प्रत्येक वर्ष १९ नोभेम्बरमा सरसफाइका लागि शौचालयको महत्वबारे जागरुक गराउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । यस वर्षको दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । खासगरी आजको दिनलाई सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने गरिन्छ । शौचालयको सरसफाइ कायम राख्नुको अर्थ विभिन्न संक्रमणबाट बच्नु हो । किनभने धेरै रोगजन्य कीटाणु शौचालय सिट,फ्लसिङ बटन र वरपर रहेका वस्तुमा रहने गर्छन् । शौचालय मानव स्वास्थ्य, स्वच्छता, मर्यादा र वातावरणीय सुरक्षासँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता हो । तर अझै पनि विश्वका धेरै मानिस सुरक्षित र स्वच्छ शौचालयको पहुँचबाट वञ्चित छन् । यो अवस्था सभ्य र विकसित समाज निर्माणका लागि गम्भीर चुनौती हो ।
शौचालयलाई सामान्य भौतिक संरचनाका रूपमा मात्र बुझ्नु हुँदैन। यो मानिसको स्वास्थ्य, सम्मान र जीवनस्तरसँग जोडिएको विषय हो। खुला दिसामुक्त समाज निर्माण गर्नु मात्रै पर्याप्त छैन, प्रयोगमा रहेका शौचालय पनि सफा, सुरक्षित र व्यवस्थित हुन आवश्यक छ। शौचालयको उचित प्रयोग र दिसाजन्य फोहोरको सुरक्षित व्यवस्थापन हुन नसके विभिन्न सरुवा रोग फैलिने, पानीका स्रोत प्रदूषित हुने र वातावरणीय सन्तुलनमा असर पर्ने जोखिम रहन्छ। त्यसैले शौचालय निर्माणसँगै यसको नियमित सरसफाइ, मर्मतसम्भार र फोहोर व्यवस्थापनमा उत्तिकै ध्यान दिनुपर्छ । नेपालले खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेको भए पनि व्यवहारमा अझै धेरै सुधार गर्नुपर्ने अवस्था छ । कतिपय ग्रामीण क्षेत्रमा शौचालयको उचित व्यवस्थापन हुन सकेको छैन भने सहरी क्षेत्रमा सार्वजनिक शौचालयको अभाव र भएका शौचालयको कमजोर व्यवस्थापन समस्या बनेको छ । सार्वजनिक स्थल, बजार, बसपार्क, विद्यालय, अस्पताल तथा पर्यटकीय क्षेत्रमा पर्याप्त र सुविधायुक्त शौचालय नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि सहज पहुँच हुने शौचालय निर्माण र सञ्चालनमा ध्यान दिन आवश्यक छ ।
स्थानीय सरकारको जिम्मेवारी यस क्षेत्रमा अझ महत्वपूर्ण हुन्छ । प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र सार्वजनिक शौचालयको आवश्यकता पहिचान गरी पर्याप्त संख्यामा निर्माण गर्ने, नियमित सरसफाइको व्यवस्था मिलाउने र सञ्चालन तथा व्यवस्थापनका लागि प्रभावकारी योजना बनाउनुपर्छ । निर्माण गरिएका शौचालय प्रयोगविहीन हुने वा सरसफाइको अभावमा दुर्गन्धित बन्ने अवस्थाको अन्त्य गर्नुपर्छ । शौचालय निर्माण गर्नु उपलब्धि हो भने त्यसलाई सफा, सुरक्षित र प्रयोगयोग्य राख्नु वास्तविक सफलता हो । त्यसैले सरकार, स्थानीय तह, विद्यालय, समुदाय र नागरिक सबैले साझा जिम्मेवारी निर्वाह गरौँ । स्वच्छ शौचालयको सुनिश्चितताबाटै स्वस्थ, मर्यादित र सभ्य समाज निर्माण गर्न सकिन्छ ।

