पाल्पा, आज विश्व शौचालय दिवस । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी शौचालय दिवस मनाइँदै छ । शौचालय र यसको महत्व सबैसामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ ।संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।
विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो ।
शौचालय मानव स्वास्थ्य, सरसफाइ र वातावरण संरक्षणसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता हो । सुरक्षित शौचालयको अभावमा खुला दिसापिसाब गर्नुपर्ने अवस्था सिर्जना हुँदा विभिन्न सरुवा रोग फैलिने, खानेपानीका स्रोत दूषित हुने र वातावरणीय प्रदूषण बढ्ने जोखिम रहन्छ । त्यसैले शौचालयको उपलब्धता मात्र नभई यसको सरसफाइ, सुरक्षित प्रयोग, नियमित मर्मतसम्भार र दिसाजन्य फोहोरको उचित व्यवस्थापन पनि उत्तिकै आवश्यक मानिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर करिब तीन अर्ब ४० करोड मानिस अझै सुरक्षित सरसफाइ सेवाबाट वञ्चित छन् । शौचालयको अभाव वा असुरक्षित प्रयोगको असर महिला तथा बालिकामा बढी पर्ने गरेको छ । विशेषगरी विद्यालय, सार्वजनिक स्थल, स्वास्थ्य संस्था र कार्यस्थलमा सुरक्षित तथा सुविधायुक्त शौचालय नहुँदा उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र सामाजिक सहभागितामा समेत असर पर्ने गरेको छ ।


