Shittalpati
टेलिभिजनको विश्वसनीयता जोगाऔँ

टेलिभिजन आधुनिक सञ्चारमाध्यमको महत्वपूर्ण उपलब्धि हो । सूचना, शिक्षा र मनोरञ्जनलाई एकैसाथ दृश्य तथा श्रव्य माध्यमबाट आम नागरिकसम्म पुर्‍याउने प्रभावकारी साधनका रूपमा टेलिभिजनले लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विश्वका विभिन्न घटना, गतिविधि, सामाजिक परिवर्तन र जनजीवनका विषयलाई तत्काल घर–घरमा पुर्‍याउने माध्यमका रूपमा यसको आफ्नै विशिष्ट पहिचान छ । प्रत्येक वर्ष नोभेम्बर २१ मा मनाइने विश्व टेलिभिजन दिवसले सञ्चार क्षेत्रमा टेलिभिजनको महत्व र योगदानलाई स्मरण गराउँछ । संयुक्त राष्ट्रसंघले सन् १९९६ मा पहिलो विश्व टेलिभिजन मञ्च आयोजना गरेपछि नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा मनाउने घोषणा गरेको हो । यस दिवसले विश्वव्यापी सञ्चार, शान्ति, विकास, शिक्षा र सामाजिक चेतना अभिवृद्धिमा टेलिभिजनको भूमिकालाई उजागर गर्ने उद्देश्य राखेको छ ।

 प्रविधिको तीव्र विकाससँगै सञ्चारका माध्यमहरू परिवर्तन भइरहे पनि टेलिभिजनको प्रभाव र विश्वसनीयता अझै महत्वपूर्ण रहँदै आएको छ । टेलिभिजन केवल मनोरञ्जनको साधन मात्र होइन, यो समाजलाई सुसूचित र सचेत बनाउने महत्वपूर्ण माध्यम पनि हो । देश तथा विदेशका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र विकास निर्माणसँग सम्बन्धित घटनालाई जनतासमक्ष पु¥याउन यसको भूमिका उल्लेखनीय छ । प्राकृतिक विपत्ति, महामारी, निर्वाचन, सार्वजनिक सरोकार र राष्ट्रिय महत्वका विषयमा नागरिकलाई समयमै जानकारी दिन टेलिभिजनले प्रभावकारी भूमिका खेल्दै आएको छ । यसका साथै शैक्षिक कार्यक्रम, वृत्तचित्र र जनचेतनामूलक सामग्रीमार्फत नागरिकको ज्ञान र चेतनास्तर बढाउन पनि यसको योगदान छ । नेपालमा पनि टेलिभिजन पत्रकारिताले सूचना तथा सञ्चारको क्षेत्रमा महत्वपूर्ण स्थान बनाएको छ । नेपाल टेलिभिजनबाट सुरु भएको टेलिभिजन प्रसारण यात्रा अहिले विभिन्न निजी टेलिभिजन च्यानलसम्म विस्तार भएको छ । यसले समाचार, शिक्षा, मनोरञ्जन र सामाजिक विषयवस्तुलाई नागरिकको पहुँचमा पु¥याएको छ । तर पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको विस्तारसँगै टेलिभिजनले नयाँ चुनौतीको सामना गर्नुपरेको छ । मोबाइल फोन र डिजिटल प्लेटफर्मबाट तत्काल सूचना प्राप्त गर्न सकिने भएपछि दर्शकको रुचि र हेर्ने बानीमा समेत परिवर्तन आएको छ ।

डिजिटल प्रविधिको विकासलाई चुनौतीका रूपमा मात्र नलिई अवसरका रूपमा उपयोग गर्न आवश्यक छ । टेलिभिजनले पनि समयअनुसार आफ्नो प्रसारण शैली, सामग्री र प्रविधिमा सुधार गर्नुपर्छ । दर्शकको रुचि र आवश्यकतालाई ध्यानमा राख्दै गुणस्तरीय, तथ्यपरक र विश्वसनीय सामग्री उत्पादनमा जोड दिनुपर्छ । समाचार प्रसारण गर्दा सत्यतथ्यको पुष्टि, सन्तुलित प्रस्तुति र पत्रकारिताको आचारसंहिताको पालना अनिवार्य हुनुपर्छ । गलत सूचना, भ्रामक समाचार र सनसनीपूर्ण सामग्रीबाट टाढा रहनु आजको टेलिभिजन पत्रकारिताको प्रमुख दायित्व हो ।टेलिभिजनलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी ज्ञान, चेतना, सुशासन र सामाजिक रूपान्तरणको प्रभावकारी माध्यम बनाउन सबै पक्षको ध्यान जान  जरुरी छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update