Shittalpati
पत्रकारलाई नतर्साऊ

लोकतन्त्रको सुन्दरता अभिव्यक्ति स्वतन्त्रतामा हुन्छ । जनताको आवाज बोल्ने, समाजका विकृति र विसङ्गति उजागर गर्ने तथा राज्यका जिम्मेवार निकायलाई जवाफदेही बनाउने महत्वपूर्ण दायित्व पत्रकारिताको हो । पत्रकार केवल समाचार लेख्ने व्यक्ति मात्र होइन, ऊ समाजको सचेत पहरेदार पनि हो । तर पछिल्लो समय पत्रकारले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा धम्की, दबाब, दुव्र्यवहार र असुरक्षाको सामना गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय हो ।

जसरी शुक्रबार समाचार कक्षबाटै पत्रकारहरूमाथि धरपकड भयो त्यसबाट वर्तमान सरकारको पत्रकारिता जगतप्रतिको बुझाइ र व्यवहार फेरि एकपटक सार्वजनिक भएको छ । प्रहरीले नेपाल प्रेस डटकमबाट विश्वमणि सुवेदी, मोटिभेटन्युज डटकमका सम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धीरज बस्नेतलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका दैनिकको कार्यालयमा पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन तीन घण्टासम्म प्रयास गरेको थियो । पक्राउ परेकाहरू छुटिसकेका छन् तर त्रास बाँकी नै छ । मुख्य विषय त, यति ठूलो घटना हुँदा पनि सरकारले भने नागरिकमा अन्योल सिर्जना गर्न खोजेको छ । प्रधानमन्त्रीको सचिवालयले घटनाबारे प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको दाबी गरेको छ । कार्यकारी नेतृत्वलाई यति ठूलो घटनाबारे थाहा थिएन भन्नेमा सर्वसाधारण पनि विश्वस्त हुन सकिरहेका छैनन । यदि प्रधानमन्त्रीलाई थाहा थिएन भने पनि कसरी र कसका कारणले घटना घट्यो भनेर जनतालाई जानकारी गराउनुपथ्र्यो । पत्रकारले समाचार लेखेकै आधारमा निसाना बनाइनु, प्रश्न उठाएकै कारण धम्क्याइनु र सत्यतथ्य सार्वजनिक गरेकै कारण विभिन्न बहानामा त्रसित पारिनु लोकतान्त्रिक समाजका लागि सुहाउने व्यवहार होइन । समाचारप्रति असहमति हुन सक्छ, पत्रकारको प्रस्तुतिमा कमजोरी पनि हुन सक्छ । तर त्यसको समाधान  त्रास, धम्की, आक्रमण होइन । तथ्यगत त्रुटि भए कानुनी र व्यावसायिक प्रक्रियाबाट खण्डन गर्ने, जवाफ दिने र सुधारको माग गर्ने बाटो खुला छ । पत्रकारलाई तर्साएर समाचार रोक्न सकिएला, तर त्यसले सत्यलाई सधैँ लुकाउन सक्दैन ।

जब पत्रकार स्वतन्त्र रूपमा कलम चलाउन डराउँछ, तब जनताले सही सूचना पाउने अधिकार कमजोर हुन्छ । यसले अन्ततः लोकतन्त्र, सुशासन र नागरिक स्वतन्त्रतामाथि नै प्रहार गर्छ । पत्रकारिता पनि जिम्मेवार, मर्यादित र तथ्यमा आधारित हुनुपर्छ । पत्रकारले व्यक्तिगत पूर्वाग्रहभन्दा माथि उठेर सत्य, निष्पक्षता र जनहितलाई प्राथमिकता दिनुपर्छ । तर पत्रकारितामा कमजोरी हुन सक्छ भन्दैमा पत्रकारमाथि हुने धम्की, हिंसा र दबाबलाई कुनै पनि हालतमा उचित ठहर गर्न सकिँदैन । तसर्थ पत्रकारलाई नतर्साऊ, स्वतन्त्र पत्रकारिताको सम्मान गर ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update