Shittalpati
बाल अधिकारको सम्मान, उज्ज्वल भविष्यको निर्माण

मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ भन्ने नाराका साथ मनाउन लागिएको अन्तर्राष्ट्रिय बाल अधिकार दिवसले बालबालिकाको अधिकार, संरक्षण र भविष्यप्रतिको हाम्रो जिम्मेवारीलाई पुनः स्मरण गराएको छ । बालबालिका राष्ट्रका भविष्य मात्र होइनन्, वर्तमान समाजका महत्त्वपूर्ण सदस्य पनि हुन् । 

उनीहरूको सुरक्षित जीवन, उचित शिक्षा, स्वास्थ्य, विकास र सहभागिताको सुनिश्चितता गर्नु परिवार, समाज र राज्य सबैको दायित्व हो । संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धिअनुसार १८ वर्ष उमेर पूरा नगरेका प्रत्येक व्यक्ति बालबालिका हुन् । उनीहरूले कुनै डर, त्रास, विभेद र असुरक्षाविना सम्मानपूर्वक बाँच्न, हुर्कन, शिक्षा प्राप्त गर्न तथा आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने अधिकार नै बाल अधिकार हो । प्रत्येक वर्ष नोभेम्बर २० तारिखमा विश्वभर अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइन्छ । यस दिवसले बालबालिकाको अधिकार सुनिश्चित गर्न अभिभावक, शिक्षक, समुदाय र सरकारको भूमिका तथा जिम्मेवारीप्रति सचेत गराउने काम गर्दछ ।अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको सुरुवात सन् १९५४ बाट भएको हो । त्यसबेला संयुक्त राष्ट्रसंघले विश्वभरका बालबालिकाको कल्याण र अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले नोभेम्बर २० लाई सार्वभौमिक बाल दिवसका रूपमा मनाउन सिफारिस गरेको थियो । त्यसपछि सन् १९५९ नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी घोषणापत्र जारी भयो । 

बाल अधिकारको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि सन् १९८९ नोभेम्बर २० मा हासिल भयो । उक्त दिन संयुक्त राष्ट्रसंघको महासभाले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको थियो । यही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष नोभेम्बर २० लाई अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । नेपाल पनि बाल अधिकार संरक्षण र प्रवद्र्धनप्रति प्रतिबद्ध राष्ट्र हो । सन् १९९० सेप्टेम्बर २ मा बाल अधिकारसम्बन्धी महासन्धि विश्वव्यापी रूपमा लागू भएको १२ दिनपछि अर्थात् सन् १९९० सेप्टेम्बर १४(वि.सं. २०४७ भदौ २९ गते) नेपालले उक्त महासन्धिलाई बिनासर्त अनुमोदन गरी पक्ष राष्ट्रको सदस्यता प्राप्त गरेको थियो ।  २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि बनेको अन्तरिम सरकारले बालबालिकाको अधिकार संरक्षण गर्ने प्रतिबद्धतासहित महासन्धि अनुमोदन गर्ने निर्णय गरेको थियो । यही ऐतिहासिक दिनको सम्झनामा नेपालले वि.सं. २०६३ सालदेखि प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउनुको उद्देश्य बालबालिकाका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नु हो । महासन्धिले सुनिश्चित गरेका बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताका चार प्रमुख अधिकारको प्रत्याभूति गर्नु यसको मुख्य लक्ष्य हो । त्यसैगरी जात, लिङ्ग, धर्म, अपाङ्गता वा अन्य कुनै आधारमा बालबालिकामाथि हुने विभेद अन्त्य गर्नु, बालश्रम, बालविवाह तथा दुव्र्यवहारबाट उनीहरूलाई जोगाउनु र बालमैत्री वातावरण निर्माण गर्नु पनि यस दिवसका महत्वपूर्ण उद्देश्य हुन् । यसले राज्यलाई बालमैत्री कानुन तथा आवश्यक बजेट निर्माण गर्न प्रेरित गर्नुका साथै परिवार र समुदायमा बाल अधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्ने र बालबालिकाका विचार तथा भावनाको सम्मान गर्ने सन्देशसमेत दिन्छ । बाल अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्र बनेपछि नेपालले यस क्षेत्रमा कानुनी तथा संस्थागत रूपमा विभिन्न प्रयास गर्दै आएको छ ।

नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न बालबालिकासम्बन्धी ऐन, २०७५ तथा बालश्रम निषेधसम्बन्धी कानुनी व्यवस्था लागू गरिएको छ । त्यसैगरी बाल अधिकारको संरक्षण र प्रवद्र्धनका लागि राष्ट्रिय बाल अधिकार परिषद् सक्रिय रहेको छ। स्थानीय तहमा बाल कल्याण अधिकारीको व्यवस्था तथा बालमैत्री स्थानीय शासन प्रवद्र्धनका कार्यक्रम सञ्चालन हुनु पनि यस क्षेत्रका सकारात्मक प्रयास हुन् । यद्यपि कानुन र नीतिगत व्यवस्थाका बाबजुद बालबालिकाले भोग्नुपरेका समस्या अझै पूर्ण रूपमा अन्त्य हुन सकेका छैनन् । बालश्रम, बालविवाह, हिंसा, दुव्र्यवहार, बेचबिखन, विद्यालयबाहिर रहेका बालबालिका तथा आर्थिक र सामाजिक विभेदजस्ता चुनौती कायमै छन् । कतिपय बालबालिका आधारभूत शिक्षा, स्वास्थ्य सेवा र पोषणबाट समेत वञ्चित छन् । बालबालिकाका अधिकार कागजमा सीमित नराखी उनीहरूको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु आजको आवश्यकता हो । यसका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै परिवार, विद्यालय, समुदाय र सम्बन्धित निकायबीच समन्वय आवश्यक छ । बालबालिका भोलिका कर्णधार मात्र होइनन्, आजका सक्रिय नागरिक र समाजका अभिन्न साझेदार पनि हुन् । उनीहरूको विचार सुन्ने, क्षमता पहिचान गर्ने र निर्णय प्रक्रियामा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्छ । नोभेम्बर २० केवल औपचारिक कार्यक्रम र दिवस मनाउने अवसर मात्र नभई बालबालिकाको अधिकार सुनिश्चित गर्न भएका प्रयासको समीक्षा गर्दै बाँकी चुनौती समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्ने दिन पनि हो । आज बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा गरिने लगानीले नै भोलिको समुन्नत, सभ्य र समावेशी राष्टू निर्माणको आधार तयार पार्छ । त्यसैले ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ भन्ने नारालाई व्यवहारमा उतार्दै प्रत्येक बालबालिकाले सम्मानपूर्वक बाँच्न, सिक्न, हुर्कन र आफ्नो भविष्य आफैँले निर्माण गर्न सक्ने बालमैत्री समाज बनाउन सबैले आ–आ–नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्न आवश्यक छ । आज बालबालिकामा गरिएको सानो लगानीले भोलिको समुन्नत राष्ट्र निर्माण गर्दछ । तसर्थ, आउनुहोस् आजैबाट बालमैत्री समाज निर्माणमा हातेमालो गरौँ ।
( लेखक आचार्यसँग लामो समय बालमैत्री कार्यक्रमको फोकल पर्सन भएर काम गरेको अनुभव छ । हाल उनी  जिल्ला समन्वय समिति पाल्पामा कार्यरत छन् ।)

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update