पाल्पा, हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पर्व हरिबोधिनी एकादशी आज (शुक्रबार) देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यस अवसरमा घर–घरमा तुलसीको मठ सजाएर भगवान् विष्णुको प्रतीक शालिग्रामसँग तुलसीको विवाह गरिने धार्मिक परम्परा छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशीलाई देवउठनी एकादशी पनि भनिन्छ ।
आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु चार महिनापछि यसै दिन जागा हुने धार्मिक विश्वास रहिआएको छ । यससँगै चतुर्मास व्रतको समापन हुने धार्मिक मान्यता छ । हरिबोधिनी एकादशीका दिन बिहानै उठेर स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने, व्रत बस्ने तथा तुलसीको मठमा दीप प्रज्वलन गर्ने परम्परा छ । यस दिन तुलसी र शालिग्रामको विवाह गरिदिने चलनसमेत रहेको छ । तुलसीलाई भगवान् विष्णुको प्रिय वनस्पतिका रूपमा पूजा गरिन्छ । धार्मिक मान्यताअनुसार तुलसी विवाह गरेमा पुण्य प्राप्त हुने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ । यस दिन तुलसीको मठलाई फूलमाला, तोरण र विभिन्न सामग्रीले सजाएर विधिपूर्वक विवाह गरिन्छ । विवाहमा शालिग्रामलाई भगवान् विष्णुका रूपमा स्थापना गरी तुलसीसँग वैवाहिक संस्कार सम्पन्न गरिन्छ । हरिबोधिनी एकादशीसँगै हिन्दू धर्मावलम्बीका घरमा विवाह, व्रतबन्धलगायतका शुभकार्य सुरु गर्ने धार्मिक परम्परा पनि जोडिएको छ ।
विशेषगरी चतुर्मास अवधिमा रोकिएका शुभकार्य यसपछि सञ्चालन गर्न सकिने धार्मिक विश्वास रहिआएको छ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्व बोकेको यस पर्वले तुलसीको संरक्षण, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक र सामाजिक सद्भावको सन्देशसमेत दिने गरेको छ । हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा–आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता मांगलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी–पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।


