Shittalpati
मधुमेह रोगबारे सचेत बनौँ

हरेक वर्ष नोभेम्बर १४ तारिखमा विश्व मधुमेह दिवस मनाइन्छ । यस वर्षको दिवस आज मनाइँदै छ । मधुमेह अर्थात् चिनीरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, यस रोगबाट हुने जोखिमबारे जानकारी गराउने र यसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपाय अपनाउन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो । पछिल्लो समय बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता र बढ्दो तनावका कारण मधुमेहको समस्या विश्वभर चुनौतीका रूपमा देखिँदै गएको छ । नेपालमा पनि मधुमेहका बिरामीको संख्या बढ्दै जानु चिन्ताको विषय बनेको छ ।  त्यसैले विश्व मधुमेह दिवस केवल औपचारिक कार्यक्रम गर्ने दिन नभई आफ्नो स्वास्थ्य र जीवनशैलीबारे गम्भीर भएर सोच्ने अवसर बन्नुपर्छ । मधुमेह शरीरमा इन्सुलिन पर्याप्त मात्रामा उत्पादन नहुँदा वा शरीरले उत्पादन भएको इन्सुलिनलाई प्रभावकारी रूपमा प्रयोग गर्न नसक्दा रगतमा चिनीको मात्रा बढ्ने अवस्था हो । यसलाई सामान्य रोग ठानेर बेवास्ता गर्नु घातक हुन सक्छ । समयमै पहिचान र उपचार हुन नसके यसले मुटु, मिर्गौला, आँखा, स्नायु प्रणालीलगायत शरीरका विभिन्न अङ्गमा गम्भीर असर पु¥याउन सक्छ । कतिपय अवस्थामा सुरुवाती चरणमा स्पष्ट लक्षणसमेत नदेखिने भएकाले मानिसले आफूलाई मधुमेह भएको थाहा नपाउन सक्छन् । त्यसैले नियमित स्वास्थ्य परीक्षण र रगतमा चिनीको मात्रा जाँच गर्ने बानी आवश्यक छ ।

मधुमेह नियन्त्रणका लागि औषधि सेवन मात्र पर्याप्त हुँदैन । यसका लागि खानपान र दैनिक जीवनशैलीमा सुधार ल्याउन उत्तिकै जरुरी हुन्छ । अत्यधिक गुलियो, चिल्लो तथा प्रशोधित खानेकुराको सेवन घटाउने, सन्तुलित आहार खाने, नियमित शारीरिक व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने र पर्याप्त निद्रा लिने बानीले मधुमेहको जोखिम कम गर्न सहयोग पु¥याउँछ । विशेषगरी शारीरिक श्रम कम गर्ने र लामो समयसम्म एउटै स्थानमा बसेर काम गर्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा दैनिक हिँडडुल र व्यायामलाई जीवनको अभिन्न हिस्सा बनाउनुपर्छ । स्वस्थ जीवनशैली अपनाउनु रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बढी प्रभावकारी उपाय हो ।

मधुमेह नियन्त्रणमा व्यक्तिगत प्रयाससँगै परिवार, समुदाय र राज्यको भूमिका पनि महत्वपूर्ण हुन्छ । रोग लागिसकेका व्यक्तिलाई हेप्ने, डराउने वा सामाजिक रूपमा फरक व्यवहार गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । उनीहरूलाई नियमित उपचार, स्वस्थ खानपान र सकारात्मक वातावरणका लागि परिवारले सहयोग गर्नुपर्छ । अर्कोतर्फ, स्वास्थ्य संस्थामा मधुमेह परीक्षण तथा उपचार सेवा सहज र सर्वसुलभ बनाउन सरकारको ध्यान जान आवश्यक छ । विद्यालयदेखि समुदायस्तरसम्म स्वस्थ खानपान, नियमित व्यायाम र रोगको समयमै पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । विशेषगरी ग्रामीण क्षेत्रमा मधुमेह परीक्षण र उपचार सेवाको पहुँच विस्तार गर्नु आजको आवश्यकता हो । तसर्थ हरेक व्यक्तिले आफ्नो खानपान, शारीरिक गतिविधि र स्वास्थ्य परीक्षणमा ध्यान दिन र रोगबारे सचेत हुन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update