Shittalpati
अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको सन्दर्भ

आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १७ तारिखका दिन विद्यार्थीको अधिकार, स्वतन्त्रता, शैक्षिक अवसर र शिक्षामा समान पहुँचको महत्वलाई उजागर गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । विद्यार्थी समाज परिवर्तनका संवाहक, राष्ट्र निर्माणका आधार र भविष्यका कर्णधार हुन् । त्यसैले उनीहरूको शिक्षा, अधिकार, सुरक्षा र उज्ज्वल भविष्य सुनिश्चित गर्नु राज्य, समाज र शैक्षिक संस्थाहरूको साझा दायित्व हो । विद्यार्थी दिवस केवल औपचारिक कार्यक्रम र भाषणमा सीमित हुनु हुँदैन । यसले विद्यार्थीले भोगिरहेका समस्या, चुनौती र अवसरका विषयमा गम्भीर बहस गर्ने वातावरण सिर्जना गर्नुपर्छ । आज पनि धेरै विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित छन् । आर्थिक अभाव, भौगोलिक विकटता, शैक्षिक असमानता, बेरोजगारी, प्रविधिमा पहुँचको कमी तथा शिक्षण संस्थामा देखिने विभिन्न विकृतिले विद्यार्थीको भविष्य प्रभावित भइरहेको छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीले अझै पनि सहज र गुणस्तरीय शिक्षा प्राप्त गर्न अनेक कठिनाइ सामना गर्नुपरेको छ । नेपालको शैक्षिक क्षेत्रमा पछिल्लो समय केही सकारात्मक परिवर्तन देखिए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । शिक्षामा पहुँच विस्तार भएको छ, तर गुणस्तर र व्यवहारिक सीपको विकास अझै चुनौतीपूर्ण छ । विद्यालय तथा विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त गरेपछि पनि रोजगारीका अवसर नपाउँदा ठूलो संख्यामा युवा विदेशिन बाध्य छन् । उच्च शिक्षा र राम्रो भविष्यको खोजीमा विद्यार्थी विदेश पलायन हुने क्रम बढ्दै जानु देशको शैक्षिक तथा आर्थिक क्षेत्रका लागि गम्भीर चिन्ताको विषय हो । 
    विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा, अनुसन्धानको वातावरण, सीपमूलक तालिम र रोजगारीको अवसर उपलब्ध गराउन राज्यले विशेष ध्यान दिनुपर्छ । शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन, व्यक्तिको सोच, क्षमता, चरित्र र जिम्मेवारी विकास गर्ने आधार हो । त्यसैले शिक्षण प्रणालीलाई समयअनुकूल, प्रविधिमैत्री, व्यावहारिक र रोजगारमुखी बनाउनु आवश्यक छ । विद्यार्थीलाई घोकन्ते शिक्षाभन्दा सिर्जनात्मक सोच, आलोचनात्मक चेतना, अनुसन्धान र नवप्रवर्तनतर्फ प्रेरित गर्नुपर्छ । विद्यालय तथा विश्वविद्यालयमा विद्यार्थीमैत्री वातावरण निर्माण गर्दै उनीहरूको विचार, जिज्ञासा र प्रतिभाको सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ । विद्यार्थीलाई केवल भविष्यका कर्णधार भनेर सम्बोधन गर्ने मात्र होइन, वर्तमानमै उनीहरूको क्षमता, प्रतिभा र अधिकारको सम्मान गर्नुपर्छ। विद्यार्थीको सपना, सम्भावना र सिर्जनशीलतालाई संरक्षण गर्दै उनीहरूका लागि अवसरयुक्त शैक्षिक वातावरण निर्माण गर्नु नै अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको वास्तविक सन्देश बन्नुपर्छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update