नवराज बस्याल
पहाडी सहर पाल्पाको तानसेन आफैँमा एउटा जीवन्त ऐतिहासिक दस्तावेज र खुला संग्राहालय हो । यहाँका साँघुरा गल्ली, पुराना नेवारी शैलीका घर, झ्यालढोकामा कुँदिएका कलात्मक बुट्टा, ढुङ्गा छापिएका प्राचीन बाटा र ऐतिहासिक प्रशासनिक संरचनाहरूले विगतका गौरवशाली इतिहास र वीरताका गाथा निरन्तर सुनाइरहेका छन् । सांस्कृतिक, प्राकृतिक र पुरातात्त्विक सम्पदाले समृद्ध यस ऐतिहासिक सहरको गर्भमा नेपालको सैन्य इतिहास र सामरिक रणनीतिसँग जोडिएको एउटा महत्वपूर्ण अध्याय लुकेको रहेछ भन्ने तथ्य केही समयअघि मात्र थप उजागर भयो । विसं २०७९ पुस महिनामा तानसेन नगरपालिका–४, प्राचीन सिल्खानटोल क्षेत्रमा भवन निर्माणका लागि जमिन खन्ने क्रममा एकैपटक तीन सयभन्दा बढी पुराना फलामे तोपका गोला फेला परे ।
अप्रत्याशित रूपमा जमिनमुनिबाट निस्किएका ती ऐतिहासिक वस्तुले इतिहासप्रेमी, पुरातत्वविद्, सैन्य अनुसन्धानकर्ता तथा स्थानीय बासिन्दालाई आश्चर्यचकित बनायो । सुरुमा निर्माण कार्यमा संलग्न कामदारहरूले जमिनमुनि भेटिएका कडा फलामका गोलाकार वस्तुको वास्तविक महत्व बुझ्न सकेनन् । तर माटो हटाउँदै जाँदा दर्जनौँ हुँदै सयौँको संख्यामा ती वस्तु बाहिरिन थालेपछि तानसेनको माटोले शताब्दीयौँदेखि आफ्नो गर्भमा लुकाएर राखेको इतिहासको एउटा महत्वपूर्ण पाना अचानक खोलिदिएको अनुभूति भयो । यो खोज सामान्य संयोग मात्र थिएन । यसले नेपालको एकीकरणकालीन तथा त्यसपछिको सैन्य इतिहास, तत्कालीन सैनिक संरचना र तानसेनको सामरिक महत्वबारे थप अध्ययन गर्ने महत्वपूर्ण आधार प्रदान गरेको छ । यही ऐतिहासिक पृष्ठभूमि र सामरिक परिवेशलाई केन्द्रमा राखेर मैले आफ्नै प्रत्यक्ष अवलोकन र अनुभूतिका आधारमा संस्मरणात्मक तथा अनुसन्धानमूलक लेखमार्फत यस ओझेलमा परेको ऐतिहासिक सम्पदालाई जनसमक्ष ल्याउने प्रयास गरेको छु । मेरा लागि गोलाखाना केवल एउटा भौगोलिक नाम वा जमिनको सामान्य टुक्रा होइन । यो तानसेनको तत्कालीन सैन्य सामथ्र्य, पश्चिमी नेपालको सुरक्षा व्यवस्था र नेपालको केन्द्रीय सामरिक सोचसँग जोडिएको गौरवशाली इतिहासको एउटा महत्वपूर्ण साक्षी हो । सिल्खानटोल तथा गोलाखाना क्षेत्रमा देखिएका पुराना संरचना र जमिनमुनिबाट प्राप्त तोपका गोलाहरूले तत्कालीन नेपाली समाजको युद्ध तयारी, स्थानीय स्रोतसाधनको उपयोग र राष्ट्रिय सुरक्षाप्रतिको संवेदनशीलतालाई बुझ्न महत्वपूर्ण आधार दिन्छन् । स्थानीय प्रशासन र नेपाली सेनाको रोहबरमा ती सामग्री सुरक्षित स्थानमा स्थानान्तरण गरिएपछि तिनको ऐतिहासिकता, निर्माणकाल र सामरिक प्रयोजनबारे थप वैज्ञानिक अध्ययन हुनुपर्ने आवश्यकता देखिएको छ । फेला परेका फलामका गोलाहरू आकारमा गोलाकार छन् । कतिपयमा साना प्वालसमेत देखिन्छन् । लामो समयसम्म ओसिलो जमिनमुनि रहँदा तिनमा खिया लागेको भए पनि मौलिक बनोट र स्वरूप अझै पहिचान गर्न सकिने अवस्थामा रहनु आफैँमा महत्वपूर्ण छ । यद्यपि ती प्वालको वास्तविक प्रयोजन, गोलाहरूको निर्माण प्रविधि, प्रयोगकाल र तिनको प्रकृतिबारे निष्कर्ष निकाल्न प्राविधिक तथा पुरातात्तित्वक परीक्षण आवश्यक छ । यस्ता अध्ययनले तत्कालीन नेपालको धातु उद्योग, हातहतियार निर्माण र सैन्य प्रविधिको विकासक्रम बुझ्न सहयोग पु¥याउन सक्छन् । अझ रोचक पक्ष के छ भने सिल्खानटोल र गोलाखाना जस्ता नामहरू आफैँमा तत्कालीन सैनिक गतिविधिसँग सम्बन्धित ऐतिहासिक स्मृति बोकेका देखिन्छन् । यी नाम, स्थानीय जनश्रुति, पुराना अभिलेख र प्राप्त भौतिक प्रमाणलाई एकीकृत रूपमा अध्ययन गर्न सके यस क्षेत्रको वास्तविक ऐतिहासिक पहिचान अझ स्पष्ट हुन सक्छ ।
नेपालको एकीकरण अभियानदेखि नेपाल–अंग्रेज युद्धसम्म पाल्पा गौडा र तानसेनको प्रशासनिक तथा सामरिक भूमिका महत्वपूर्ण रहेको थियो । काठमाडौँ उपत्यका बाहिरको एउटा शक्तिशाली प्रशासनिक केन्द्रका रूपमा विकसित तानसेनले पश्चिमी क्षेत्रको प्रशासन, सुरक्षा र सैन्य परिचालनमा उल्लेखनीय भूमिका निर्वाह गरेको ऐतिहासिक पृष्ठभूमि छ । यस्तो अवस्थामा तानसेनमा भेटिएका सयौँ तोपका गोलाहरूले यहाँको सैन्य इतिहासबारे थप खोज तथा अनुसन्धान गर्नुपर्ने आवश्यकतालाई अझ बलियो बनाएका छन् । तर यति महत्वपूर्ण ऐतिहासिक सामग्री प्राप्त हुँदासमेत तिनको वैज्ञानिक अध्ययन, वर्गीकरण, रासायनिक उपचार र दीर्घकालीन संरक्षणमा अपेक्षित सक्रियता देखिन नसक्नु चिन्ताको विषय हो । उचित भण्डारण र संरक्षणको अभावमा खिया तथा वातावरणीय प्रभावका कारण यी सामग्री क्रमशः नष्ट हुन सक्छन् । राष्ट्रको इतिहाससँग प्रत्यक्ष जोडिएका यस्ता दुर्लभ प्रमाण हराउनु भनेको एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य ऐतिहासिक सम्पदा गुमाउनु हो । मेरो मुख्य चिन्ता पनि यही हो । आज हामीले संरक्षण गर्न नसके भोलिका पुस्ताले यी ऐतिहासिक प्रमाणलाई प्रत्यक्ष देख्ने र बुझ्ने अवसर गुमाउनेछन् । हाम्रा वीर पुर्खाको साहस, मेहनत, युद्धकौशल र राष्ट्ररक्षाका योगदानलाई केवल पुस्तकका पानामा सीमित हुन दिनु हुँदैन । यसैले तानसेनको ऐतिहासिक गोलाखाना क्षेत्रमा एउटा व्यवस्थित र आधुनिक सैनिक संग्रहालय निर्माण गर्नु आजको आवश्यकता हो । विशेषगरी सिल्खानटोलको पुरानो पाल्पाली वास्तुशैली र ऐतिहासिक स्वरूपलाई संरक्षण गर्दै परम्परागत ढुङग्रे भवन निर्माण गर्न सकिएमा यसले संग्रहालयलाई थप मौलिक र ऐतिहासिक बनाउनेछ । स्थानीय इतिहासअनुसार यस क्षेत्रमा रहेको पुरानो ढुङग्रे भवन शाही सेनाले भत्काएर आवासीय प्रयोजनका लागि प्रयोग गरेको प्रसंग समेत सुनिन्छ । यससम्बन्धी अभिलेखीय अध्ययन गरी सम्भव भएसम्म पुरानो संरचनाको स्वरूप पुनर्जीवित गर्न सकिएमा त्यो ऐतिहासिक न्यायसमेत हुनेछ । प्रस्तावित संग्रहालयमा फेला परेका तोपका गोलाहरूलाई वैज्ञानिक परीक्षण र संरक्षणपछि व्यवस्थित प्रदर्शनी कक्षमा राख्न सकिन्छ । तिनको निर्माणकाल, तौल, बनोट, सम्भावित प्रयोग, तत्कालीन सैन्य प्रविधि र तानसेनको सामरिक भूमिकाबारे जानकारीमूलक सामग्री, तस्बिर, नक्सा तथा डिजिटल प्रविधिमार्फत प्रस्तुत गर्न सकिन्छ । यसले विद्यार्थी, इतिहासका अध्येता, अनुसन्धानकर्ता र स्वदेशी तथा विदेशी पर्यटकलाई नेपालको सैन्य इतिहास प्रत्यक्ष बुझ्ने दुर्लभ अवसर प्रदान गर्नेछ । तानसेनको ऐतिहासिक पहिचान, त्रिभुवन बहुमुखी क्याम्पसजस्तो पुरानो शैक्षिक संस्थाको उपस्थिति र गोलाखाना क्षेत्रको विशिष्ट सैन्य इतिहासलाई एउटै शैक्षिक तथा पर्यटकीय अवधारणामा जोड्न सके यसले नयाँ सम्भावनाको ढोका खोल्नेछ । इतिहास, पुरातत्व, सैन्य अध्ययन र पर्यटनलाई एकै ठाउँमा समेट्ने यस्तो संग्र्रहालय लुम्बिनी प्रदेशकै विशिष्ट आकर्षण बन्न सक्छ ।यसको सकारात्मक प्रभाव स्थानीय अर्थतन्त्रमा समेत पर्नेछ । पर्यटकको आगमन बढेसँगै होटल, रेस्टुरेन्ट, होमस्टे, स्थानीय यातायात, पर्यटक पथप्रदर्शक तथा पाल्पाली ढाका र करुवाजस्ता हस्तकलाका उत्पादनको बजार विस्तार हुन सक्छ । यसरी ऐतिहासिक सम्पदाको संरक्षण केवल विगत जोगाउने काममा सीमित रहने छैन, बरु स्थानीय रोजगारी, आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धनको बलियो आधारसमेत बन्नेछ । यो परिकल्पना साकार पार्न तानसेन नगरपालिका, नेपाल सरकारका पुरातात्तित्वक निकाय, नेपाली सेना, स्थानीय नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक छ । सर्वप्रथम प्राप्त सामग्रीको वैज्ञानिक सूचीकरण, परीक्षण, संरक्षण र ऐतिहासिक प्रमाणीकरण गरिनुपर्छ । त्यसपछि आवश्यक बजेट, प्राविधिक सहयोग र स्पष्ट कार्ययोजनासहित दीर्घकालीन गुरुयोजना तयार गर्नुपर्छ । गोलाखाना क्षेत्रलाई राष्ट्रिय महत्वको सैन्य तथा पुरातात्तित्वक सम्पदाका रूपमा पहिचान दिलाउन नीतिगत पहलसमेत अघि बढाउनुपर्छ ।यस अभियानमा स्थानीय नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । आफ्नो सहरको इतिहासप्रति चेतना जगाउने, पुराना सम्पदाको खोजी तथा संरक्षण गर्ने र यस क्षेत्रको महत्व देश विदेशसम्म पु¥याउने जिम्मेवारी समुदायले पनि लिनुपर्छ । ऐतिहासिक सम्पदा राज्यको मात्र होइन, समग्र समाजको साझा सम्पत्ति हो भन्ने भावना स्थापित हुनु आवश्यक छ ।
अन्ततः मेरो परिकल्पना एउटा यस्तो तानसेनको हो, जहाँ पुग्ने प्रत्येक पर्यटकले गोलाखाना सैनिक संग्रहालयको ढोकाभित्र प्रवेश गर्दा केवल पुराना फलामका गोलाहरू नदेखोस्, बरु ती गोलाहरूको माध्यमबाट नेपालको इतिहास, तत्कालीन सैन्य चेतना, पुर्खाहरूको साहस र राष्ट्रनिर्माणको संघर्षलाई अनुभूत गर्न सकोस् । जहाँ इतिहासका विद्यार्थीले अनुसन्धानको आधार भेटून्, नयाँ पुस्ताले आफ्नो गौरवशाली विगत बुझोस् र विदेशी पर्यटकले नेपालको सैन्य इतिहासको एउटा महत्वपूर्ण पक्षसँग प्रत्यक्ष साक्षात्कार गर्न पाऊन् । मेरा आँखाले देखेको गोलाखाना क्षेत्र र त्यहाँबाट जमिनमुनि निस्किएका ती सयौँ तोपका गोला केवल फलामका निर्जीव वस्तु होइनन् । ती हाम्रो विगतका मौन साक्षी हुन् । तिनले तत्कालीन समयको सैन्य तयारी, सामरिक सोच, प्रविधि र राष्ट्ररक्षाको इतिहासबारे अनेक प्रश्न उठाएका छन्, जसको उत्तर खोज्नु आजको पुस्ताको दायित्व हो । तानसेन केवल प्राकृतिक सुन्दरता र पुरानो वास्तुकलाले भरिएको पहाडी सहर मात्र होइन; यो नेपालको राष्ट्रनिर्माण र सैन्य इतिहाससँग जोडिएको एउटा महत्वपूर्ण ऐतिहासिक भूमि पनि हो । त्यसैले गोलाखाना क्षेत्रको खोज, अध्ययन र संरक्षणलाई स्थानीय गौरवको विषयमा मात्र सीमित नराखी राष्ट्रिय सम्पदाको अभियानका रूपमा अघि बढाउनुपर्छ । इतिहासलाई सम्झनु मात्र पर्याप्त हुँदैन, त्यसलाई प्रमाणसहित संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु नै वास्तविक इतिहासप्रतिको सम्मान हो । गोलाखानाको माटोबाट बाहिरिएका ती तोपका गोलाहरूले हामीलाई एउटा स्पष्ट सन्देश दिएका छन्—इतिहास हाम्रो मुनि लुकेको हुन सक्छ, तर त्यसलाई खोज्ने, बुझ्ने र जोगाउने जिम्मेवारी हाम्रो अफ्नै हो ।

