नेपालीहरूको दोस्रो ठूलो पर्वका रूपमा परिचित तिहार धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको उज्यालो पर्व हो । यमपञ्चकका पाँच दिनसम्म मनाइने यस पर्वले प्रकृति, जीवजन्तु, मानव सम्बन्ध र पारिवारिक एकतालाई सम्मान गर्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु र भाइटीकाको माध्यमबाट मनाइने तिहारले आपसी प्रेम, सद्भाव, सम्मान र आत्मीयताको सम्बन्धलाई थप प्रगाढ बनाउँछ । घरआँगनमा बालिने दीप, झिलिमिली बत्ती, देउसीभैलोका गीत र फूलमालाले वातावरणलाई उल्लासमय बनाउँछन्। त्यसैले तिहार केवल रमाइलो र मनोरञ्जनको पर्व मात्र नभई सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रतीक पनि हो । घरआँगन सफा गर्ने, दीप प्रज्वलन गर्ने, फूलमाला लगाउने, देउसीभैलो खेल्ने र एकआपसमा शुभकामना साटासाट गर्ने परम्पराले तिहारलाई विशेष बनाएको छ । तर पछिल्लो समय चाडपर्व मनाउने नाममा देखिन थालेका केही विकृति र विसङ्गतिले यसको मौलिकता र सांस्कृतिक महत्त्वमाथि प्रश्न उठाउन थालेका छन् ।
चाडपर्व खुसी साट्ने अवसर हो, देखासिकी र प्रतिस्पर्धा गर्ने माध्यम होइन । तिहारमा घर सजावट, किनमेल, मिठाई, लत्ताकपडा र उपहारमा अनावश्यक खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारलाई समेत अरूको देखासिकी गर्नुपर्ने दवाब सिर्जना हुनु उचित होइन् । आफ्नो आर्थिक क्षमताअनुसार पर्व मनाउनु नै बुद्धिमानी हो । चाडपर्वले कसैलाई आर्थिक भार थप्ने होइन, बरु परिवार र समाजबीचको सम्बन्धलाई अझ बलियो बनाउने वातावरण सिर्जना गर्नुपर्छ । तिहारको नाममा जुवातास खेल्ने, मदिरा सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने र सामाजिक मर्यादा बिर्सने प्रवृत्ति पनि नियन्त्रण गर्न आवश्यक छ । त्यस्तै, पटका, आतसबाजी र विस्फोटक पदार्थको प्रयोगले वातावरण प्रदूषण हुनुका साथै आगलागी, दुर्घटना र मानवीय क्षतिको जोखिम बढाउँछ । चर्को आवाजले बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा पशुपक्षीलाई समेत असर पु र्याउँछ । मनोरञ्जनका नाममा अरूको स्वास्थ्य र सुरक्षामा असर पर्ने गतिविधि गर्नु सभ्य समाजको परिचय हुन सक्दैन । देउसीभैलो खेल्दा पनि समय, स्थान र सामाजिक मर्यादाको ख्याल गर्नुपर्छ । राति अबेरसम्म ध्वनि प्रदूषण गर्ने, जबर्जस्ती रकम माग्ने र सार्वजनिक स्थानमा अवरोध सिर्जना गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ । जाति, भाषा, धर्म, वर्ग र समुदायबीचको विभेदभन्दा माथि उठेर सबैले एकअर्काको खुसीमा साथ दिन सक्नुपर्छ । कुनै पनि परिवार दुःख, अभाव र निराशामा नपरोस्, सबैका घरआँगनमा सुख, शान्ति र समृद्धिको उज्यालो छाओस् । यस वर्षको तिहारले सबै नेपालीमा नयाँ उत्साह, सकारात्मक सोच र एकताको भावना जगाउन सकोस् । सबैको तिहार सुखद, सुरक्षित र मंगलमय रहोस् ।

