हिन्दू धर्मावलम्बीहरुको दोस्रो महान पर्व तिहारको पहिलो दिन आज यमराजको दूत कागको पूजा गरि मनाइँदै छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । अझै पनि गाँउ–घरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ । कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । कागले सन्देश ल्याउने विश्वासका आधारमा यस दिन कागलाई पूजा गरी खानेकुरा खुवाउने परम्परा रहिआएको छ ।
कागलाई सामान्यतया फोहोर खाने, कराउने र घरआँगनमा आउने चराका रूपमा मात्र हेर्ने गरिन्छ । तर प्रकृतिको सन्तुलन कायम राख्न कागको भूमिका महत्वपूर्ण छ । यसले वातावरणमा रहेका कुहिएका तथा सडेगलेका वस्तु खाएर वातावरण सफा राख्न सहयोग पुर्याउँछ । यस अर्थमा काग प्रकृतिको सरसफाइकर्मीसमेत हो । प्रकृतिको खाद्यचक्र र वातावरणीय सन्तुलनमा योगदान पु¥याउने यस्ता चराको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी हो । काग तिहारले यही तथ्यलाई स्मरण गराउँछ । पछिल्लो समय सहरीकरण, वन विनाश, वातावरणीय प्रदूषण र प्राकृतिक बासस्थानको अतिक्रमणका कारण विभिन्न चराचुरुङ्गीको अस्तित्व सङ्कटमा पर्दै गएको छ ।
मानिसको सुविधाका लागि प्रकृतिमाथि बढ्दो हस्तक्षेपले चराचुरुङ्गीको बासस्थान र आहारमा समेत असर पुर्याएको छ । यस्तो अवस्थामा काग तिहारलाई केवल एक दिन कागलाई खाना खुवाउने धार्मिक कर्मकाण्डमा सीमित गर्नु हुँदैन । यसले दिने सन्देशलाई दैनिक व्यवहारमा उतार्न आवश्यक छ । चराचुरुङ्गीका लागि सुरक्षित वातावरण निर्माण गर्ने, अनावश्यक रूख कटानी रोक्ने, प्रदूषण नियन्त्रण गर्ने र जैविक विविधताको संरक्षणमा ध्यान दिनुपर्छ । हाम्रो संस्कृतिमा हरेक जीवजन्तुलाई कुनै न कुनै रूपमा धार्मिक तथा सांस्कृतिक महत्व प्रदान गरिएको छ । काग तिहार, कुकुर तिहार, गाई तिहार र गोरु तिहारले मानव जीवनमा विभिन्न जीवजन्तुको योगदान र महत्वलाई स्वीकार गरेका छन् । यी पर्वले मानिसलाई आफू मात्र प्रकृतिको केन्द्र होइन, प्रकृतिका अन्य प्राणी पनि उत्तिकै महत्वपूर्ण छन् भन्ने सन्देश दिन्छन् । धार्मिक आस्थासँगै वैज्ञानिक र वातावरणीय दृष्टिकोणबाट पनि यस्ता परम्पराको महत्वलाई बुझ्न जरुरी छ । काग तिहारको अवसरमा कागलाई खाना खुवाउने मात्र होइन, यसको संरक्षण र अस्तित्वप्रति पनि सचेत बन्नुपर्छ । घरआँगनमा आउने चराचुरुङ्गीलाई हानि नपुर्याउने, वातावरण सफा राख्ने र जीवजन्तुप्रति दयाभाव राख्ने संस्कार नयाँ पुस्तामा विकास गर्नुपर्छ । पर्वको वास्तविक सार त्यसले दिने सन्देशलाई व्यवहारमा लागू गर्नु हो । त्यसैले काग तिहारलाई प्रकृति र प्राणीप्रतिको सम्मानको पर्वका रूपमा मनाउँदै वातावरण संरक्षणमा सबैले आफ्नो दायित्व पूरा गरौँ ।

