मौसमविद्हरूले कार्तिक १२ गतेदेखि मौसमी प्रणाली सक्रिय हुँदै १४ गतेसम्म देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने चेतावनी दिएका छन् । विशेषगरी चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ । यसअघि नै विपद्को जोखिम देखिएको अवस्थामा थप वर्षाले परिस्थिति जटिल बनाउन सक्ने चिन्ता स्वाभाविक छ ।
यस्तो अवस्थामा मौसमको पूर्वानुमानलाई केवल सूचना ठान्नु ठूलो भूल हुनेछ । यो राज्य संयन्त्र र नागरिक दुवैका लागि पूर्वतयारीको संकेत हो । अझ यो कात्तिक महिना नेपाली किसानले धान काटेर भण्डारण गर्ने मौसम हो । देशको मुख्यबाली धान नै किसानले राम्ररी थन्क्याउन पाएनन् भने त्यसको प्रत्यक्ष असर प्रत्येकको भान्छामा पर्छ । जीवनमा पर्छ । यतिबेला देशभरका फाँट धान झुलेर पहेँलपुर छन् । चिन्ता चाहिँ कतिखेर पानी परेर धानबाली नष्ट गर्ने हो भन्ने छ । तराई मधेसमा थुप्रै खेतका धान काट्न बाँकी पनि छ । थुप्रै खेतमा धान काटेर सुकाइएको छ । हाम्रो खेती प्रणाली आकाशे पानीको भर पर्ने मामलामा मात्रै परम्परागत छैन । थन्क्याउने र भित्र्याउने मामलामा पनि परम्परागत नै छ । कि हामी धान काटेर केही दिन खेतमै सुकाउँछौं। सुकाउन बाध्य छौं । त्यसो त धान काटेपछि सुकाउनै पनि पर्छ । होइन भने ओसिलो धान हक्कुवा हुन्छ । ओभानो बनाएपछि मात्रै खानयोग्य बन्छ । किसानले धान नरोपे, सर्वसाधारणमात्रै होइन, सरकारमा बस्नेहरू, राज्य हाँक्नेहरूको पनि पेट भरिन्न । त्यसै आउँदो मौसमबाट धान जोगाउनतर्फ सबैले ध्यान दिनुपर्छ । विपत्ति रोक्न सधैँ सम्भव नहोला, तर त्यसबाट हुने क्षति भने पूर्वतयारी र सचेतनाबाट धेरै हदसम्म कम गर्न सकिन्छ । त्यसैले विपत्ति आएपछि पछुताउनुको सट्टा आउनुअघि नै सचेत र तयार हुनु आजको आवश्यकता हो ।

