न्वागी सांस्कृतिक पहिचान र सद्भावको पर्व
न्वागी पर्व पाल्पा जिल्लाको परिचम क्षेत्रमा बसोबास गर्ने मानिसहरुले परापूर्व कालदेखि मनाउदै आएको मौलिक पर्व हो । यस क्षेत्रका रैनादेवी, मछिन्द्रादेवी, कालिका, नयाँदेवी, पुराना देवी (गढी) लगायतका थान, मन्दिरमा न्वागीमा पुजाआजा हुने गर्दछ । विशेष गरी रैनादेवी मन्दिरको सबैभन्दा विशिष्ट र महत्वपूर्ण सांस्कृतिक एवं धार्मिक पर्वका रूपमा न्वागी पर्व जनमानसमा परिचित रहेको छ । यो पर्व केवल धार्मिक अनुष्ठान मात्र होइन, यो त कृषकको मेहनत, एवं कृषि सभ्यताको होतक, प्रकृति सम्मानको प्रतिक, दैविय शक्ति प्रतिको आस्था, सामाजिक सद्भाव एवं एकताको पूञ्ज हो ।
किसानहरूले प्रायः असार, साउन महिनामा धान रोप्ने र कात्तिक महिनामा धानबाली घरमा भित्र्याउने गर्दछन् । यसरी नयाँ धान उत्पादन गरेपछि सर्वप्रथम रैनादेवी मन्दिरमा चढाउने र तत्पश्चात् दैनिक जीवनमा उपभोग गर्ने परम्परा रहेको छ । न्वागी पर्वमा नयाँ धानको चामल, दही, सिलाम, केरा, मह लगायतका परिकार रैनादेवीलाई चढाएर न्वागी खाने प्रचलन छ । न्वागी पर्वप्रति यहाँका मानिसहरूको आस्था एवं विश्वासको मनोवैज्ञानिक आधारलाई नियालेर हेर्दा, यस पर्वले किसान, भूमि र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दछ । अन्न उत्पादन गर्न प्रयोग गरिने भूमि, जल, हावा, घाम जस्ता प्राकृतिक स्रोतहरूप्रति भक्तिभाव प्रकट गर्ने मौलिक परम्परा पनि हो, न्वागी पर्व । किसानले आफ्नै श्रमको सम्मानका साथै दैविय शक्तिप्रतिको आस्था र महिमालाई निरन्तरता दिने अवसर पनि हो यो । यसै पर्वका दिन पूजाआजा गरेर भविष्यमा समेत सुख, समृद्धि र लोककल्याणको कामना गर्ने गरिँदै आएको छ । न्वागीको अर्को महत्वपूर्ण आयाम सांस्कृतिक पहिचान र सामाजिक सद्भाव हो । यस दिन मन्दिरमा बलि दिने, पूजाआजा गर्ने, न्वागी चढाउने धार्मिक अनुष्ठानसँगै मौलिक लोकसंस्कृतिका रूपमा रहेको ठूलो नाच, सोरठी, झाम्रे, भजन आदि प्रस्तुत गरेर वातावरणलाई मनोरञ्जनपूर्ण तथा उल्लासमय माहोल सिर्जना गरिएको हुन्छ । यसबाट लोक संस्कृतिको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्नुका साथै नयाँ पुस्तालाई पुर्खाको मौलिक परम्परा पुस्तान्तरणका लागि महत्वपूर्ण अवसरका रूपमा पनि लिइन्छ । त्यस क्रममा स्वदेश तथा विदेशबाट आउने आफन्त, इष्टमित्र, साथीभाइ, सामाजिक तथा राजनैतिक व्यक्तित्वहरूको बाक्लो सहभागिता रहने, विचार आदानप्रदान गरिने र सुख–दुःख आपसमा बाँड्ने सुवर्ण मौका पनि यो पर्वले दिएको हो । त्यसैले यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा लिन सकिन्छ ।
रैनादेवी प्रतिको आस्था र महिमा
रैनादेवीलाई पराक्रम, शक्ति र कल्याणकी देवी मानेर परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको छ । भक्तजनहरूले आफ्नो मनोकांक्षा तथा चाहना पूरा होस्, दुःख, कष्ट र संकट निवारण होस् अनि लोककल्याण होस् भनी भाकल गर्ने गर्दछन्। यसो गर्दा साहस र ऊर्जा प्राप्त हुने तथा मनले चिताएको कुरा पूरा हुने विश्वास जनमानसमा रहेको छ । रैनादेवीप्रतिको आस्था र शक्तिको व्यापक चर्चा सुनेपछि तत्कालीन पाल्पा राज्यका सेनवंशी राजाले “देवीमा साँच्चै शक्ति छ भने मेरो मेडा (राँगो) रैनादेवी मन्दिरको पहिलो पूजामा पुगोस“ भनी भाकल गरी दरबारबाट छोडेका थिए। उक्त पाडो समयमै मन्दिरमा पुगेको भन्ने जनश्रुति रहेको छ । त्यसैबखतदेखि बडादशैँको महानवमीका दिन हुने पूजामा मौलोमा “पहिलो पाडो“ भनी बलि दिने परम्परा सुरु भएको हो। सोही परम्पराअनुसार हाल पनि मन्दिरका पुजारीका तर्फबाट “पहिलो पाडो“ चढाउने चलन कायमै छ । “पहिलो पाडो“ बलि दिएपछि टाउको दौडँदै कालिकाको कोटघरमा पुर्याएर चढाउने चलन छ ।
रैनादेवी मन्दिरसम्बन्धी जनश्रुति
रैनादेवी मन्दिरको नामाकरण तथा ऐतिहासिक एवं पुरातात्त्विक महत्वका सन्दर्भमा विभिन्न जनश्रुतिहरू पाइन्छन्। जसअनुसार–‘गोखुङ्गा’ भन्ने स्थानमा न्यौपाने थरका एक ब्राह्मण बस्दथे। उनको गाईले धेरै दिनसम्म दूध दिन छोडेपछि उनले गोठालालाई गाईको चियोचर्चा गर्न लगाएका रहेछन्।
एकदिन गोठालाले जंगलमा गाई चराउन लैजाँदा गाईले जंगलमा रहेको एक मूर्ति माथि आफैँ दूध चढाइरहेको अद्भुत दृश्य देखेछन् र घरमा आएर सो कुराको जानकारी गराएछन्। तत्पश्चात् गोखुङ्गा जंगलमा रहेको उक्त मूर्ति निकाल्न खोज्दा झनझन् जमिनमुनि भासिँदै गएको र पछि कोदालोलगायतका हतियार समेत प्रयोग गरी बल गर्दा मूर्ति भाँचिएर रगतका छिटा निस्किएको भन्ने जनविश्वास छ ।यसैबीच स्थानीय ‘दर्लामी’ थरका एक व्यक्तिले सपनामा देवी रुँदै, भौँतारिँदै हिँडिरहेको र “यहाँ मेरो अपमान भएकाले म अन्यत्र जान्छु“ भनेको भावको सपना देखेछन्। त्यसपछि उनले देवीको संरक्षण गर्ने वाचा गरेअनुरूप त्यस भेगका ९ थुम्काका मानिस भेला गरी गोखुङ्गाको यस दिब्य भूमिमा रैनादेवीलाई बिराजमान गराई पूजाआजा गर्न थालेको किम्वदन्ती छ । त्यति बेला सबैले रोइन देवी रोइन देवी भन्दै जाँदा कालान्तरमा “रैनादेवी” नाम रहेको भनाई छ । ऐतिहासिक रैनादेवी मन्दिरको फैलिएको महिमा र जनआस्थाको सम्मान गर्दै पाल्पाका साविकका गाविसहरूलाई एकीकृत गरी ‘रैनादेवी छहरा गाउँपालिका’ नामक स्थानीय सरकार गठन गर्ने प्रावधान राखेर राज्यले यस मन्दिरको उच्च सम्मान गरेको हो।
धार्मिक पर्व–पर्यटनको सम्भावना
रैनादेवी मन्दिर धार्मिक आस्थाको धरोहरका साथै प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण स्थान छ । यहाँबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमशृङखलाको मनोरम दृश्य दृश्यावलोक गर्न पाइन्छ । मन्दिरको महिमा, पुरातात्विक, ऐतिहासिक स्थल, मनोरम प्राकृतिक सौन्दर्य, वैभवपूर्ण संस्कृति जस्ता सबल पक्षहरूलाई मनन गर्दा यस क्षेत्रको धार्मिक धर्मपर्यटनको प्रचुर सम्भावना रहेको छ । तसर्थ रैनादेवी छहरालाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्न तीनै तहका सरकारहरूले दीर्घकालीन योजना र रणनीति सहितको मास्टर प्लान बनाएर अघि बढ्नु आवश्यक छ ।
(लेखक राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक (अ.प्रा.) समेत हुन् ।)

