Shittalpati
गुल्मीको पुर्तिघाटमा निकालियो राधाकृष्णको रथयात्रा

गुल्मी, गुल्मीको कालीगण्डकी गाउँपालिका–४ स्थित पुर्तिघाट बजारमा परम्परागत राधाकृष्णको रथयात्रा निकालिएको छ । वैदिक परम्पराअनुसार परापूर्वकालदेखि प्रत्येक द्वादशी तिथिमा आयोजना हुँदै आएको कृष्ण रथयात्रा यस वर्ष पनि धार्मिक तथा सांस्कृतिक विधिअनुसार निकालिएको हो ।

रथयात्रामा स्थानीयवासी, भक्तजन तथा विभिन्न समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो । परम्परागत रूपमा सजाइएको रथसहित स्थानीय बाजागाजा, भजनमण्डली, नेवार समुदायका परम्परागत नाच, मगर समुदायको मौलिक भेषभूषा तथा विभिन्न झाँकीले जात्रालाई थप आकर्षक बनाएका थिए । भजनकीर्तन गाउँदै, बाजागाजाको तालमा रमाउँदै भक्तजनहरूले पुर्तिघाट बजारको परिक्रमा गरेका थिए । रथयात्राका क्रममा सहभागीहरूले भगवान् श्रीकृष्णप्रति श्रद्धा प्रकट गर्दै भोग तथा प्रसाद ग्रहण गरेका थिए । धार्मिक आस्था, सांस्कृतिक विविधता र सामुदायिक एकताको प्रतीकका रूपमा रहेको यस जात्रामा स्थानीय मौलिक कला, संस्कृति र परम्पराको समेत प्रदर्शन गरिएको थियो । बजार परिक्रमा सम्पन्न भएपछि रथलाई कृष्ण मन्दिरमा पुर्‍याएर विधिपूर्वक विसर्जन गरिएको स्थानीय युवा प्रज्ञान श्रेष्ठले बताए ।

परापूर्वकालदेखि निरन्तर सञ्चालन हुँदै आएको राधाकृष्ण रथयात्राले पुर्तिघाट क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पुस्तौंदेखि चल्दै आएको यस परम्पराले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, धार्मिक मान्यता र सामाजिक सद्भावसँग जोड्नसमेत सहयोग पुर्‍याउँदै आएको स्थानीयवासीको विश्वास छ । विभिन्न जातजाति र समुदायका मौलिक संस्कृति, भेषभूषा, बाजागाजा तथा नाचगानको सहभागिताले पुर्तिघाटको रथयात्रा धार्मिक उत्सवमा मात्र सीमित नभई आपसी सद्भाव र सांस्कृतिक सहअस्तित्वको उदाहरण समेत बनेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update