Shittalpati
हरिबोधिनी एकादशी : स्नान, पूजा र भजनकीर्तनले गुञ्जिए कालीगण्डकीका घाट

पाल्पा, हरिबोधिनी एकादशीका अवसरमा कालीगण्डकी नदीका विभिन्न घाटमा शुक्रबार बिहानैदेखि भक्तजनको चहलपहल बढेको थियो । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वमा नदीमा स्नान गर्ने, भगवान् विष्णुको पूजा–आराधना गर्ने तथा भजनकीर्तनमा सहभागी हुने भक्तजनको भीडले कालीगण्डकी नदीका घाटहरु गुञ्जिएका थिए ।

पाल्पा र स्याङ्जाको सीमाक्षेत्र भएर बग्ने कालीगण्डकी नदीका रानीघाट, राम्दी, रिडी लगायतका विभिन्न घाटमा बिहानैदेखि श्रद्धालुहरूको उपस्थिति बाक्लिएको थियो । कतिपय भक्तजन टाढाटाढाबाट पैदल तथा सवारीसाधनमार्फत नदी किनारमा पुगेर स्नान तथा पूजाआजामा सहभागी भएका थिए । नदी किनारमा भजनकीर्तन र धार्मिक अनुष्ठानले पर्वको रौनक थपिएको थियो ।शुक्रबार विहानै यहाँका घाटहरुमा कोही नदीमा स्नान गर्दै थिए, कोही भगवान् विष्णुको पूजा र आराधनामा तल्लीन थिए त कोही नदी किनारमा तोरण तार्दै मनोकामना पूरा हुने विश्वासका साथ धार्मिक कर्ममा जुटेका थिए । श्रद्धालुको भीड लागेपछि आसपासका क्षेत्रसमेत मेलामय बनेका थिए । कतिपय भक्तजन रातिदेखि नै घाटमा पुगेर स्नान तथा पूजाआजाको तयारीमा जुटेका थिए । हरिबोधिनी एकादशीका दिन कालीगण्डकीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने र नदी किनारमा तोरण तार्ने यहाँको पुरानो धार्मिक परम्परा हो । व्रत बसेर कालीगण्डकीमा स्नान तथा पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष यस दिन यहाँ श्रद्धालुको घुइँचो लाग्ने गरेको छ ।पाल्पाको राम्दी, रुरुक्षेत्र रिडी, रानीमहलस्थित  रानीघाट,  रामपुर नगरपालिकाअन्तर्गत केलादी र खोरियाघाट, रम्भा गाउँपालिकाको हुँगीघाट तथा उत्तरवाहिनीलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, कास्की, नवलपरासी र तनहुँलगायत जिल्लाबाट श्रद्धालुहरू मेला भर्न आएका थिए । कालीगण्डकीमा आई स्नान गरेर पूजा गर्दा मनोकामना पूरा हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ स्नान गर्न आएको राम्दी घाटमा भेटिएकी रम्भा गाउँपालिका –२ की राधिका घिमिरेले बताइन् ।  उनले भनिन् “ धार्मिक आस्था बोकर हरेक वर्षा यहाँ आउने गरेका छौं ।”
 रामपुरमा सार्वजनिक विदा 
रामपुर नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । पालिकाले प्रत्येक वर्ष हरिबोधिनी एकादशीमा पालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ । रामपुरमा पर्ने कालीगण्डकी नदि तटमा विशेष मेला लाग्ने भएकाले एक दिन विदा दिइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमनप्रकाश पोखरेलले बताए । मेलामा सुन्तला, सुपो, डोको, माटाका भाँडा, तरुल, सखरखण्डलगायत स्थानीय उत्पादनको कारोबार भएको थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update