Shittalpati
बाढीपीडितको पीडा सुन

प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन । बाढी, पहिरो र डुबानजस्ता विपत्तिले एकैछिनमा नागरिकको वर्षौँको मेहनत, सम्पत्ति र जीविकोपार्जनको आधार समाप्त पार्न सक्छन् । यस्तो कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत दिने, उनीहरूको जीवन सामान्य बनाउन सहयोग गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने जिम्मेवारी राज्यको हो । तर, विपत्ति आएको लामो समय बितिसक्दा पनि पीडितले सामान्य राहतसमेत पाउन नसक्नु राज्यको विपद् व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न हो । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित गुल्मीको कालीगण्डकी क्षेत्रका बासिन्दाको वर्तमान अवस्था यसैको उदाहरण बनेको छ । असोजको पहिलो साता लगातार पाँच दिनसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले नदी आसपासका बस्ती, बजार, घर, सडक, पुल तथा व्यावसायिक प्रतिष्ठानमा ठूलो क्षति पुर्‍यायो । करोडौँ रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भयो । हर्मिचौर र स्याङ्जाको मिर्मी जोड्ने ड्यामसाइडस्थित पक्की पुल बगाउँदा यातायात आवागमन प्रभावित बन्यो । पुर्तिघाट बजार आसपासका होटल, ग्यारेज, विद्युतीय सवारीसाधन चार्जिङ सेन्टर, विद्युत् टूान्सफर्मर तथा कालीगण्डकी करिडोरका विभिन्न सडक खण्डमा समेत क्षति पुग्यो । बाढीले भौतिक संरचनामा मात्रै क्षति पुर्‍याएन, स्थानीयको रोजगारी, व्यापार व्यवसाय र दैनिक जनजीवनलाई समेत नराम्ररी प्रभावित बनायो ।

 विपत्ति आएपछि जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा सरकारी निकायका अधिकारीहरूले प्रभावित क्षेत्रको निरीक्षण  गरी  सहयोगका लागि पहल गर्ने आश्वासन पनि दिए लामो समय बितिसक्दा समेत पीडितको हातमा राहत पुग्न सकेको छैन । क्षतिग्रस्त सडक, पुल र अन्य संरचनाको पुनर्निर्माण प्रक्रिया पनि अघि बढ्न सकेको छैन । निरीक्षण र आश्वासनमै सरकारी सक्रियता सीमित हुँदा पीडित नागरिक निराश बन्नु स्वाभाविक हो । राहत तथा पुनर्निर्माणका लागि स्थानीय तहले संघीय सरकारसँग अनुरोध गरेको भए पनि अहिलेसम्म ठोस काम हुन सकेको छैन । कालीगण्डकी करिडोर तथा आसपासका सडक र पुलको क्षति केवल स्थानीय आवागमनको समस्या मात्र होइन । यसले व्यापार, पर्यटन, कृषि उपजको ढुवानी र अन्तरजिल्ला सम्पर्कलाई समेत प्रभावित बनाउँछ । त्यसैले यस्ता संरचनाको मर्मत तथा पुनर्निर्माणलाई प्राथमिकतामा राख्न आवश्यक छ । बाढीपीडितको पीडा अब आश्वासनले मात्रै कम हुने अवस्था छैन । उनीहरूलाई तत्काल राहत, क्षतिअनुसारको सहयोग, व्यवसाय पुनः सञ्चालनका लागि सहुलियत र क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण आवश्यक छ । विपत्तिमा परेका नागरिकलाई राज्य छ भन्ने अनुभूति दिलाउनु सरकारको पहिलो दायित्व हो । यसर्थ अब निरीक्षण र आश्वासन होइन राहत र पुनर्निर्माणलाई व्यवहारमा उतार्न जरुरी छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update