विश्व बाल दिवस आज नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नोभेम्बर २० मा मनाइने यस दिवसले बालबालिका राष्ट्रका भविष्य मात्र होइनन्, वर्तमानका महत्वपूर्ण हिस्सा पनि हुन् भन्ने सन्देश दिन्छ । बालबालिकाको अधिकार, सुरक्षा, शिक्षा, स्वास्थ्य, सम्मान र समग्र विकासप्रति राज्य, समाज तथा परिवारलाई जिम्मेवार बनाउन प्रेरित गर्ने महत्वपूर्ण दिवस हो । बालबालिकाको उचित संरक्षण, अवसर र सहभागिताबिना समुन्नत समाज निर्माण सम्भव छैन । बालबालिका कुनै पनि राष्ट्रका अमूल्य सम्पत्ति हुन् । उनीहरूको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक विकासका लागि सुरक्षित तथा अनुकूल वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्व हो । प्रत्येक बालबालिकाले शिक्षा, स्वास्थ्य, पोषण, खेलकुद, मनोरञ्जन, संरक्षण र समान अवसर प्राप्त गर्न पाउनुपर्छ । तर व्यवहारमा अझै पनि धेरै बालबालिका आधारभूत अधिकारबाट वञ्चित छन् । यो अत्यन्तै दुखको कुरा हो ।
बालअधिकारका रुपमा बाँच्न पाउने, खान पाउने, पढ्न पाउने, स्वास्थ्य उपचार पाउने, सुरक्षित हुन पाउने, स्वतन्त्र हुन पाउनेदेखि खेल्न पाउने, पहिचानको अधिकार पाउनेसम्मलाई परिभाषित गरिएको छ । जति नै अधिकारका कुरा गरिए पनि कयौँ बालबालिकाहरु भने अझै पनि कुपोषणको सिकारमात्रै बनिरहेका छैनन्, समयमै उपचार नपाउँदै अकालमै मृत्यु वरणसमेत गरिरहेका छन् । अझ पछिल्लो समय त विश्वका कयौँ युद्धग्रस्त देशमा द्वन्द्वकै कारण हजारौँ बालबालिकाहरु हिंसाको समेत सिकार भैरहेका छन् । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । बालबालिकालाई नामकरण र जन्मदर्ता, शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद तथा मनोरञ्जनको अधिकार प्रदान गरिएको छ । त्यस्तै, बालश्रम, बालविवाह, बेचबिखन, अपहरण, शोषण र शारीरिक तथा मानसिक यातनाविरुद्ध कानुनी व्यवस्था पनि गरिएको छ । यद्यपि कानुनमा अधिकार सुनिश्चित हुँदैमा व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन भएको मान्न सकिँदैन । यस्ता समस्याको अन्त्यका लागि कानुनी कारबाहीसँगै जनचेतना, अभिभावकको जिम्मेवारी र बालमैत्री वातावरण निर्माणमा जोड दिनुपर्छ । बालबालिकालाई डर, त्रास र दबाबमा होइन, माया, सद्भाव, सम्मान र प्रोत्साहनका साथ हुर्काउनुपर्छ। उनीहरूको कुरा सुन्ने, भावना बुझ्ने र समस्यालाई गम्भीरतापूर्वक लिने संस्कार परिवारदेखि राज्यसम्म विकास हुनुपर्छ । विश्व बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेर बालअधिकारका विषयमा चर्चा गर्नु सकारात्मक पक्ष हो । तर दिवस मनाउने औपचारिकतामा मात्र सीमित भएर बालबालिकाका वास्तविक समस्या ओझेलमा पारिनु हुँदैन । बालबालिकाको मुस्कान, सुरक्षा र उज्ज्वल भविष्य सुनिश्चित गर्नु नै विश्व बाल दिवस मनाउनुको सार्थकता हो ।

