Shittalpati
तिहारमा स्वदेशी फूलका माला प्रयोग गरौँ

हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा बजारमा फूलमालाको चहलपहल बढ्न थालेको छ । विशेषगरी दिदीबहिनीले दाजुभाइलाई भाइटीकाका दिन लगाइदिने माला तिहारको सांस्कृतिक र भावनात्मक पहिचानसँग जोडिएको हुन्छ । सयपत्री, मखमली र गोदावरीलगायत फूलका मालाले तिहारको रौनक थप्छन् । तर पछिल्लो समय तिहारमा प्रयोग हुने फूलमालामा विदेशी फूल तथा आयातित सामग्रीको निर्भरता बढ्दै जानु चिन्ताको विषय बनेको छ । यस्तो अवस्थामा तिहारमा

स्थानीय फूलका माला प्रयोग गर्ने संस्कृतिलाई प्रोत्साहन गर्नु आवश्यक छ ।
सरकारले स्वदेशी फूललाई प्रोत्साहन दिए पनि अनौपचारिक तवरबाट बाहिरबाट फूल आइरहेको छ । नेपालीको घरआँगनमा फुलेका फूलको प्रतिस्थापन गर्न सक्ने गरी आयातित प्लास्टिकका माला र महँगा विदेशी कृत्रिम फूलहरूको प्रचलन बढ्दो छ । बजार र घर–घरमा देखिने आयातित कृत्रिम फूलले तिहारको मौलिक पहिचानलाई चुनौती दिइरहेको छ । यो चिन्ताको विषय हो । अब स्वदेशी फूलका मालाको प्रयोग गर्ने कुरामा सबैले ध्यान दिन आवश्यक छ । नेपालका विभिन्न भू–भागमा सयपत्री, मखमली, गोदावरीलगायत फूलको व्यावसायिक तथा घरेलु खेती हुँदै आएको छ । गाउँघरका करेसाबारी, खेतबारी र स्थानीय नर्सरीमा उत्पादन भएका फूलले तिहारको माग धान्न सक्ने सम्भावना पनि उत्तिकै छ । स्थानीय फूल प्रयोग गर्दा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछन् भने फूल खेतीप्रति उनीहरूको आकर्षण पनि बढ्छ । यसले स्थानीय उत्पादन र रोजगारीलाई प्रोत्साहन गर्नुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन मद्दत पुर्‍याउँछ । तिहारमा स्थानीय फूलका माला प्रयोग गर्नु आर्थिक दृष्टिले मात्र होइन, वातावरणीय र सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ ।

हाम्रा चाडपर्व केवल रमाइलो र उत्सव मनाउने अवसर मात्र होइनन्, स्थानीय उत्पादन, संस्कृति र आत्मनिर्भरतालाई प्रवद्र्धन गर्ने माध्यम पनि हुन् । तसर्थ यस वर्षको तिहारमा सकेसम्म स्थानीय फूलका माला प्रयोग गर्ने संकल्प गरौँ ।  आफ्नै गाउँठाउँमा फुलेका सयपत्री र मखमलीका मालाले आफन्तको सम्बन्ध मात्र होइन, किसानको मेहनत र स्थानीय अर्थतन्त्रलाई पनि सम्मान गरौँ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update