प्रधानमन्त्री बालेन शाह आइतबारदेखि भारतको दुई दिने राजकीय भ्रमणमा निस्कएका छन् । अत्यन्त छोटो समयको बसाइ हुने यो भ्रमण उनको यो पहिलो विदेश भ्रमण भने होइन । उनले संयुक्त राष्ट्र संघको महासभामा जलवायु परिवर्तनले पारेको प्रभावका कारण नेपालमा हिमालहरू हिउँविहीन बन्दै गएको र ठूला प्राकृतिक विपत्तिहरूको सामना गर्नुपरेको सन्दर्भमा साना र जलवायु परिवर्तनको प्रभावले प्राकृतिक विपत्ति झेल्नुपरेका राष्ट्रहरूका तर्फबाट प्रतिनिधिमूलक आवाज उठाएर सम्बोधन गरेका थिए ।
भारत भ्रमण केवल कूटनीतिक औपचारिकतामा सीमित नभई नेपालका राष्ट्रिय हित र दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण मानिएको छ । नेपाल र भारतबीच लामो समयदेखि विभिन्न विषयमा सहकार्य हुँदै आए पनि कतिपय महत्वपूर्ण मुद्दा अझै समाधान हुन सकेका छैनन् । व्यापार घाटा, सीमा समस्या, हवाई प्रवेशमार्ग, पारवहन सुविधा, जलविद्युत् उत्पादन तथा बिक्री, पूर्वाधार विकास र लगानी प्रवद्र्धनजस्ता विषयमा नेपालले लामो समयदेखि चासो राख्दै आएको छ । प्रधानमन्त्रीको यस भ्रमणमा यी विषयलाई प्राथमिकताका साथ उठाउन आवश्यक छ ।
विशेषगरी नेपालको आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्याउने परियोजनामा ठोस सहमति र कार्यान्वयनको सुनिश्चितता खोजिनुपर्छ । नेपाल जलस्रोतको धनी मुलुक भए पनि पर्याप्त पूर्वाधार र बजारको अभावमा उपलब्ध स्रोतको पूर्ण उपयोग गर्न सकेको छैन । भारतसँगको ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउन सके जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार र विद्युत् निर्यातबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्छ । त्यसैगरी, हवाई प्रवेशमार्ग विस्तार, सीमापार सडक तथा रेल सञ्जालको विकास, पेटूोलियम पाइपलाइन विस्तार र व्यापार सहजीकरणका विषयमा पनि परिणाममुखी छलफल हुनुपर्छ । भारतको विशाल बजार र आर्थिक क्षमताबाट नेपालले लाभ लिन सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो ।
दुई देशबीचको सम्बन्धमा सीमा विवाद पनि संवेदनशील विषयका रूपमा रहँदै आएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका सीमासम्बन्धी विषयलाई आपसी समझदारी र कूटनीतिक संवादमार्फत समाधान गर्ने दिशामा पहल आवश्यक छ । राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा नेपालले आफ्नो स्पष्ट धारणा राख्नुपर्छ । यसर्थ राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्दै आपसी हित, विश्वास र सहकार्यलाई बलियो बनाउने दिशामा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्छ । भ्रमणबाट नेपालको आर्थिक विकास, पूर्वाधार विस्तार, व्यापार प्रवद्र्धन र दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपियोस्। प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक बनोस्, यही शुभकामना ।

