पदम न्यौपाने
पाल्पा छेर्लुङको कुलो(बराङ्दी खोला देखी छेर्लुङको फाँट सम्मको) विगतको परम्परागत तर वैज्ञानिक सिपको नमूना हो, जसले इतिहास, सामुदायिक लगानी ,श्रम, परम्परागत सिँचाइ व्यवस्थापन र भविष्यका लागि दिगो ग्रामीण विकासको सोंचको एउटा नमूना हो । यसबाट अहिले सिचाइँ कुलो निर्माणको अवस्थालाई सिक्नुपर्ने गतिलो पाठ हो ।
हाम्रो अधिकाशं इतिहास केवल सत्ता र त्यस वरिपरि घुमेको वा घुमाइएकोमा केन्द्रित हुन्छ । तर कतिपय समाजसँग गारिएका इतिहास पनि छन् । ती इतिहास पनि केवल राजदरबार, मठमन्दिर, किल्ला र पुराना बस्तीहरूको इतिहासमा मात्र केन्द्रित छैनन् । यो छेर्लुङको कुलोको इतिहास पानीको व्यवस्थापन, खेतीपाती, सामूहिक श्रम र समुदायले निर्माण गरेका जीवनउपयोगी संरचनाहरूको इतिहास बनेको छ । कठीन पहाडी भूगोलमा रहेका उब्जाउ भूमिमा पानीको स्रोतबाट खेतबारीसम्म पानी पु¥याउनु सामान्य सोचका साथै सहज पनि थिएन । त्यसका लागि जमिनको भिरालोपन बुझ्नुपर्ने, उपयुक्त बाटो पहिल्याउनुपर्ने, चट्ट्यानी ढुङ्गा फोड्नुपर्ने, माटोको संरचना बनाउनुपर्ने र वर्षौँसम्म त्यसको संरक्षण गर्नुपर्ने चुनौती सामना गर्नु पथ्र्यो । पाल्पाको तानसेन नगरपालिका–१४मा रहेको अर्को फाँट छेर्लुङमा लगिएको कुलो पनि केवल सिँचाइको माध्यमका रूपमा मात्र नभई स्थानीय ज्ञान, सामुदायिक लगानी, सहकार्य, व्यवस्थापन, कृषि उत्पादन र ग्रामीण जीवनशैलीसँग जोडिएको ऐतिहासिक सम्पदाका रूपमा पनि लिइन्छ ।
इतिहासः पुर्खाको सीप, श्रम र सामूहिक संकल्प
पहाडको चट्टान छेडेर पानी लैजाने सुरुङसहितको परम्परागत यो राजकुलो चट्टानभित्र सुरुङ निर्माण गरी पानी लगिएको सिँचाइ कुलो हो । पहाडी बस्तीहरूमा परम्परागत कुलो निर्माण हुनुको प्रमुख उद्देश्य पनि स्थानीय कृषि जीवनको आवश्यकता पूरा गर्न निर्माण गरिएको यो पनि एउटा संरचना थियो । यस कुलोमा प्राकृतिक ढलान अनुसार पानी बग्ने मार्ग, ढुङ्गा वा माटोका पुराना संरचना, पहाडभित्र बनाइएका सुरुङ वा अन्य विशेष इन्जिनियरिङका पक्षहरुबाट यस कुलोको महत्व बढाएको पाइन्छ । तत्कालिन अवस्थामा समुदायद्धारा रु पाँचहजार रुपैया नगद र पाँच सय रुपैयाँ बराबरको जिन्सि संकलन गरी जम्मा रु पाँचहजार पाँच सय रुपैयामा सो कुलो निर्माण गरिएको उपभोक्ताहरु बताउछन् । वि.सं. १९९० र १९९५ ताकाको समयमा आधुनिक मेसिन, नापजाँचका डिजिटल उपकरण र यातायातका सहज साधन उपलब्ध थिएनन् । तापनि स्थानीय मानिसले जमिनको बनोट, पानीको बहाव र उचाइको अन्तर बुझेर सिँचाइका संरचना निर्माण गरेका थिए । यस्ता संरचनामा पुस्तौँको अनुभव, प्रकृतिको अवलोकन र व्यवहारबाट सिकिएको ज्ञान समेटिएको भान हुन्छ । कुलो निर्माण तथा सञ्चालनमा स्थानीय किसान, परिवार र समुदायको सामूहिक श्रम संलग्नता थियो ।
परम्परागत इन्जिनियरिङ अहिलेकालागि सिकाइ
छेर्लुङ कुलोको महत्व यसको पानी बग्ने मार्गमा मात्र सीमित छैन । यसको निर्माणमा अपनाइएको प्रविधि, भौगोलिक अवस्था अनुसार गरिएको मार्ग छनोट र पानीको बहाव नियन्त्रण गर्ने सीपले पनि यसको ऐतिहासिक मूल्य निर्धारण गर्छ । नेपालका मध्यपहाडी क्षेत्रमा प्रचलित किसानद्वारा व्यवस्थित सिँचाइ प्रणालीहरूमा स्थानीय सामग्री, ढुङ्गा, माटो, वनस्पति र प्राकृतिक ढलानको उपयोग गरिन्थ्यो । कतिपय ठाउँमा कठिन चट्टानी भू–भाग पार गर्न सुरुङसमेत बनाइन्थ्यो । पाल्पाको छेर्लुङ र अर्गलीका कुलोहरू यस्ता परम्परागत सिँचाइ प्रणालीका उदाहरणका रूपमा प्राविधिक साहित्यमा उल्लेख भएका छन् । यस्ता कुलोहरु अहिलेको इन्जिनियरिगंका लागि सिकाइ हुन्छन् । अहिलेको प्राविधिक पक्षमा यस प्रकारका संरचनाको अध्ययन गर्दा तीन पक्षमा विशेष ध्यान दिनुपर्छ । पहिलो, पानीको स्रोतदेखि खेतसम्मको मार्ग कसरी तय गरियो भन्ने कुरा महत्वपूर्ण हो । दोस्रो, जमिनको भिरालोपन अनुसार पानीको गति र बहाव कसरी नियन्त्रण गरियो भन्ने कुरा र तेस्रो, पहिरो, वर्षा, बाढी तथा अन्य प्राकृतिक जोखिमबाट कुलोलाई कसरी जोगाइयो भन्ने कुरा । यस्तो परियोजनाहरुको अध्ययन अनुसन्धानले पुरानो प्रविधिलाई केवल आश्चर्यका रूपमा हेर्ने होइन, त्यसको व्यावहारिक ज्ञानलाई आजको सिँचाइ व्यवस्थापनमा कसरी उपयोग गर्ने भन्ने बाटो पनि देखाउँछ । यस कुलोका सन्दर्भमा गरिएका अध्ययन, अनुसन्धानहरुले पनि यो प्रकृतिको कुलोलाई तत्कालिन अवस्थामा स्थानीयहरुको चासो, लगानी, व्यवस्थापन र हाल सम्म अवलम्वन गरिएको वितरण प्रणालीलाई बैज्ञानिक मानेका छन् ।
उपयोग, चुनौती र संरक्षणको आवश्यकता
अहिलेको समयमा परम्परागत कुलोहरूको भूमिका परिवर्तन भइरहेको छ । कतिपय ठाउँमा कृषि जमिन बाँझिने, खेतीको स्वरूप बदलिने, युवा जनशक्ति अन्यत्र जाने र वैकल्पिक पानीका स्रोत प्रयोगमा आउने क्रमले पुराना कुलोको नियमित प्रयोग प्रभावित पारेको देखिन्छ । तर यी त सामान्यत सम्भावित चुनौती मात्र हन् । छेर्लुङ कुलोमा यस्ता समस्या कति गम्भीर छन् भन्ने कुरा स्थलगत अध्ययनबाट हेर्नु पर्ने हुन्छ । यसरी हेर्दा कुलोबाट हाल कति क्षेत्रफलमा सिँचाइ हुन्छ र कति किसान परिवार लाभान्वित छन् ? सुक्खायाम र वर्षायाममा पानीको बहाव कति फरक हुन्छ ? कुलो उपभोक्ता समिति वा अन्य संस्थाले कसरी काम गरिरहेका छन् ? मर्मतका लागि श्रम र आर्थिक स्रोत कसरी जुटाउने गरिएको छ ? र पुरानो पुस्तामा रहेको ज्ञान नयाँ पुस्तामा कति हस्तान्तरण भइरहेको छ की छैन् वा हस्तान्तरण सम्भव छ की छैन ?
यसमा ध्यान दिनुपर्ने विशेष पक्ष के हो भने संरक्षणका नाममा कुलोका सबै भागमा सिमेन्ट प्रयोग र पुराना संरचना हटाएर नयाँ निर्माण गर्ने काम भएको छ छैन । आवश्यक स्थानमा आधुनिक प्रविधि प्रयोग गर्दा पनि ऐतिहासिक संरचना, प्राकृतिक जलप्रवाह र स्थानीय ज्ञानलाई जोगाउने सिद्धान्त अपनाउन जरुरी हुन्छ किन की यस्ता प्रविधियुक्त परियोजना ऐतिहासिक महत्व बोकेका हुन्छन् ।
छेर्लुङ कुलोको संरक्षण, उत्पादन र सम्पदा पर्यटन
छेर्लुङ कुलोलाई भविष्यमा कृषि पूर्वाधार,ऐतिहासिक सम्पदा र स्थानीय विकासको साझा आधार बनाउनु पर्ने हुन्छ । त्यसका लागि निम्न कार्यक्रम प्राथमिकतामा राख्नुपर्छ । यस कुलोले पर्यटनमा आकर्षण थपिदै गएको साहसिक पर्यटनकालागि नयाँ अवसर समेत सृजना गरेकोछ । रानीघाट दरवार क्षेत्रमै यो अवसर प्राप्त हुनु पाल्पाको पर्यटनमा नयाँ अवसर पनि हो । यसैगरी सम्पदा पर्यटनको पक्षमा पनि यसको वेग्लै महत्व रहेकोछ । पानी वितरण प्रणलीमा अवलम्वन गरिएको विधि पनि एक प्रकारको सम्पदा बनेको छ जुन निकै वैज्ञानिक रहेको पाइन्छ । यो कुलोको आकार वा पानीको मात्रा सिचाइ गरिने जमिनको क्षेत्रफल अनुसार आवश्यक पर्ने पानीको मात्राका आधारमा बनाइएको वताइन्छ ।
कसले बनाएको हो ?
वि.सं. १९९० र १९९५ (सन् १९३३ र १९३८) तिर छेर्लुङ र अर्तुङ्गाका खेतबारीमा सिँचाइका लागि पानी पुर्याउने उद्धेश्य राखेर रुद्रशमशेरको पालामा वा राणाकालमा स्थानीय समुदायद्धारा आफ्नै लगानीमा निर्माण गरिएको हो। कुलो निर्माणमा पहाडको चट्टान काटेर सुरुङ खन्ने सीप भएका आग्री समुदायका कालीगढ तथा श्रमिकहरू संलग्न गरिएको थियो । दस्तावेजहरु अनुसार यो कुलोको नाम जेठी र कान्छी कुलो भनेर चिनिने गरी दुईवटा कुलोको उल्लेख पाइन्छ । कुलोको ऐतिहासिक मार्ग, सम्भावित सुरुङ, स्थानीय कृषि संस्कृति र परम्परागत निर्माण सीपलाई समेटेर शैक्षिक भ्रमण वा सम्पदा पदमार्ग विकास गर्न सकिन्छ । साथै स्थानीय विद्यालय, अनुसन्धानकर्ता र समुदायको सहकार्यमा ‘हाम्रो कुलो, हाम्रो इतिहास’ अभियान सञ्चालन गरी कुलोको इतिहास, पानीको उपयोग, स्थानीय प्रविधि र सामुदायिक सहकार्यबारे अध्ययन गर्न सक्छन विद्यार्थीलाइ अभिप्रेरित गर्न सकिन्छ । यसबाट इतिहासप्रति सम्मान र वातावरणप्रति जिम्मेवारी बढ्छ । यी कामलाई चरणबद्ध रूपमा अघि बढाउन तानसेन नगरपालिका, स्थानीय उपभोक्ता समूह, कृषि तथा सिँचाइसम्बन्धी निकाय, विद्यालय र सम्पदा संरक्षणमा काम गर्ने संस्थाबीच सहकार्य आवश्यक हुन्छ । कुलो पानीको बाटो मात्र होइन, समाजको इतिहास पनि हो । यसर्थ यसको वास्तविक ऐतिहासिक समय, निर्माण प्रक्रिया, प्राविधिक विशेषता र वर्तमान उपयोगबारे थप प्रमाण संलग्न गर्न जरुरी छ । अध्ययन जरुरी छ , त्यस्तो अध्ययनले छेर्लुङको इतिहासलाई तथ्यमा आधारित बनाउनुका साथै नेपालको परम्परागत सिँचाइ प्रणालीबारेको ज्ञानमा समेत योगदान दिन सक्छ । इतिहास वा अतीतको सम्मान भनेको पुरानो संरचनाको प्रशंसा मात्र गर्नु होइन; त्यसमा निहित ज्ञान, श्रम, सहकार्य र जिम्मेवारीलाई वर्तमान जीवनमा उपयोग गर्नु हो । छेर्लुङ कुलोको संरक्षण पनि यही सोचमा आधारित हुनुपर्छ । छेर्लुङको कुलोले भविष्यलाई दिने मुख्य सन्देश पनि यही हो की पुर्खाले निर्माण गरेको संरचना जोगाऔँ, त्यसमा रहेको ज्ञान बुझौँ, वर्तमानको आवश्यकता पूरा गरौँ र भावी पुस्ताका लागि पानी, कृषि तथा सम्पदाको दिगो आधार तयार गरौँ ।
निष्कर्ष
पाल्पाको अर्गलीको राजकुलो र छेर्लुङको ऐतिहासिक सुरुङ कुलो दुवै परम्परागत सिँचाइका महत्वपूर्ण सम्पदा हुन् । अर्गली कुलो राज कुलो हो भने छेर्लुङ कुलो ऐतिहासिक कुलो हो । अर्गलीको राजकुलो करिब ४०० वर्षअघि निर्माण भएको मानिन्छ भने छेर्लुङको ऐतिहासिक कुलो वि.सं. १९९० र १९९५ तिर राणाकालमा निर्माण भएको मानिन्छ । यसलाई अब पर्यापर्यटनसँग जोडेर लान सकियो भने छेर्लुङ र अर्तुङगाको सामाजिक आर्थिक रुपान्तरणमा ठूलो मद्धत पुग्ने देखिन्छ । यो कुलो अव सिंचाइ कुलो मात्र रहेन, यो अव रानीघाट क्षेत्र (रानीमहल)को पर्यटन विकासका लागि विभिन्न अवसर सिर्जना गरेको छ । विभिन्न शाहसिक पर्यटनको अवसर र रानीमहल क्षेत्र नजिकैको व्यवस्थित गाउँ छेर्लुङ साथै माझी(बोटे) समुदायमा घरबास (होमस्टे) र खानीगांउ क्षेत्रमा ग्रामिण पर्यटनका क्रियाकलापको लागि ढोका खोल्ने निश्चित छ । यो क्षेत्रमा पर्यटनका सबै सम्भावनाहरुको व्यवस्थित विकासका लागि रानीघाट क्षेत्र विकास समिति गठन गर्न जरुरी देखिएको छ ।
(लेखक तानसेन पर्यटन बोर्डका सदस्य र तानसेन सम्पदा संरक्षण समाजका अध्यक्ष हुन् ।)

