Shittalpati
दिवसमै सिमित नहोस् महिला हिंसाविरुद्धको प्रतिबद्धता

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद र शोषण अन्त्य गर्दै समानता, सम्मान र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे अनुरुप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिलाहिंसा विरुद्व १६ दिने अभियान सञ्चालन गर्न सरकारी निकाय, गैरसरकारी निकायका चरणवद्ध कार्यक्रम आयोजना हँुदै आएका छन् । तर दिवसका अवसरमा विभिन्न अभियान, छलफल र प्रतिबद्धता व्यक्त गरिए पनि महिलामाथि हुने हिंसाका घटना निरन्तर दोहोरिनु चिन्ताको विषय बनेको छ । यसले महिला हिंसा अन्त्यका लागि दिवस मनाउने औपचारिकताभन्दा व्यवहारमै परिवर्तन आवश्यक रहेको देखाउँछ । महिला हिंसा कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्र समस्या होइन, यो समग्र समाजको गम्भीर सामाजिक विकृति र मानवअधिकारमाथिको चुनौती हो । 

घरभित्र हुने घरेलु हिंसादेखि सार्वजनिक स्थलमा हुने दुव्र्यवहार, यौन हिंसा, बलात्कार, दाइजोका नाममा हुने यातना, बालविवाह, मानव बेचबिखन, कार्यस्थलमा हुने शोषण तथा प्रविधिको दुरुपयोगबाट हुने हिंसासम्म महिलाहरू विभिन्न स्वरूपका हिंसाको जोखिममा छन् । अझ कतिपय अवस्थामा हिंसापीडित महिलाले सामाजिक प्रतिष्ठा, पारिवारिक दबाब र बदनामीको डरले पीडा लुकाउन बाध्य हुनुपरेको छ । समाजमा शिक्षाको पहुँच बढेको छ, महिलाहरू राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, व्यवसायलगायतका क्षेत्रमा अगाडि बढिरहेका छन् । राज्यले पनि महिलाको हक, अधिकार र सुरक्षाका लागि विभिन्न कानुनी तथा नीतिगत व्यवस्था गरेको छ । तर कानुन निर्माण हुँदैमा हिंसा अन्त्य हुँदैन । कानुनको प्रभावकारी कार्यान्वयन, पीडितलाई न्यायको सुनिश्चितता र दोषीलाई कानुनी दायरामा ल्याउने दृढताबिना महिला हिंसा नियन्त्रण सम्भव छैन । हिंसामुक्त समाज निर्माणका लागि महिलालाई सुरक्षित वातावरणमा बाँच्न पाउने, स्वतन्त्र रूपमा निर्णय गर्न सक्ने र सम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । महिला सुरक्षित नभएको समाज समृद्ध र सभ्य हुन सक्दैन । त्यसैले महिला हिंसा अन्त्यका लागि राज्यको प्रतिबद्धता, कानुनको प्रभावकारी कार्यान्वयन र नागरिकको जिम्मेवार व्यवहार एकसाथ अघि बढ्नुपर्छ । दिवस मनाउने मात्र होइन, हिंसाविरुद्ध बोल्ने, रोक्ने र पीडितलाई न्याय दिलाउने संस्कार विकास गर्न सकेमात्र यस दिवसको सार्थकता स्थापित हुनेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update