Shittalpati
आजदेखि पाल्पामा ‘सत्यवती मेला’ :  चिच्याएर सत्यवती बज्यैसँग वर मागिदैं

पाल्पा,पाल्पाको ऐतिहासिक तथा धार्मिक ‘सत्यवती मेला’ आजदेखि सुरु भएको छ । तिनाउँ गाउँपालिका –४ सत्यवती ताल क्षेत्रमा रहेको मन्दिरमा मेला सुरु भएको हो ।

हरेक वर्ष कात्तिक पूर्णिमाका दिनदेखि लाग्ने मेलामा सत्यवती बज्यैसँग चिच्याएर वर माग्ने गरिन्छ । चिच्याएर वर मागेमा मनोकामना पुरा हुने जनविश्वासका कारण मेला अवधिभर बज्यैसँग वर माग्ने गरिन्छ । मेला अवलोकन गर्न आउने भक्तजनहरुले सत्यवती बज्यैसँग वर माग्दै छन् । सत्यवती बज्यै देवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन परम्परादेखि नै रहेको छ ।यस वर्ष मंसिर ४  (आज) देखि ८ गतेसम्म सत्यवती मेला आयोजना गरिएको सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । उनले भने “मेलाको लागि आवश्यक प्रवन्ध मिलाई सकिएको ।” मंसिर ४ देखि मेला सुरु हुने भएपनि मंसिर ७ गते राती पूर्णिमा परेकोले ७ र ८ गतेको दिनलाई यो बर्ष पुजाको विशेष दिनका रुपमा लिइएको छ । यो बर्ष विगतका वर्षभन्दा भक्तजनको संख्या बढी हुने अनुमान गरिएको छ । यस वर्ष सत्यवती बजैको दर्शन तथा पूजाआजा गर्न विशेष साइत जुरेकाले गत वर्षभन्दा धेरै भक्तजन सहभागी हुने मन्दिर व्यवस्थापन समितिको अपेक्ष गरेको हो ।

यो बर्षपनि मन्दिर परिसरमा लाइटिङको व्यवस्था तथा ठाउँ-ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिनुका साथै मदिराजन्य पदार्थलाई निषेधित गरिएको छ । परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । साइत जुरेको समयमा सत्यवती बज्यैको दर्शन गरेमा मनको इच्छा पूरा हुने जनविश्वास रहेको छ । विगतका वर्षमा कार्तिक शुक्ला चर्तुदर्शीका दिन भक्तजन सत्यवती बज्यैको मन्दिरमा बास बस्ने, पूजा पाठ गर्ने, बिहान देवीसँग चिच्याएर वर मागी झिसमिसेमै बाटो लाग्ने चलन आजकल परिमार्जित गरिएको हो । केही वर्षदेखि भने कार्तिक शुक्लपक्षको त्रियादशीको दिनदेखि पूर्णिमासम्म रात दिन सत्यवती बज्यैको पूजा पाठ गरी चिच्याएर वर माग्ने गरिएको छ । परापूर्व कालमा सत्यवती बज्यै घना जंगलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । 

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमाको मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गर्दछन् । बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ । यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् ।

सत्यवती बज्यैको नयाँ मन्दिर निर्माण

सत्यवती बज्यैको नयाँ मन्दिर निर्माण भएको छ । पुरानो मन्दिर जीर्ण भएकाले गाउँपालिकाको सहयोगमा मन्दिर विकास समितिले नयाँ मन्दिर निर्माण गरेको हो । ६५ लाख रुपैयाँभन्दा बढी लागतमा तीनतले मन्दिर निर्माण गरिएको मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष गाहाले बताए । मन्दिर निर्माण सम्पन्न भएसँगै यस वर्ष कात्तिके पूर्णिमाको अवसरमा लाग्ने सत्यवती मेलामा आउने भक्तजनले नयाँ मन्दिरमा पूजा गर्न पाउने उनले बताए । मन्दिर निर्माणमा गाउँपालिका र मन्दिर समितिको गरी ६५ लाख ५८ हजार रुपैयाँभन्दा बढी खर्च भएको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।  “पुरानो मन्दिर धेरै जीर्ण र सानो थियो,” उनले भने, “मन्दिर सत्यवती ताल क्षेत्रको गुरुयोजनाअनुसार नै बनेको छ ।” यसैगरी सत्यवती तालसम्म पुग्ने झुम्सा–गोबरबन्दी सडकको ग्राभेल तथा स्तरोन्नतिको काम समेत भएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update