लोकतन्त्रमा प्रेस स्वतन्त्रता कसैको कृपा वा उपहार होइन, नागरिकले संविधानमार्फत प्राप्त गरेको मौलिक अधिकार हो । सरकारका कामकारबाही माथि प्रश्न उठाउनु, कमजोरी औँल्याउनु, गलत निर्णयको आलोचना गर्नु र जनताका आवाज सार्वजनिक गर्नु स्वतन्त्र प्रेसको जिम्मेवारी हो । तर यही जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारलाई समाचारको स्रोत खोज्ने नाममा समाचार कक्षबाटै पक्राउ गर्ने, धरपकड गर्ने र सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने कदम चालिन्छ भने त्यसले गम्भीर प्रश्न जन्माउँछ । समाचारको स्रोत खोज्ने नाममा पत्रकारमाथि गरिएको सामूहिक गिरफ्तारी र धरपकड प्रेस स्वतन्त्रताको मर्मविपरीत छ । कुनै समाचारप्रति सरकार वा सम्बन्धित निकायको असहमति हुन सक्छ । समाचारमा त्रुटि भए कानुनी र पेसागत प्रक्रियाबाट त्यसको निरूपण गर्न सकिन्छ । तर समाचारको विषयलाई आधार बनाएर पत्रकारलाई पक्राउ गर्ने, त्रसित बनाउने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने प्रवृत्तिले स्वतन्त्र पत्रकारिताको वातावरण कमजोर बनाउँछ ।
पत्रकारले समाचार लेखेकै कारण असुरक्षित महसुस गर्नुपर्ने अवस्था लोकतान्त्रिक समाजका लागि सुखद संकेत होइन । यही विषयलाई लिएर नेपाल पत्रकार महासंघको आह्वानमा देशभरका पत्रकार आन्दोलनमा उत्रिएका छन् । पाल्पासहित विभिन्न जिल्लाका महासंघ शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाएका छन् । पाल्पामा पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने व्यंग्यात्मक नारासहित प्रदर्शन गर्नु आफैँमा राज्यको व्यवहारप्रतिको गम्भीर असन्तुष्टिको अभिव्यक्ति हो । पत्रकारलाई सुरक्षा र स्वतन्त्रता दिनुपर्ने राज्यकै निकायबाट उनीहरू असुरक्षित हुने अवस्था आउनु विडम्बनापूर्ण छ । अर्कोतर्फ, सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने तथा प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयासले पनि प्रेस जगतमा आशंका बढाएको छ । लोककल्याणकारी विज्ञापन सञ्चारमाध्यमलाई राज्यले दिएको अनुदान मात्र होइन, सार्वजनिक सूचना नागरिकसम्म पु¥याउने र विशेषगरी साना तथा स्थानीय सञ्चारमाध्यमलाई टिकाइराख्ने एउटा माध्यम पनि हो । यसमा हुने कटौती वा वितरण प्रक्रियामा गरिने मनपरीले आर्थिक रूपमा कमजोर सञ्चारमाध्यमलाई थप संकटमा पार्न सक्छ । विज्ञापन वितरण पारदर्शी, निष्पक्ष र मापदण्डमा आधारित हुनुपर्छ । पत्रकार महासंघले उठाएका मागलाई बेवास्ता गरेर समस्या समाधान हुँदैन । संवाद र सहमतिबाटै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी विवादको निकास खोजिनुपर्छ । पत्रकारितालाई नियन्त्रण गरेर सत्य लुकाउन सकिँदैन । प्रेस स्वतन्त्र रह्यो भने मात्र नागरिकले सत्य थाहा पाउने, सत्ताले आफ्नो जवाफदेहिता महसुस गर्ने र लोकतन्त्र जीवन्त रहनेछ । तसर्थ प्रेसलाई जिस्काउने, प्रश्न गर्ने आवाजलाई थुन्ने काम नगर्दा हुन्छ ।

