Shittalpati
शत्रु पनि जीवनको मार्गदर्शक बन्न सक्छ, सोच सकारात्मक हुनुपर्छ

 बिदुर घिमिरे 
मानिसको वास्तविक परिचय उसको बोलीले मात्र होइन, सोच, व्यवहार र अरूको सफलताप्रतिको दृष्टिकोणले निर्धारण गर्छ । मानिस मानिस नै हो, तर प्रत्येक मानिसभित्र अनेक रूप, स्वभाव र प्रवृत्ति लुकेका हुन्छन् । एउटै समाजमा बस्ने, एउटै वातावरणमा हुर्किने र एउटै बाटोबाट जीवनयात्रा सुरु गर्ने मानिसहरूको सोच, व्यवहार र जीवनप्रतिको दृष्टिकोण भने फरक–फरक हुन्छ । कोही आफ्नो उपलब्धिमा खुसी हुन्छन्, कोही परिवार, साथीभाइ, आफन्त र शुभचिन्तकको खुसीमा रमाउँछन् । तर केही यस्ता प्रवृत्तिका मानिस पनि हुन्छन्, जो आफ्ना नजिकका मानिसको प्रगति, उन्नति र सफलतामा समेत खुसी हुन सक्दैनन् । अरूको उपलब्धि उनीहरूका लागि प्रेरणाको स्रोत बन्नुको सट्टा ईष्र्या, जलन र असन्तुष्टिको कारण बन्न पुग्छ । वास्तवमा मानिसको सोच नै उसको जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो । सकारात्मक सोच भएको मानिसले अरूको सफलताबाट प्रेरणा लिन्छ, आफूलाई सुधार्ने प्रयास गर्छ र आफ्नो गन्तव्यतर्फ निरन्तर अघि बढ्छ । तर नकारात्मक सोचले ग्रसित मानिस अरूको बाटो हेरेरै आफ्नो अमूल्य समय खर्च गर्छ । कसरी आफू अगाडि बढ्ने भन्ने चिन्ता गर्नुभन्दा कसरी अरूलाई पछाडी पार्ने भन्ने ध्याउन्नमा समय बिताउँछ । परिणामतः अरूलाई रोक्ने प्रयासमा ऊ आफैँ आफ्नो यात्राबाट टाढिँदै जान्छ । जीवन एउटा लामो यात्रा हो । यस यात्रामा सबैको गति समान हुँदैन । कोही छिटो अघि बढ्छन् त कोही ढिलो । कसैले सहज बाटो पाउँछन् भने कसैले अनेक अवरोध र चुनौतीसँग जुध्नुपर्छ । तर एउटा कुरा निश्चित छ, निरन्तर एक पाइला भए पनि अघि बढ्ने मानिस कुनै न कुनै दिन आफ्नो गन्तव्यको नजिक अवश्य पुग्छ । गन्तव्यमा पुग्न नसके पनि सफलताको ढोकासम्म पुग्ने सम्भावना उसले जीवित राखेको हुन्छ । तर अरूको खुट्टा तान्नमै व्यस्त रहने मानिसले आफ्नै यात्राको दूरीसमेत तय गर्न सक्दैन ।

 सकारात्मक मानिसको सबैभन्दा सुन्दर विशेषता अरूलाई हात दिएर उठाउनु हो । कसैले यात्रा सुरु गर्न खोज्दा हौसला दिनु, लड्दा उठाउनु, कमजोर हुँदा साथ दिनु र सफल हुँदा मनैदेखि बधाई दिनु मानवीयताको सुन्दर पक्ष हो । सकारात्मक मानिसले अरूलाई अगाडि बढाउन खोज्दा आफू पनि अगाडि बढिरहेको हुन्छ । उसले अरूको हात समातेर तान्छ भने नकारात्मक प्रवृत्तिको मानिस खुट्टा तान्न र छिर्के हान्न खोज्छ । एउटा मानिस निर्माणमा विश्वास गर्छ भने अर्को भत्काउनमा । यही दुई प्रवृत्तिबीचको अन्तरले व्यक्तिको चरित्र र भविष्य निर्धारण गर्छ । अर्काको प्रगतिमा जल्ने मानिसले बुझ्नुपर्ने कुरा के हो भने अरूको सफलताले आफ्नो सम्भावना समाप्त गर्दैन । कसैले राम्रो काम गर्दैमा हाम्रो अवसर घट्दैन, कसैले सम्मान पाउँदैमा हाम्रो प्रतिष्ठा हराउँदैन र कसैले उन्नति गर्दैमा हाम्रो बाटो बन्द हुँदैन । संसारमा अवसरको कमीभन्दा सोचको दरिद्रता ठूलो समस्या हो । अरूको उपलब्धिलाई सहज रूपमा स्वीकार गर्न नसक्ने मानिसले आफ्नो क्षमता पहिचान गर्ने अवसरसमेत गुमाइरहेको हुन्छ । डाह र ईष्र्याले अरूलाई भन्दा पहिले आफ्नै मनलाई अशान्त बनाउँछ । दिनमा असन्तुष्टि र रातमा छटपटी बोकेर बाँच्नुपर्ने अवस्था सिर्जना गर्छ ।

यद्यपि जीवनमा विरोधी, आलोचक र प्रतिस्पर्धी हुनु सधैँ नराम्रो पक्ष मात्र होइन । कतिपय अवस्थामा विरोधले मानिसलाई सचेत बनाउँछ, आलोचनाले कमजोरी देखाउँछ र प्रतिस्पर्धाले क्षमता निखार्ने अवसर दिन्छ ।  हामीलाई मन नपराउने वा हाम्रो बाटोमा अवरोध सिर्जना गर्ने मानिसको व्यवहारले पनि जीवनमा केही महत्वपूर्ण पाठ सिकाउन सक्छ । कसको अगाडि के बोल्ने, कहाँ कसरी प्रस्तुत हुने, कुन निर्णय गर्नुअघि कति सोच्ने र कुन बाटो रोज्ने भन्ने विषयमा मानिसलाई थप सचेत बनाउँछ । यस अर्थमा विरोधीलाई आफ्नो जीवनको मार्गदर्शकका रूपमा पनि लिन सकिन्छ । तर यसको अर्थ गलत काम, अपमान, अन्याय वा षड्यन्त्रलाई स्वीकार गर्नुपर्छ भन्ने होइन । बरु त्यस्ता परिस्थितिबाट पाठ सिकेर अझ संयमित, अनुशासित, विवेकी र कर्मशील बन्नुपर्छ भन्ने हो । विरोधीको व्यवहारले हामीलाई आफ्नो कमजोरी सुधार्ने अवसर दिन सक्छ । आलोचनाले आत्ममूल्याङ्कन गर्न सिकाउँछ भने चुनौतीले आफ्नै सामथ्र्य परीक्षण गर्ने अवसर प्रदान गर्छ । धेरै माया, समर्थन र प्रशंसाले कहिलेकाहीँ मानिसलाई आत्मरतिमा डुबाउन सक्छ । आफूले गरेका सबै काम ठीक छन् भन्ने भ्रम पैदा हुन सक्छ र आलोचना सुन्ने धैर्यसमेत हराउन सक्छ । त्यसैले प्रशंसकको भीडमा मात्र रमाउनु पर्याप्त हुँदैन । आफ्नो कमजोरी देखाइदिने आलोचक र चुनौती दिने प्रतिस्पर्धी पनि आवश्यक हुन्छन् । तर आलोचनालाई व्यक्तिगत दुश्मनी र प्रशंसालाई अन्धसमर्थन ठान्ने प्रवृत्तिबाट भने हामी मुक्त हुनुपर्छ ।मानिसले जीवनमा सबैलाई खुसी पार्न सक्दैन । राम्रो काम गर्दा पनि आलोचना हुन्छ, अगाडि बढ्दा पनि खुट्टा तान्नेहरू भेटिन्छन् र सफल हुँदा पनि ईष्र्या गर्नेहरू निस्कन्छन् । यस्तो अवस्थामा सबैलाई जवाफ दिँदै हिँड्नुभन्दा आफ्नो कर्मबाट जवाफ दिनु बुद्धिमानी हुन्छ । अपमानको जवाफ अपमानले होइन, आफ्नो व्यवहार र उपलब्धिले दिन सक्नुपर्छ । विरोधको जवाफ प्रतिशोधले होइन, अनुशासन र निरन्तरताले दिनुपर्छ । हामीले आफ्नो जीवनमा एउटा महत्वपूर्ण मान्यता स्थापित गर्न आवश्यक छ –अरूलाई पछाडी पारेर होइन, आफूलाई अगाडि बढाएर सफल बन्ने । अरूको खुट्टा तान्ने हातभन्दा कसैलाई उठाउने हात बलियो हुन्छ । अरूको असफलतामा रमाउने मनभन्दा अरूको सफलतामा खुसी हुने मन विशाल हुन्छ । जीवनको वास्तविक उचाइ पद, प्रतिष्ठा र सम्पत्तिले मात्र मापन हुँदैन; अरूको सफलतामा कति खुसी हुन सकिन्छ र कठिन परिस्थितिमा कति संयमित रहन सकिन्छ भन्ने कुराले पनि व्यक्तिको उचाइ निर्धारण गर्छ ।

अन्ततः शत्रु, आलोचक र प्रतिस्पर्धीलाई आफ्नो कमजोरी बनाउने कि शक्तिमा बदल्ने भन्ने कुरा हाम्रै सोचमा निर्भर हुन्छ । कसैको कुभलो चाहेर आफ्नो समय र ऊर्जा नष्ट गर्नुभन्दा आफ्नै बाटो बलियो बनाउनु बुद्धिमानी हो । विरोधीलाई बलियो देखेर आफू कमजोर हुने होइन, अझ सचेत, सक्षम र परिपक्व बन्ने हो । जीवनमा सफल हुन नसके पनि असल बन्ने बाटो कहिल्यै बन्द हुँदैन । त्यसैले अरूको प्रगतिमा जल्ने होइन, प्रेरणा लिने संस्कार विकास गरौँ । खुट्टा तान्ने होइन, हात समातेर उठाउने प्रवृत्ति निर्माण गरौं । अरूलाई हराउने प्रतिस्पर्धाभन्दा आफूलाई सुधार्ने प्रतिस्पर्धा गरौँ । किनकि सकारात्मक सोचले मानिसलाई गन्तव्यसम्म पु¥याउँछ भने नकारात्मक सोचले उसलाई आफ्नै असन्तुष्टिको घेराभित्र कैद गरिरहन्छ । जीवनको सबैभन्दा ठूलो विजय अरूलाई हराउनु होइन, आफ्नै नकारात्मक सोच, ईष्र्या र कमजोरीलाई जित्नु हो । अन्त्यमा, नेपालीहरूको महान् चाड विजयादशमी, दीपावली तथा छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्त, मित्रजन तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यी पर्वहरूले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम राख्न प्रेरणा प्रदान गरून् । आगामी दिनमा सबैको सोच सकारात्मक बनोस्, विचार उदार बनोस्, व्यवहार शिष्ट बनोस् र जीवनयात्रा सधैँ सकारात्मक मार्गतर्फ अघि बढोस् ।  अरूको प्रगतिमा खुसी हुने, दुःखमा साथ दिने र एकअर्काको हात समातेर अघि बढाउने संस्कारको विकास होस् । सबैको जीवनमा सफलता, सद्भाव र खुसी छाओस् । सकारात्मक सोच, सकारात्मक कर्म र सकारात्मक यात्राका लागि सबैमा हार्दिक शुभकामना ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update