पाल्पा, दुना–टपरी उद्योग खोलेर तानसेनका महिला स्वरोजगार बन्न थालेका छन् । वनमा खेर जाने सालका पातलाई सदुपयोग गर्दै परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि तानसेन नगरपालिका–२ का महिलाका लागि आम्दानीको नयाँ बाटो खुलेको हो ।
स्थानीय सात महिलाले सामूहिक रूपमा सञ्चालन गरेको दिदीबहिनी कुटिर उद्योगबाट दैनिक करिब एक हजार दुना–टपरी उत्पादन हुँदै आएको छ । चार लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको उद्योगबाट मासिक २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताइन् । उनका अनुसार परम्परागत रूपमा गाउँघरमा महिलाहरू भेला भएर सालका पातबाट दुना–टपरी गाँस्ने चलनलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादन सुरु गरिएको हो । मेसिनको प्रयोगबाट तयार गरिएका दुना–टपरी हातले बनाइएका भन्दा आकर्षक र बलिया हुने उनको भनाइ छ । “दुना–टपरी उत्पादनले महिलालाई आम्दानीको अवसर दिएको छ । यसले भोजभतेरमा प्रयोग हुने प्लास्टिकका प्लेटलाई प्रतिस्थापन गर्न पनि सहयोग पुर्याएको छ,” पौडेलले भनिन् । गाउँका वनहरूमा सालको रुख प्रशस्त भएपनि त्यसको पात टिपेर ल्याउने जनशक्ति नहुँदा माग अनुसारको उत्पादन गर्न नसकिएको उनको भनाई छ । काम गर्ने हो भने पात मात्रै टिपेर पनि दिनको पाँच सयदेखि एक हजार सम्म कमाउन सकिने अवस्था रहेको पौडेलले बताइन् ।

उनले भनिन् “लाफा बनाउने, टपरी उत्पादन गर्नेले पनि राम्रै कमाउने गरेका छौं ,घरमा त्यतिकै बसेर समय खेरा फाल्नुभन्दा टुना टपरी बनाएर बेच्ने हो भने घरखर्च पुग्ने आम्दानी हुने गरेको छ ।” चार लाख लगानीमा सञ्चालन गरेको उद्योगबाट अहिले राम्रै आम्दानी हुँदै आएको छ । उद्योग सञ्चालनमा आएपछि पहिले घरमै बसेर समय बिताउने महिला अहिले नियमित रूपमा उत्पादन कार्यमा संलग्न हुन थालेका छन् । सामूहिक रूपमा काम गर्दा सीप आदानप्रदान हुनुका साथै आम्दानीको अवसर पनि सिर्जना भएको उद्योग सञ्चालक मञ्जु रेग्मीले बताइन् । दुना–टपरी उत्पादनका लागि सुरुमा वनमा पाइने सालका पात संकलन गरी बाँसका सिन्काको सहायताले लाफा बनाइन्छ । त्यसपछि तयार पारिएको लाफालाई मेसिनमा राखेर विभिन्न आकारका दुना–टपरी बनाउने गरिएको छ । मेसिनबाट एक मिनेटमा एउटा दुना–टपरी बनाउन सकिने रेग्मीले बताइन् ।

उद्योगमा उत्पादित सानो दुना खुद्रामा प्रतिगोटा दुई रुपैयाँ र थोकमा १०० वटाको १९० रुपैयाँमा बिक्री हुने गरेको छ । चारकुने टपरी खुद्रामा प्रतिगोटा सात रुपैयाँ र थोकमा छ रुपैयाँमा बिक्री गरिन्छ । लाफा खुद्रामा १३ रुपैयाँ र थोकमा ११ रुपैयाँमा बिक्री हुने गरेको उनले जानकारी दिइन् । उत्पादित दुना–टपरीको माग स्थानीय बजारमा मात्रै सीमित छैन । बाहिरी जिल्लाबाट समेत माग आउने गरेको सञ्चालक रेग्मीले बताइन् । बजारका चाट पसल तथा पूजासामग्री पसलसँग सम्पर्क गरेर उत्पादन बिक्री गर्ने गरिएको उनको भनाइ छ । “सुरुआती चरणमै धेरैले उत्पादन राम्रो लागेको प्रतिक्रिया दिनुभएको छ । गाउँ–गाउँबाट दिदीबहिनीहरूले पात ल्याउनुहुन्छ । बर्खामा पात पाउन कठिन हुने भएकाले अहिले नै संकलन गरेर गोदाममा राखेका छौँ,” रेग्मीले भनिन्, “उद्योगमा लागेपछि आयस्रोत पनि भएको छ । पहिले टपरी बुन्न सिकेका थियौँ, अहिले मेसिनको सहायताले आफैँ उत्पादन गर्न सक्ने भएका छौँ ।” उद्योगमा रिता शर्मा पौड्याल, राधा पौड्याल, ईश्वरीदेवी कोइराला, सरस्वती जिसी लगायतका महिलाहरु समेत आवद्ध छन् । बजारमा दुना–टपरीको माग बढ्दै गए पनि आवश्यक कच्चा पदार्थ र मेसिनको अभावमा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको उनीहरु बताउँछन् । सालका रूख प्रशस्त भएका वन क्षेत्रमा समेत पात संकलन गर्ने जनशक्ति अभाव हुँदा उत्पादन प्रभावित हुने गरेको उनीहरुको भनाई छ । उद्योगकी सचिव कल्पना पोखरेल खनालले वडा कार्यालयबाट एउटा मेसिन सहयोग प्राप्त भए पनि बजारको मागअनुसार उत्पादन बढाउन थप सहयोग आवश्यक रहेको बताइन् ।

स्थानीय सरकारले थप मेसिन र कच्चा पदार्थ व्यवस्थापनमा सहयोग गरे उद्योग विस्तार गर्न सहज हुने उनको भनाइ छ । “पहिले घरमा बसेर दिन बित्थ्यो, अहिले दिदीबहिनीहरू भेला भएर काम गर्दा आम्दानी पनि भएको छ । वनमा खेर जाने पात र खाली समयको सदुपयोग गरेर एक जनाले मासिक पाँच हजार रुपैयाँसम्म कमाउने गरेका छन्,” खनालले भनिन् । उनका अनुसार बजारमा वर्षभरि नै दुना–टपरीको माग हुने गरेको छ । उद्योगबाट हुने आम्दानीले महिलालाई घरखर्च चलाउन र आफ्ना आवश्यकता पूरा गर्न सहयोग पुगेको छ । प्लास्टिकबाट बनेका भाँडाको प्रयोग घटाउन र वातावरणमैत्री सामग्रीको प्रवद्र्धन गर्न स्थानीय सरकारले पनि भूमिका खेल्नुपर्ने उनको सुझाव छ । दुना टपरीले एकातिर नेपाली मौलिक संस्कृतिको संरक्षणमा योगदान पु¥याएको छ भने अर्कोतिर स्थानीय स्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्ने सम्भावना पनि बढाएको छ । विशेषगरी विवाह, व्रतबन्ध, पूजाआजा, धार्मिक अनुष्ठान, भोजभतेर तथा विभिन्न सांस्कृतिक कार्यक्रममा यसको प्रयोग हुँदै आएकाले दुना–टपरीको महत्व आज पनि उत्तिकै छ । आधुनिकतासँगै बजारमा प्लास्टिक र अन्य कृत्रिम सामग्रीबाट बनेका भाँडाकुँडाको प्रयोग बढ्दै गएको भए पनि वातावरणमैत्री र प्राकृतिक सामग्रीको प्रयोगप्रति बढ्दो चासोले दुना–टपरीको महत्वलाई पुनः उजागर गरेको छ । पूजापाठमा प्रसाद चढाउन, भोजभतेरमा खाना खुवाउन तथा विभिन्न शुभकार्यमा यसको प्रयोग गरिँदै आएको छ ।


