अन्तर्राष्ट्रिय सहनशीलता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १६ मा यो दिवस मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो । सन् १९९६ मा संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने मान्यता दिएको थियो । सोही अनुरुप यो मनाउने गरिन्छ । नकारात्मक भावना र सोच एक–अर्काप्रतिको वितृष्णालाई कम गर्न समुदायबीच सहनशीलता बढाउन यो दिवस महत्वपूर्ण हुने गर्दछ ।
फरक विचार राख्ने व्यक्तिलाई सम्मान गर्नु, अरूको आस्था र संस्कृतिलाई स्वीकार गर्नु तथा असहमति हुँदा पनि संयमित व्यवहार गर्नु नै वास्तविक सहनशीलता हो । समाजमा सबै मानिसको सोच, विचार र दृष्टिकोण एउटै हुँदैन । फरक विचार र मान्यताबीच पनि एकता कायम राख्न सक्नु नै सामाजिक परिपक्वताको परिचय हो । तर पछिल्लो समय समाजमा असहिष्णुता, घृणा, विभेद, पूर्वाग्रह र द्वन्द्वका घटनाहरू बढ्दै जानु चिन्ताको विषय बनेको छ । विशेषगरी सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विचार र अभिव्यक्तिका नाममा अरूको मानमर्दन गर्ने, अपमानजनक टिप्पणी गर्ने, जातीय तथा धार्मिक द्वेष फैलाउने र असहमतिलाई शत्रुताका रूपमा लिने प्रवृत्ति देखिन थालेको छ । सामान्य मतभिन्नताले पनि विवाद र द्वन्द्वको रूप लिने अवस्था सिर्जना हुनु समाजका लागि राम्रो संकेत होइन ।
लोकतान्त्रिक व्यवस्थामा विचारको स्वतन्त्रता जति महत्वपूर्ण हुन्छ, त्यति नै अरूको विचारलाई सम्मान गर्ने संस्कार पनि आवश्यक हुन्छ । फरक विचार राख्ने व्यक्तिलाई शत्रु ठान्ने होइन, संवाद र सहमतिका माध्यमबाट समस्याको समाधान खोज्ने संस्कार विकास गर्नुपर्छ । अन्तर्राष्ट्रिय सहनशीलता दिवस केवल औपचारिक कार्यक्रम र नारामा सीमित हुनु हुँदैन । यसले हाम्रो दैनिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ । अरूको विचार सुन्ने, असहमतिलाई सहजरूपमा स्वीकार गर्ने, कमजोर र सीमान्तकृत समुदायको सम्मान गर्ने तथा हिंसा र घृणाको सट्टा संवाद र समझदारीलाई प्राथमिकता दिने अभ्यास गर्नुपर्छ । सहनशीलता भनेको अन्याय, हिंसा वा विभेदलाई चुपचाप सहनु होइन, बरु त्यस्ता गलत प्रवृत्तिको विरोध गर्दा पनि मानवीय मर्यादा र लोकतान्त्रिक मूल्य कायम राख्नु हो । समाजमा शान्ति, स्थायित्व र समृद्धि कायम गर्न कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन, नागरिकमा सहनशीलता, सद्भाव र परस्पर सम्मानको भावना पनि उत्तिकै आवश्यक हुन्छ । यसर्थ आफ्नो जीवनमा सहनशीलताको कार्य गरौँ, अरूलाई बुझ्न खोजौँ,सबै विभेद र घृणालाई अस्वीकार गर्न सिकौँ र सभ्य समाज निर्माण गरौं ।

