पाल्पा, बालबालिकाको अधिकार सुनिश्चित गर्ने, उनीहरूको संरक्षण र विकासमा जोड दिने तथा बालमैत्री समाज निर्माणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व बाल दिवस मनाइँदै छ । हरेक वर्ष नोभेम्बर २० तारिखका दिन संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
सन् १९५४ देखि मनाउन थालिएको यस दिवसले बालबालिकाको हक, हित र अधिकारप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको थियो । यस वर्ष विश्व बाल दिवसको अन्तर्राष्ट्रिय नारा ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ रहेको छ । यस नाराले बालबालिकालाई आफ्ना विचार, भावना र भविष्यका आकांक्षा व्यक्त गर्ने अवसर दिनुका साथै उनीहरूको आवाजलाई सम्मान गर्नुपर्ने सन्देश दिएको छ । बालबालिका राष्ट्रका भविष्य मात्र नभई वर्तमानका महत्वपूर्ण हिस्सा पनि हुन् । उनीहरूलाई शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण, सहभागिता र मनोरञ्जनको अधिकार सुनिश्चित गर्नु राज्य, परिवार र समाज सबैको दायित्व हो। बालबालिकाको सर्वाङ्गीण विकासका लागि सुरक्षित वातावरण निर्माण गर्नुका साथै उनीहरूमाथि हुने हिंसा, दुव्र्यवहार, शोषण, बालश्रम, बालविवाह र विभेदको अन्त्य गर्न आवश्यक छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । बालबालिकालाई नामकरण र जन्मदर्ता, शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद तथा मनोरञ्जनको अधिकार सुनिश्चित गरिएको छ । तर अझै पनि कतिपय बालबालिका गरिबी, अशिक्षा, कुपोषण, बालश्रम, हिंसा र विभिन्न प्रकारका विभेदको जोखिममा छन् । बाल अधिकार सम्बन्धिका अन्य प्रतिबद्धताहरूको समूचित कार्यान्वयन हुन सकेको छैन ।
बालअधिकार संरक्षण, प्रवद्र्धन र परिपूर्तिको सन्दर्भमा नेपाल सरकारले अधिकारप्राप्त निकायहरुबाट प्राप्त गरेका सिफारिसहरुलाई समयमै कार्यन्वयन गर्न सकेको छैन । बालबालिकाको क्षेत्रमाकाम गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई दिवसका दिन भ्याइ–नभ्याई नै हुने गरेको छ । तर बालबालिकाको विकास, सहभागिता र बाल अधिकार संरक्षण कागज र नारामै सीमित छ । उचितस्याहार सुसार, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत बाल अधिकार पनि बालबालिकाले पाउनसकेका छैनन् । बाल अधिकार हनन् हुन नदिने तीनै तहका सरकारका योजना कार्यान्वयन नहुँदा बालश्रम कायमै छ । सडक बालबालिकाको उद्धार र पुर्नस्थापना पनि कागजमै सीमित छ । बालबालिकामाथि हुने विभिन्न घटना तथा हिंसा अझै पनि उस्तै छन् । सरकारले अहिलेसम्म बालबालिकाको क्षेत्रमा कुनै पनि खास अध्ययन अनुसन्धान गरेको पाईदैन । बरु उसले प्रत्येक वर्ष सार्वजनिक सञ्चार माध्ययममा आएका घटना समेटेर सार्वजनिक गर्दै आइरहेको छ । सरकारी तथ्याड्ढ भन्दा धेरै घटना भने अझै समाजबाट बाहिर आउन सकेका छैनन् । तर पनि सार्वजनिक भएका तथ्याड्ढलाई हेर्दा चिन्ताजनक अवस्था रहेको पाइन्छ । बालश्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बेचविखन तथा ओसार(प्रसार, कुपोषण, गर्भपतन, आत्महत्या, अपहरण र शारीरिक सजाय जस्ता बालबालिकासम्बन्धी घटनाहरु हुने गर्दछन् । दिवसले बालबालिकाका अधिकारका विषयमा औपचारिक चर्चा गर्ने मात्र नभई उनीहरूको वास्तविक अवस्था पहिचान गरी समस्या समाधानका लागि व्यवहारमै पहल गर्नुपर्ने आवश्यकता औँल्याएको छ । बालबालिकालाई आफ्ना कुरा राख्न, निर्णय प्रक्रियामा सहभागी हुन र आफ्नो रुचिअनुसार प्रतिभा विकास गर्न सक्ने वातावरण तयार गर्नु आवश्यक छ । बालबालिकाको सुरक्षित, सम्मानजनक र अवसरयुक्त भविष्य निर्माण गर्नु सबैको साझा जिम्मेवारी हो । उनीहरूको अधिकारको सम्मान गर्दै हिंसारहित, विभेदरहित र बालमैत्री समाज निर्माण गर्न सके मात्र विश्व बाल दिवसको सार्थकता पुष्टि हुनेछ ।


