सधै सुन्ने गरिन्छ, खर्च गर्ने पैसा छैन्, आम्दानी सानो छ खर्च गर्नु पर्ने क्षेत्र धेरै छन् । यति मात्र होइन तानसेन नगरपालिका सानो छ, बजार क्षेत्र झन् सानो छ, ग्रामीण क्षेत्र धेरै छ, फराकिलो छ, माग धेरै छन्, खर्च रकम पुर्याउन सकिएको छैन, असन्तुष्टि धेरै छन् । हामी हरेकले बनाएको धारणा यही हो, भन्ने पनि यही हो ! तर अब यस परम्परालाई बदलेर यसरी भन्नु पर्ने भयो– तानसेन नगरपालिकाको मुख्य समस्या आम्दानी कम हुनु र अर्को समस्या अतिरिक्त लगानी भित्राउने सोच,गम्भिर पहल र प्रभावशाली परियोजना नहुनु हो । बजेट मात्र खर्च गर्ने होइन, अर्थतन्त्र निर्माण गर्ने नगरपालिकाको रुपमा स्थापित हुने चाहाना पनि नहुनु अर्को समस्या हो । अबको बहस यसमा हुनु पर्दछ, यही बहसका लागि यो बहस पत्र तयार गनुपर्ने आवश्यकता आएको हो ।
तानसेन नेपालको ऐतिहासिक, सांस्कृतिक, व्यापारिक शैक्षिक पहिचान र प्रकृतिको अनुपम उपहार बोकेको पुरानो सहर हो । यसको आर्थिक सम्भावना पुरानो बजार, सम्पदा, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, व्यापार र ग्रामीण उत्पादनमा फैलिएको छ । तर यी सम्भावनालाई एउटै आर्थिक प्रणालीमा जोडेर पर्याप्त आर्थिक लाभ लिन सकिएको छैन् । स्थानीय सरकारले आफ्नो वार्षिक बजेटबाहेक पनि निजी क्षेत्र, सहकारी, बैंक, गैरसरकारी संस्था, विकास साझेदार र समुदायबाट स्रोत परिचालन गरेर विकास आयोजनामा सहयोग गर्न सक्छ । यसलाई सामान्यत गैर बजेट लगानी परिचालन भनिन्छ । यसको उपयोगिता रणनीतिलाई नै क्षमता र सोंचको पहिचान वा मानक मानिन्छ , जसले यो पक्षलाइ बजेटरी भन्दा बढी महत्व दिन्छ उसैको समग्र आर्थिक विकासको प्रष्ट मार्ग देखिन्छ । यो भन्नुको अर्थ हो उसँग प्रसस्त वाÞय लगानीका लागि विभिन्न परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन रहेका हुन्छन् ।
नगरपालिकाले बजेट होइन, अर्थतन्त्रको आकार बढाउनुपर्छ । यसका लागि हालको आम्दानीमा दोब्वर र बजेट भन्दा तेब्वर बाÞय योजना परिचालन गर्ने स्पष्ट अवधारणा र लक्ष्य हुनु पर्दछ ।हालको आन्तरिक आम्दानी वा राजश्व दोब्बर पुर्याउने लक्ष्य हुनु भनेको राजस्व प्रशासनको सुधार र आर्थिक गतिविधि विस्तारको विषय हो । त्यसैगरी दोव्वर गैरबजेटरी लगानी परिचालन गर्नु भनेको नगरपालिकाको लगानी सहजीकरण क्षमता, निजी क्षेत्रको विश्वास र आयोजनाको व्यावसायिक सम्भाव्यतासँग सम्बन्धित विषय हो । तानसेनको पुरानो बजारले सम्पदा र पर्यटनको मूल्य सिर्जना गर्नुपर्छ । बाहिरी वडाले उत्पादनको आधार तयार गर्नुपर्छ । यसका लागि युवाले उद्यमशीलता र सीपमार्फत अर्थतन्त्रलाई गतिशील बनाउने , निजी क्षेत्रले लगानी र रोजगारी सिर्जना गर्ने र नगरपालिकाले यी सबैलाई जोड्ने भूमिकाको नेतृत्व लिनुपर्छ ।
तानसेनको आर्थिक रूपान्तरणको मूल सूत्र
तानसेनलाई परम्परागत प्रशासनिक नगरपालिकाबाट आर्थिक रूपमा सक्रिय, लगानीमैत्री र समुन्नत नगरपालिकामा रूपान्तरण गर्न सक्छ भन्ने लक्ष्य पहिलो शुत्र हो । निजी क्षेत्रसँग साझेदारी गरी सानिसा मोडलमा आयोजना निर्माण तथा सञ्चालन गर्ने दृष्टिकोण सहितको सुधारात्मक व्यवस्था, साझेदारको लगानीसँग निश्चित अनुपातमा सहलगानी गर्ने प्रष्टता, संघ, प्रदेश तथा विकास साझेदारबाट अनुदान जुटाउन सक्रियता, निजी कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत लगानी आकर्षित गर्ने रणनीति, उपभोक्ता समूह, सहकारी र समुदायको लगानी आकर्षित गर्ने परियोजना तयारी, बैंक, वित्तीय संस्था र गैरसरकारी संस्थासँग सहकार्यको निरन्तर पहलको जरुरी रहन्छ । एसियाली विकास बैंकले पनि स्थानीय तहको राजस्व क्षमता बढाउन सम्भावित राजस्व स्रोतको मूल्याङ्कन, उपयुक्त कर नीति र प्रविधिमा आधारित कर प्रशासनलाई महत्वपूर्ण मानेको छ । तानसेन पर्यटन नीतिले लिएको हरेक वर्ष पर्यटक संख्या र लगानीमा दोब्बर बढोत्तरी एवं कम्तीमा प्रत्येक पाँच वर्षमा पर्यटन लगानी सम्मेलन आयोजना गर्ने लक्ष्यले समेत यही अवधारणालाइ अगाडि सारेको छ ।
लगानी परिचालन गर्न सक्ने क्षेत्र
नगरपालिकाद्धारा आफ्नो नियमित बजेट बनाउने र खर्च गर्ने सिद्धान्तमा मात्र केन्द्रित रहन गयो भने त्यहाँ नयाँ विकासका सम्भावना देख्न सकिदैन । यदी आफ्ना सबै वडाहरुको सम्भावना र सम्भावित लगानी आकर्षणका परियोजना तयार पारी आफ्ना निती तथा कार्यक्रममा सम्भावित कार्यक्रमको उदघोषणा सहित लगानी आमन्त्रणकालागि आफ्नो अधिकार क्षेत्र भित्रका ऐन कानून र कार्यविधि आवश्यकता अनुरुप निर्माण, संंसोधन, सुधार गर्ने, प्रदेश र संघका लागि समन्वय गरी सहजीकरण गर्ने गरी आमन्त्रण गर्न सक्छ । लगानी आकर्षणका लागि निजी क्षेत्रसँग सहकार्यगरी पर्यटन सम्वद्ध पूर्वाधार परियोजनामा सार्वजनिक निजी साझेदारी र सार्वजनिक निजी सामुदायिक साझेदारी मोडल, खेलकुद पूर्वाधारका लागि सम्वद्ध खेल संस्था र निजी क्षेत्र, कृषि प्रशोधनका लागि सहकारी, बैंक र निजी क्षेत्र, पुरानो बजार पुनर्जीवन कार्यक्रममा घरधनी, व्यवसायी र निजी लगानी, ग्रामीण पर्यटन तथा होमस्टेमा स्थानीय समुदाय र निजी क्षेत्र, अस्पताल तथा स्वास्थ्य सेवामा निजी स्वास्थ्य संस्था र नीजि क्षेत्र,फोहोर व्यवस्थापनमा सानिसा तथा वातावरणीय विकास साझेदार संस्थाहरु, सीप तथा उद्यमशीलता विकासका लागि बैंक, गैसस र विकास साझेदारहरु आमन्त्रण गर्न सक्नुपर्छ । आफ्ना साना ठूला कार्यक्रमहरुमा यी सम्भावनाहरु लाई आमन्त्रण गरेको सन्देश प्रवाह हुनु पर्दछ , जसबाट सम्वद्ध क्षेत्रहरुको ध्यानाकर्षण गरेको हुनु पर्दछ ।
यस्तो आमन्त्रणबाट नगरपालिकाले गर्नसक्ने सहयोगका सन्दर्भमा स्पष्ट सन्देश दिन सक्छ । स्थानीय सरकारले जग्गा वा सार्वजनिक सम्पत्तिको कानुनसम्मत उपयोगको व्यवस्था मिलाउने, सडक, खानेपानी, विद्युत् जस्ता आधारभूत पूर्वाधार उपलब्ध गराउने, सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सहजीकरण गर्ने, लगानीकर्तालाई आवश्यक अनुमति तथा स्वीकृतिमा सहजीकरण गर्ने, कानुनले अनुमति दिएको अवस्थामा अनुदान वा सहलगानी उपलब्ध गराउने, लगानी जोखिम र प्रतिफलको स्पष्ट व्यवस्था गर्ने कार्यमा मद्धत गरेमा लगानी आकर्षण हुन सक्छ । तर सार्वजनिक रकम खर्च हुने, भविष्यमा नगरपालिकामाथि दायित्व पर्ने वा प्रत्याभूति दिनुपर्ने अवस्थामा सम्बन्धित बजेट, कानुन र स्वीकृति प्रक्रिया अनिवार्य हुने व्यवस्था गर्दा विश्वाशिलो वातावरण बन्न जान्छ ।
गैरबजेटरी लगानीका लागि विशेष प्रस्ताव
तानसेन नगरपालिकाले गैर बजेटरी लगानी परिचालन कार्यविधि बनाउन जरुरी देखिन्छ । यस कार्यविधिले नगरका १४ वटै वडाका लगानीयोग्य आयोजना पहिचान गर्ने छ र कम्तीमा दुई दर्जन सम्भावित आयोजना समेटेर परियोजना बैंक बनाउने छ । यस्ता परियोजनामा निजी क्षेत्र, बैंक, सहकारी,समुदाय र प्रवासी तानसेनवासीलाई लगानीमा जोड्नेछ । कार्यविधिमा लगानी सहजीकरणका लागि छुट्टै संस्थागत संयन्त्र बनाउने लक्ष्य हुनेछ । प्रत्येक वर्ष वास्तविक र सहमती भएका लगानी परिचालनको प्रतिवेदन सार्वजनिक गर्नेछ । तानसेन नगरपालिकाको आफ्नो करिव एक अर्ब रुपैयाँको बजेटलाई मात्र विकासको सीमा मान्ने प्रवृति हटाउनु पर्दछ । त्यसलाई आधार बनाएर निजी तथा संस्थागत क्षेत्रबाट थप कम्तीमा दोव्वर लगानी परिचालन गर्ने लक्ष्य राख्नु पर्दछ । नगरपालिकाले सबै विकास आफैँ गर्ने होइन; विकासमा सहभागी हुन चाहने व्यक्ति, संस्था,समुदाय र लगानीकर्तालाई अवसर, वातावरण, पूर्वाधार र विश्वास उपलब्ध गराउने कार्य गर्नु पर्दछ , जुन विश्वासमा ठूलो लगानी गर्ने आँट बढेर जान्छ । यही अवधारणाबाट तानसेनले वार्षिक तीन अर्ब रुपैयाँ गैरबजेटरी लगानी परिचालन गर्ने लक्ष्यतर्फ अघि बढ्न सक्छ ।
निष्कर्ष :
यो बहस पत्रले अहिले तानसेन नगरपालिकाको आन्तरिक राजस्व वार्षिक करिब ७–८ करोड रुपैयाँ रहेको मान्ने हो भने यसलाई आगामी २–३ वर्षमा १५ करोड पुर्याउनु एउटा लक्ष्य लिनुपर्छ भन्ने मान्यता राख्दछ । त्यसैगरी नगरपालिकाको करिब १ अर्ब हाराहारीको वार्षिक बजेट बाहेक गैर बजेटरी लगानीको रुपमा निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, सहकारी, स्थानीय उद्यमी, प्रवासी पाल्पावासी र अन्य विकास साझेदारमार्फत वार्षिक ३ अर्ब रुपैयाँसम्म लगानी परिचालन गर्ने महत्वाकांक्षी लक्ष्य लिन सकिन्छ भन्ने सोंच विस्तारमा मद्धत गर्नेछ ।
तानसेनले आफ्नो ऐतिहासिकता, जिवन्त सांस्कृतिक प्राण, मध्यकालिन सहरी संरचना बोकेको पुरानो सहरलाइ ब्राण्डिगं गर्दै भारतीयहरुकालागि नजिककको शितल र रमणिय स्थल साथै मुक्तिनाथ जाने धार्मिक करिडोर कायम वा स्थापनाका पक्षमा दह्रो अभियान सञ्चालन गरी आकर्षक लगानी गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएर अभियान सञ्चालन गर्न सक्दाको अवस्थामा यो बहसको विषय झनै सान्दर्भिक बन्ने छ । तर यसका लागि नगरपालिकाले आफ्नो भूमिका परम्परागत सेवा प्रदायक र बजेट खर्च गर्ने संस्थाबाट परिवर्तन गरी स्थानीय अर्थतन्त्रको प्रवद्र्धक, लगानी सहजकर्ता र आर्थिक अवसर सिर्जना गर्ने संस्थाका रूपमा विकास गर्नुपर्छ । यसकालागि तत्काल नगरपालिकाको अर्थतन्त्रको आकारको सहि जानकारीका लागि आर्थिक सर्भेक्षण गर्न जरुरी देखिन्छ । नगरको आर्थिक सम्भाव्यता अध्ययन गर्ने, १४ वटै वडाको आर्थिक प्रोफाइल निर्माण गर्ने, लगानीयोग्य आयोजनाको एचयवभअत द्यबलप तयार गर्ने, लगानीकर्तालाई एकद्वार सेवा उपलब्ध गराउने, सानिसा परियोजनाको सम्भाव्यता तथा जोखिम अध्ययन,निजी क्षेत्रसँग नियमित संवाद,वार्षिक लगानी सम्मेलन आयोजना गर्ने,लगानीको वास्तविक प्रगति अनुगमन गर्ने कार्यमा तदारुकता जरुरी देखिन्छ ।
(लेखक तानसेन पर्यटन बोर्डका सदस्य र तानसेन सम्पदा संरक्षण समाजका अध्यक्ष हुन् ।)

