महँगी आज नेपाली समाजको एउटा गम्भीर आर्थिक तथा सामाजिक चुनौती बनेको छ । दिनप्रतिदिन बढ्दै गएको वस्तु तथा सेवाको मूल्यले आमनागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । विशेषगरी न्यून आय भएका, मजदुर, किसान, विद्यार्थी तथा दैनिक ज्यालादारीमा निर्भर परिवारहरू महँगीको प्रत्यक्ष मारमा परेका छन् ।
आम्दानी सीमित छ, तर दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको छ । यस्तो अवस्थामा सामान्य नागरिकलाई आफ्नो परिवारको आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिन हुँदै गएको छ । खाद्यान्न, तरकारी, तेल, दाल, चामल, लत्ताकपडा, औषधि, शिक्षा, स्वास्थ्य तथा यातायातजस्ता अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले नागरिकको जीवनस्तरमा नकारात्मक प्रभाव पारेको छ । बजारमा मूल्यवृद्धि हुनुका पछाडी उत्पादन लागत बढ्नु, इन्धनको मूल्यमा वृद्धि हुनु, आयातमा निर्भरता, बजारमा बिचौलियाको प्रभाव, कृत्रिम अभाव सिर्जना हुनु तथा प्रभावकारी बजार अनुगमनको अभावजस्ता कारणहरू रहेका छन् । महँगी बढ्दै जाँदा नागरिकको क्रयशक्ति घट्दै गएको छ । पहिले सामान्य आम्दानीबाट परिवारको खर्च धान्न सकिने अवस्था थियो भने अहिले त्यही आम्दानीले महिनाभरि घरखर्च चलाउन मुस्किल भइरहेको छ। यसले गरिबी, बेरोजगारी, आर्थिक असमानता र सामाजिक समस्यालाई समेत बढावा दिइरहेको छ । अझ चिन्ताको विषय त के छ भने महँगीको तुलनामा श्रमिकको ज्याला र सर्वसाधारणको आम्दानी वृद्धि हुन सकेको छैन। महँगी नियन्त्रण गर्नु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ। कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउनुपर्छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै कृषि तथा औद्योगिक क्षेत्रमा लगानी बढाउनुपर्छ । आयातमा निर्भरता घटाई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ राज्यले विशेष ध्यान दिन आवश्यक छ ।
साथै, मूल्यवृद्धि नियन्त्रणका लागि स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र नियमित अनुगमन अपरिहार्य छ।नागरिकहरू पनि सचेत र जिम्मेवार बन्न आवश्यक छ । अनावश्यक खर्च कटौती गर्ने, स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिने र उपभोक्ता अधिकारप्रति सचेत रहने बानीको विकास गर्नुपर्छ । तर महँगी नियन्त्रणको सम्पूर्ण जिम्मेवारी नागरिकमाथि थोपर्न मिल्दैन । यसमा सरकार, निजी क्षेत्र र उपभोक्ता सबैको साझा भूमिका रहनुपर्छ । अन्त्यमा, बढ्दो महँगी केवल आर्थिक समस्या मात्र नभई आम नागरिकको जीवन, सामाजिक न्याय र समृद्धिसँग जोडिएको विषय हो । जनताको जीवनस्तर सुधार्ने र आर्थिक स्थायित्व कायम गर्ने हो भने महँगी नियन्त्रणलाई सरकारले प्राथमिकतामा राख्नैपर्छ।

