Shittalpati
सांस्कृतिक सम्पत्तिको संरक्षण गरौं

पुराना मूर्तिकला, चित्रकला, हस्तकला, ऐतिहासिक स्थल र अन्य सांस्कृतिक सम्पत्तिको चोरी तथा अवैध तस्करी रोक्न चेतना फैलाउने उद्देश्यका साथ शनिबार विश्वका विभिन्न देशमा सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइएको छ ।  संयुक्त राष्ट्रसंघको आह्वानमा पाँच वर्षअघिदेखि यस दिनलाई अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को)ले नेपालजस्तो सांस्कृतिक धरोहरले समृद्ध देशका, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत स्थानका पुराना मन्दिर, मूर्तिकला र ऐतिहासिक भवनहरूको संरक्षणमा जोड दिएको छ । तर यिनीहरुको उचित संरक्षण हुन सकेको छैन । यो अत्यन्त दुखको कुरा हो ।

सांस्कृतिक सम्पत्ति कुनै पनि देशको इतिहास, पहिचान, सभ्यता र गौरवसँग जोडिएको अमूल्य धरोहर हो । मठमन्दिर, गुम्बा, चैत्य, मूर्ति, पुरातात्विक वस्तु, ऐतिहासिक दस्तावेज, चित्रकला तथा अन्य कलात्मक सामग्रीले विगतको सभ्यता र जीवनशैलीलाई वर्तमान पुस्तासम्म जोड्ने काम गर्छन् । यस्ता सम्पत्ति केवल भौतिक वस्तु मात्र होइनन्, राष्ट्रको इतिहास र सांस्कृतिक पहिचानका जीवन्त प्रमाण पनि हुन् । तर पछिल्लो समय सांस्कृतिक सम्पत्तिको चोरी, तस्करी र अवैध ओसारपसार विश्वकै गम्भीर समस्याका रूपमा देखिएको छ ।

नेपालका सन्दर्भमा यो विषय अझ संवेदनशील छ । यहाँका प्राचीन मूर्ति, पौवा चित्र, धातुका कलाकृति, शिलालेख, पुराना धार्मिक सामग्री तथा ऐतिहासिक वस्तु चोरी गरी विदेश पु¥याइएका उदाहरण छन् । काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिरबाट हराएका मूर्ति तथा कलाकृति यसको गम्भीर उदाहरण हुन् । केही सम्पत्ति विदेशबाट फिर्ता ल्याइए पनि अझै धेरै नेपाली सांस्कृतिक सम्पत्ति आफ्नो मौलिक स्थानबाट टाढा छन् । यसले हाम्रो सम्पदा संरक्षण प्रणालीमा रहेका कमजोरीलाई उजागर गर्छ ।  सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोक्न सबैभन्दा पहिले यसको संरक्षणप्रति राज्य गम्भीर हुन आवश्यक छ । पुरातात्विक तथा ऐतिहासिक महत्त्वका वस्तुको अभिलेखीकरण, नियमित अनुगमन, सुरक्षा व्यवस्था र हराएका सम्पत्तिको खोजीलाई प्राथमिकता दिनुपर्छ । सीमावर्ती नाका, विमानस्थल तथा भन्सारमा निगरानी प्रभावकारी बनाउनुपर्छ। पुराना मूर्ति, चित्रकला तथा अन्य कलात्मक वस्तुको खरिदबिक्री गर्दा तिनको स्रोत र स्वामित्वको वैधता जाँच्ने व्यवस्था पनि कडाइका साथ लागू हुनुपर्छ । स्थानीय समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।

मठमन्दिर, गुम्बा, ऐतिहासिक स्थल तथा पुरातात्विक सम्पदाको संरक्षण केवल सरकार वा सम्बन्धित निकायको जिम्मेवारी होइन । स्थानीय बासिन्दा, धार्मिक संस्था, युवा पुस्ता, सञ्चारमाध्यम र नागरिक समाज सबैले आफ्नो ठाउँको सम्पदाप्रति चासो राख्नुपर्छ । दिवस मनाउनु औपचारिकतामा मात्र सीमित हुनुहुँदैन । हाम्रा ऐतिहासिक सम्पदाको पहिचान, संरक्षण र संवद्र्धनमा व्यवहारमै प्रतिबद्ध हुन सके मात्र भावी पुस्तालाई समृद्ध सांस्कृतिक विरासत हस्तान्तरण गर्न सकिन्छ । तसर्थ सम्पदा हाम्रो इतिहास हो, पहिचान हो र भविष्यका पुस्ताप्रतिको हाम्रो साझा जिम्मेवारी पनि भएकाले संरक्षणतर्फ सबैले ध्यान दिन जरुरी छ  ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update