Shittalpati
गुल्मी कालीगण्डकीका बाढी पीडितले अझै पाएनन् राहत

गुल्मी,(पुर्तिघाट) , गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले घर, सडक, पुल र व्यवसायमा ठूलो क्षति पुर्‍यायो । बाढी आएको दुई महिना बित्न लाग्दासमेत प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र व्यवसायीले न राहत पाएका छन्, न त क्षतिग्रस्त संरचनाको पुनर्निर्माण नै सुरु भएको छ । बाढीले थिलथिलो बनाएको यहाँको कालीगण्डकी क्षेत्रका बासिन्दा अहिले पनि सरकारी सहयोगको प्रतीक्षामा छन् ।

असोजको पहिलो साता लगातार पाँच दिनसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको अत्यधिक बहावले नदी आसपासका बजार, बस्ती, घर तथा व्यावसायिक प्रतिष्ठानमा करोडौँ रुपैयाँ बराबरको क्षति पु¥याएको थियो । सार्वजनिक तथा सरकारी संरचनासमेत बाढीको चपेटामा परे । असोज ११ गते बिहान कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर र स्याङ्जाको मिर्मी जोड्ने ड्यामसाइडस्थित पक्की पुलसमेत नदीको तीव्र बहावले बगायो । पुल बगेपछि त्यस क्षेत्रको यातायात आवागमन प्रभावित बनेको छ । बाढीपछि प्रभावित क्षेत्रको अवलोकन गर्न सांसद, मन्त्रालयका प्राविधिक तथा विभिन्न राजनीतिक दलका नेताहरू पुगे । उनीहरूले क्षतिको अवस्था बुझ्दै पुल र अन्य संरचना छिट्टै निर्माण तथा मर्मत गर्ने आश्वासन दिए । तर, आश्वासन दिएको लामो समय बितिसक्दा पनि पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । पुर्तिघाट बजार नजिकै रहेको नवनिर्मित विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसन, करिडोर क्षेत्र, पर्वत जोड्ने पक्की पुलको प्रवेशमार्ग तथा कालीगण्डकी करिडोरको हर्मिचौर–पुर्तिघाट सडक खण्डका सयौँ स्थानमा क्षति पुगेको छ । ती सडक तथा संरचनाको मर्मतसम्भारसमेत हुन सकेको छैन । यसले स्थानीयको आवागमन, व्यापार व्यवसाय र दैनिक जनजीवनमा थप समस्या सिर्जना गरेको छ । बाढीबाट प्रभावित कनौटा र आसपासका क्षेत्रमा सञ्चालित होटल, ग्यारेज तथा ईभी चार्जिङ सेन्टरमा ठूलो क्षति पुगे पनि पुनर्निर्माणका लागि कुनै पहल नभएको स्थानीय समाजसेवी तथा होटल व्यवसायी सञ्जय केसीले बताए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले क्षतिको विवरण संकलन गरेर लगे पनि अहिलेसम्म पीडितलाई सहयोग उपलब्ध गराउने विषयमा कुनै ठोस निर्णय भएको छैन ।

स्थानीय तहको मुकामसमेत रहेको पुर्तिघाटका बाढीपीडितले राज्यबाट सामान्य राहतसमेत पाउन नसक्नु दुःखद भएको पुर्तिघाट ईभी चार्जिङ सेन्टरका सञ्चालक तथा बाढीपीडित सुदर्शन श्रेष्ठको गुनासो छ । उनका अनुसार असोज ११ गते बिहान करिब ३ः३० बजे कालीगण्डकी नदीको बहावले चार्जिङ सेन्टरमा क्षति पुर्‍याउनुका साथै विद्युत् ट्रान्सफर्मरसमेत बगाएको थियो । ‘क्षतिको विवरण संकलन गर्न सम्बन्धित निकायका प्रतिनिधि आएर गए । तर, त्यसपछि हाम्रो क्षतिको विवरण कहाँ पुग्यो, कहिले र कसरी सम्बोधन हुन्छ भन्नेबारे कुनै जानकारी छैन,’ श्रेष्ठले भने । उनले पटकपटक जिल्ला विपद् व्यवस्थापन समितिलाई क्षतिको विवरणसहित जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे । अर्का सञ्चालक मधुसूदन श्रेष्ठका अनुसार चार्जिङ सेन्टरमा मात्रै करिब ६० लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । बाढीले व्यवसायका उपकरण तथा संरचनामा क्षति पु¥याउँदा व्यवसाय पुनः सञ्चालन गर्नसमेत कठिनाइ भएको उनले बताए । 

क्षतिको विवरण पटक–पटक सम्बन्धित निकायमा पुर्‍याउँदा पनि कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ । यता, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले प्रभावित क्षेत्रका पीडितलाई राहत तथा पुनर्निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत संघीय सरकारसँग अनुरोध गरिएको बताए । तर, सरकारले अहिलेसम्म राहतका विषयमा कुनै प्रतिक्रिया नदिएको उनले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा जनप्रतिनिधि तथा सरकारी अधिकारीहरू निरीक्षणका लागि पटक–पटक पुगे पनि पीडितका समस्या समाधानमा ठोस काम हुन नसकेको स्थानीयको गुनासो छ । ‘माननीयदेखि सरकारका प्रतिनिधिसम्म आएर क्षतिको अवस्था हेरे, फोटो खिचाए र फर्किए । तर, हामी पीडितले अहिलेसम्म केही पाउन सकेनौँ,’ स्थानीयको गुनासो छ ।

विपद्का बेला प्रभावित नागरिकलाई तत्काल राहत, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित व्यवसायलाई पुनः सञ्चालन गर्न सहयोग पुर्‍याउनु राज्यको दायित्व हो । तर, कालीगण्डकी क्षेत्रका बाढीपीडितका हकमा क्षतिको विवरण संकलनमै सरकारी प्रक्रिया सीमित भएको देखिन्छ । बाढीले भौतिक संरचना मात्र भत्काएको छैन, स्थानीयको रोजगारी, आम्दानी र भविष्यप्रतिको भरोसासमेत प्रभावित बनाएको छ । बाढीको पानी घटे पनि पीडितको पीडा घट्न सकेको छैन । क्षतिको विवरण संकलन गरेर मात्रै दायित्व पूरा हुँदैन । प्रभावितलाई राहत उपलब्ध गराउने, जोखिममा रहेका सडक तथा पुलको पुनर्निर्माण गर्ने र क्षतिग्रस्त व्यवसायलाई पुनः सञ्चालन गर्न आवश्यक सहयोग गर्ने काममा सम्बन्धित निकायले तत्काल चासो दिनुपर्ने देखिन्छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update