजा–अनुष्ठानका लागि आवश्यक अक्षता उपलब्ध गराउनु थियो भत्रे मौखिक इतिहास अनुसन्धानमा अभिलेख गर्ने गरिएको छ । अर्थात्, यसको सुरुवातकै उद्देश्य केवल “कृषि सिंचाइ प्रयोजनको आयोजना” थिएन । यसको पछाडी कृषि, धर्म,राज्यव्यवस्था, स्थानीय अर्थतन्त्रसंग पनि जोडिएको देखिन्छ । हाल पनि यहाँका अधिकाशं जग्गा विभिन्न निजि तथा राजगूठिसंग सम्वद्ध रहेको देखिन्छ ।
चट्टानी पहाडभित्र सुरुङ र जेठी राजकुलो
अर्गलीको पहिलो कुलोलाई जेठी कुलो वा राजकुलो भनिन्छ । यो कुलोको विशेषता भनेको करिब ८ किलोमिटर लामो र यसको केही भाग चट्टानी पहाडभित्र एक किलोमिटर बढी दुरी सुरुङ बनाएर लगिएको छ । त्यो समय आजको जस्तो निर्माण प्रविधियुक्त र सुविधाजनक डोजर, एक्स्काभेटर वा आधुनिक सुरुङ खत्रे प्रविधि पनि थिएन । स्थानीय अध्ययनका अनुसार छिनो, कोदालो र गलजस्ता परम्परागत उपकरण प्रयोग गरेर चट्टान काटिएको थियो । यसबाट प्रष्ट हुन्छ, त्यो समयका मानिसले भूगोल बुझे, पानीको ढलान बुँझे, चट्टानको प्रकृति बुँझे र गुरुत्वाकर्षणको उपयोग गरेर पानीलाई खेतसम्म पुर्याउन यो व्यवस्था गरेका थिए ।
एउटा कुलोबाट चार कुलोसम्मको नमूना
अर्गलीको कथा जेठी कुलोमै मात्र सिमित रहेन । जेठी कुलोलाई आधार बनाएर पछि माइली कुलो, साइली कुलो र कान्छी कुलो भनिने निर्माण गरिए । यसरी एउटै पानी प्रणाली क्रमशः विस्तार भएर जेठी, माइली, साइली र कान्छी चार कुलोको वैज्ञानिक सिँचाइ प्रणाली बन्यो ।
यि चार प्रणालीका बारेमा अध्येता शन्तोष नेपाल र पूर्ण अडिगाले गरेको अर्गलीको किसानद्धारा व्यवस्थित सिँचाइ प्रणाली र कुरुङ खोलाको जलाधार व्यवस्थापन वीचको सम्वन्धी अध्ययनले यस वैज्ञानीक सोंच बारेमा चर्चा गरिएको छ भने अनुसन्धानकर्ता Robert Yoder र Edward Martin ले किसानद्धारा सञ्चालित सिँचाइ प्रणालीबारेको अध्ययन गरेका थिए । यि कुलोहरुको मुख्य आकर्षक र महत्वपूर्ण पक्ष भनेको मुहान संरक्षण, नहर सफाइ,पहिरो हटाउने,बाँध मर्मत,पानी बाँडफाँड,पालो निर्धारण,श्रम व्यवस्थापन हुन् । यही कारण अर्गलीको सिंचाइ प्रणालीलाई अनुसन्धानकर्ताहरूले किसानद्धारा व्यवस्थापन गरिएको प्रणलीका रूपमा अध्ययन गरेका हुन् । परम्परागत व्यवस्थामा पानी पाउने अधिकारसँगै कुलो मर्मतमा श्रम वा आर्थिक योगदान गर्ने जिम्मेवारी जोडिएको थियो । यसले “अधिकारसँगै कर्तव्य” को स्थानीय प्रणाली निर्माण गर्यो । यसर्थ अर्गलीको वास्तविक सम्पत्ति कुलो मात्र होइन,कुलो चलाउने संस्था हो ।
सामुदायिक शासन प्रणाली
पानीले बनाएको सामाजिक पूँजी भनेकै सामुदायिक शासन प्रणाली हो । अर्गलीको सिंचाइ प्रणालीलाई केवल कृषि पूर्वाधार भनेर हेर्नु भन्दा यसद्धारा भएको व्यवस्थापन पक्षको कथा महत्वपूर्ण छ । पानीले मानिसलाई संगठित गर्यो संगठनमा छ, कसले कति पानी पाउने निश्चित गर् योे, कसको पालो कहिले पारदर्शि छ, कुलो बिग्रियो भने कसले मर्मत गर्ने, जानकारी छ, कसले श्रम गर्ने पूर्व सर्वस्विकार्य छ, नियम नमात्रेलाई के गर्ने, सर्वमान्य छ । यी प्रश्नको समाधान स्थानीयद्धारा नै गर्ने एउटा सामुदायिक शासन प्रणाली विकास गर्यो । त्यसैले अर्गलीको राजकुलो नेपालमा जलस्रोत व्यवस्थापन मात्र होइन, स्थानीय संस्थागत विकासको पनि उदाहरण हो । यसको मूल शिक्षा भनेको “कुलो बचाउने हो भने मुहान बचाऊ; मुहान बचाउने हो भने जलाधार बचाऊ ।” भन्ने पनि हो ।
चार सय वर्षपछि अर्गलीको शिक्षा
इतिहासले अर्गलीलाई पानी दियो । किसानले त्यसलाई उत्पादनमा बदले । तर अब जिज्ञासा बदलिएको छ । अब अर्गलीले पानीबाट कस्तो भविष्य बनाउने ? आजको अर्गलीका लागि लक्ष्य केवल “कुलो जोगाउने” की जमिन व्यवस्थापन हुनु पर्दछ , व्यवस्थित ग्रामीण वसोवास र उत्पादन लक्ष्य हुनुपर्छ—अब “राजकुलोलाई आधार बनाएर अर्गलीलाई जीवित ऐतिहासिक–कृषि–पर्यटन बस्ती बनाउने ” रणनीति र लक्ष्य वनाउन जरुरी छ । रणनीति बनाउँदा राजकुलो सम्पदा करिडोर (पुुरानो मार्ग, सुरुङ, मुहान, शाखा कुलो, पानी बाँड्ने संरचना, पुराना अभिलेख र स्थानीय कथा सहित) ,पानी र कृषि अर्थतन्त्र, कृषि पर्यटन जस्ता पक्ष लाई जोडेर हेर्नुपर्छ । विशेषगरी बस्ती विस्तार गर्दा जथाभावी हुन दिनु हुँदैन । अर्गलीमा, कृषि क्षेत्र, ऐतिहासिक क्षेत्र, आवास क्षेत्र, पर्यटन क्षेत्र ,हरित क्षेत्र छुट्याएर योजना बनाउन सकिन्छ ।
अर्गलीले नेपाललाई के सिकाउँछ ?
चार सय वर्षको अर्गली यात्राबाट पाँचवटा ठूला पाठ निकाल्न सकिन्छ । पहिलो—स्रोतभन्दा महत्वपूर्ण व्यवस्थापन हो । दोस्रो—पूर्वाधारभन्दा महत्वपूर्ण संस्था हो । तेस्रो—राज्यको पहललाई समुदायको स्वामित्वले मात्र दीगो बनाउँछ । चौथो—जलस्रोत र जलाधारलाई अलग गरेर हेर्न मिल्दैन । पाँचौँ—इतिहासलाई संग्रहालयमा थन्क्याएर होइन, अर्थतन्त्रमा जोडेर जीवित राख्नुपर्छ ।
अर्गलीको भविष्य पानीमै लेखिएको छ । अर्गलीको राजकुलो एउटा पुरानो नहर होइन । यो चार सय वर्षअघि मानिसले प्रकृतिसँग गरेको एउटा सम्झौता हो । हामी पानीलाई सम्मान गर्छौँ, पानीले हामीलाई जीवन दिन्छ । मणिमुकुन्द सेनको संरक्षण/निर्देशनसँग जोडिएको जेठी राजकुलोबाट सुरु भएको भनिएको यात्रा, स्थानीय किसानको श्रम र व्यवस्थापन हुँदै माइली, साइली र कान्छी कुलोसम्म विस्तार भयो । आज उपलब्ध अनुसन्धानले यसलाई नेपालको दीर्घजीवी किसान–व्यवस्थित सिंचाइ प्रणालीको महत्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गर्छ । अब अर्गलीको अर्को अध्याय लेख्ने जिम्मेवारी नयाँ पुस्ताको हो । यसर्थ, हिजो पानी खेतमा पुर्याइयो । आज पानीसँग इतिहास जोड्नुपर्छ । भोलि इतिहाससँग पर्यटन जोड्नुपर्छ । र पर्यटनसँग रोजगारी, उद्यम र आधुनिक बस्ती जोड्नुपर्छ ।
अर्गलीको आगामी विकासको मूल मन्त्र :
राजकुलो जोगाऊँ, जलाधार बचाऔं, पानीबाट कृषि बढाऊँ, कृषिबाट उद्यम बनाऊँ; इतिहासलाई पर्यटनसँग जोडौँ, र चार सय वर्ष पुरानो अर्गलीलाई भविष्यको स्मार्ट हेरिटेज बस्ती बनाऔं ।
निष्कर्ष
पाल्पा जिल्लाको अर्गली केवल एउटा गाउँ मात्र होइन, यो नेपालका पहाडी क्षेत्रमा सामूहिक श्रम, स्थानीय नेतृत्व, पानी व्यवस्थापन र आत्मनिर्भर विकासको जीवित उदाहरण हो। आज नेपालका धेरै गाउँहरू बसाइँसराइ, कृषि उत्पादनमा कमी, रोजगारी अभाव र अव्यवस्थित बस्ती विस्तारका समस्यासँग जुधिरहेका बेला अर्गलीले पानीको सदुपयोग, सामुदायिक सहकार्य र योजनाबद्ध विकासमार्फत एउटा फरक बाटो देखाएको छ । अर्गलीको सिंचाइ प्रणाली केवल खेतमा पानी पु¥यााउने परियोजना होइन; यो सामाजिक पूँजी, स्थानीय ज्ञान, जनसहभागिता र दिगो विकासको सफल अभ्यास हो । अर्गलीको सिंचाइ इतिहास, उपकरण, फोटो, दस्तावेज र समुदायको योगदानलाई सुरक्षित गर्न “अर्गली विकास संग्रहालय” स्थापना गर्न सकिन्छ । यसले इतिहास बचाउँछ र नयाँ पुस्तालाई प्रेरणा दिन्छ ।
अन्ततः, अर्गलीको कथा नहरको कथा होइन; यो सपना देख्ने मानिसहरूको कथा हो । यो सामूहिक श्रमको कथा हो। यो पानीलाई जीवन, विकास र समृद्धिको माध्यम बनाउने मानिसहरूको कथा हो। र यही कथा भविष्यका गाउँहरूले पढ्न, बुझ्न र अनुकरण गर्नुपर्ने कथा हो ।
यो सभ्यतालाइ कालिगण्डकी करिडोर र रिडिको ऐतिहासिक, धार्मीक, आध्यात्मिक पक्षलाइ पर्यटनसंग जोडेर अर्गलीले गुरुयोजना बनाउन आवश्यक भैसकेको छ ।
