Shittalpati
धनतेरस पर्वको सन्देश

धनतेरस हिन्दु संस्कृतिको अत्यन्त महत्वपूर्ण पर्व हो, जसले तिहार वा दीपावलीको औपचारिक सुरूवात गर्दछ । ‘धन’ अर्थात् सम्पत्ति र ‘तेरस’ अर्थात् त्रयोदशी तिथि यी दुई शब्दको संयोजनले बनेको ‘धनतेरस’ केवल धनसम्पत्तिको पूजा मात्र होइन, आरोग्य, समृद्धि र आन्तरिक प्रकाशको प्रतीक हो । यस दिनको महत्व भौतिक, धार्मिक र दार्शनिक सबै दृष्टिले अत्यन्त गहिरो छ । हिन्दु परम्परामा दीपावलीको समय केवल उज्यालो बाल्ने र नयाँ वस्तु किन्ने मात्र होइन, जीवनमा नकारात्मकता हटाएर आत्मशुद्धि र सन्तुलनको सुरूवात गर्ने पर्व हो । धनतेरस त्यस पर्व यात्राको पहिलो दिन हो जहाँ शरीर, मन र आत्माको सन्तुलनलाई धन, स्वास्थ्य र विवेकको रुपमा पूजा गरिन्छ ।

यस पर्वले मानिसलाई आफ्नो जीवन, परिवार र समाजप्रति जिम्मेवार बन्नसमेत प्रेरित गर्दछ । धनतेरसका दिन भगवान् धन्वन्तरी, माता लक्ष्मी र कुबेरको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । यस दिन सुन, चाँदी, तामा, पित्तललगायत धातुका भाँडाकुँडा तथा अन्य सामग्री खरिद गर्नु शुभ मानिन्छ । धार्मिक विश्वासअनुसार यस दिन नयाँ वस्तु घरमा भित्र्याउँदा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ । तर धनतेरसको वास्तविक महत्व केवल धनसम्पत्ति खरिद गर्नुमा मात्र सीमित छैन । यसको मूल सन्देश स्वास्थ्य, परिश्रम, सद्भाव र सन्तुष्टिपूर्ण जीवनसँग पनि जोडिएको छ । पछिल्लो समय धनतेरसलाई उपभोग र किनमेलको पर्वका रूपमा बढी प्रचार गर्न थालिएको छ । बजारमा सुनचाँदी, गरगहना, विद्युतीय सामग्री तथा विभिन्न विलासी वस्तु खरिद गर्ने प्रतिस्पर्धा देखिन्छ । व्यापारीहरूका लागि यो व्यापार विस्तार गर्ने अवसर बनेको छ भने उपभोक्ताहरूमा पनि नयाँ वस्तु खरिद गर्ने आकर्षण बढेको छ । तर चाडपर्वको नाममा अनावश्यक खर्च गर्ने, ऋण लिएर देखावटी प्रतिस्पर्धा गर्ने र आर्थिक क्षमताभन्दा बाहिर गएर किनमेल गर्ने प्रवृत्ति उचित होइन ।

पर्व मनाउने नाममा आर्थिक बोझ थप्नुको सट्टा आफ्नो गच्छेअनुसार खुसी साटासाट गर्नु बुद्धिमानी हुन्छ । धनतेरसको अर्को महत्वपूर्ण पक्ष स्वास्थ्य हो । भगवान् धन्वन्तरीलाई आयुर्वेद र स्वास्थ्यका देवताका रूपमा पूजा गरिन्छ । यसले धनभन्दा स्वास्थ्य ठूलो सम्पत्ति हो भन्ने सन्देश दिन्छ । मानिससँग प्रशस्त धनसम्पत्ति भएर पनि स्वस्थ जीवन छैन भने त्यसको वास्तविक अर्थ रहँदैन । त्यसैले धनतेरसले भौतिक समृद्धिसँगै शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने सन्देश दिन्छ । हाम्रो समाजमा चाडपर्वहरूले पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएका छन् । धनतेरसलाई पनि धार्मिक आस्थासँगै सामाजिक एकता, स्वदेशी उत्पादनको प्रवद्र्धन, स्थानीय व्यापारको संरक्षण र आपसी सहयोगको अवसरका रूपमा विकास गर्न आवश्यक छ । चाडपर्वमा हुने अनावश्यक तडकभडक, फजुल खर्च र अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्दै यसको मौलिकता जोगाउनु आजको आवश्यकता हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update