Shittalpati
हरिबोधिनी एकादशी यसको महिमा

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी शुक्रबार तुलसीको पूजा आराधना गरी मनाइएको छ । यस अवसरमा तुलसी र भगवान् दामोदर (विष्णु) को विधिपूर्वक विवाह गरियो  ।वैदिक सनातन परम्पराअनुसार हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गर्ने चलन छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु यस दिन ब्युँझने धार्मिक विश्वास छ । भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यस अवधिमा विवाह, व्रतबन्धजस्ता माङ्गलिक कार्य गरिँदैन । वर्षायाममा खोला तथा नदीमा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भय हुने भएकाले यात्रा नगर्नु शुभ मानिने परम्परा पनि छ ।

यस दिन व्रत बस्दा पुण्य प्राप्त हुने र भगवान् विष्णुको कृपा मिल्ने जनविश्वासका कारण देशभरका विष्णु मन्दिर, नदी तथा तीर्थस्थलमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ । यस पर्वको अर्को महत्वपूर्ण पक्ष तुलसीको पूजा र विवाह हो । हिन्दू धर्ममा तुलसीलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ । तुलसीलाई भगवान् विष्णुको प्रिय मान्दै तुलसी र शालिग्रामको विवाह गरिदिने परम्परा रहिआएको छ । धार्मिक विधिअनुसार तुलसीको मठ सजाउने, पूजा गर्ने, दीप प्रज्वलन गर्ने र भजनकीर्तन गर्ने गरिन्छ । यसले परिवार तथा समुदायबीच धार्मिक तथा सांस्कृतिक एकता कायम गर्न सहयोग पुर्‍याउँछ । 

हरिबोधिनी एकादशी धार्मिक आस्थाको पर्व मात्र नभई प्रकृति र वातावरण संरक्षणको सन्देश दिने अवसर पनि हो । तुलसीजस्ता औषधीय गुण भएका वनस्पतिको संरक्षण र महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउन यस पर्वले प्रेरित गर्दछ । पछिल्लो समय वातावरणीय प्रदूषण, वन विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित दोहन बढिरहेका बेला हाम्रा धार्मिक तथा सांस्कृतिक परम्पराले प्रकृतिप्रति सम्मान गर्न सिकाएको पक्षलाई आत्मसात् गर्न आवश्यक छ । यद्यपि पछिल्लो समय कतिपय पर्व तथा धार्मिक परम्पराहरूमा देखावटीपन र अनावश्यक खर्च बढ्दै गएको पाइन्छ । धर्म र संस्कृतिको नाममा प्रतिस्पर्धा गर्नेभन्दा पनि यसको वास्तविक मर्म र सन्देश बुझ्न आवश्यक छ ।

पर्व मनाउँदा आफ्नो आर्थिक अवस्थाअनुसार खर्च गर्ने, अनावश्यक तडकभडक नगर्ने र धार्मिक स्थल तथा सार्वजनिक स्थानको सरसफाइमा ध्यान दिनुपर्छ । हाम्रा चाडपर्व र संस्कारहरू पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका अमूल्य सांस्कृतिक सम्पत्ति हुन् । यिनको संरक्षण गर्नु सबैको साझा दायित्व हो । हरिबोधिनी एकादशीले आस्था, संयम, सद्भाव र प्रकृतिप्रतिको सम्मानको सन्देश दिन्छ । त्यसैले यस पर्वलाई केवल कर्मकाण्डमा सीमित नराखी यसको सकारात्मक पक्षलाई व्यवहारमा उतार्न सक्नुपर्छ । धार्मिक आस्थासँगै सामाजिक एकता, सांस्कृतिक संरक्षण र वातावरणीय चेतना अभिवृद्धि गर्दै हरिबोधिनी एकादशी मनाउनु आजको आवश्यकता हो ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update