पाल्पा, विश्वभर आज (शनिबार) विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सूचना, सञ्चार, शिक्षा र मनोरञ्जनको महत्वपूर्ण माध्यमका रूपमा टेलिभिजनको भूमिका र योगदानलाई स्मरण गर्दै हरेक वर्ष नोभेम्बर २१ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ डिसेम्बर १७ मा नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९९६ नोभेम्बर २१ र २२ मा संयुक्त राष्ट्रसंघको आयोजनामा पहिलो विश्व टेलिभिजन मञ्च आयोजना गरिएको थियो । सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
टेलिभिजनलाई विश्वभरका मानिसलाई सूचना र जानकारी प्रदान गर्ने प्रभावकारी सञ्चार माध्यमका रूपमा लिइन्छ । यसले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विषयलाई जनसमक्ष पु¥याउनुका साथै विश्वका विभिन्न घटनाक्रमबारे नागरिकलाई सुसूचित गराउँदै आएको छ । शिक्षा, जनचेतना अभिवृद्धि र सांस्कृतिक आदानप्रदानमा समेत टेलिभिजनको महत्वपूर्ण योगदान रहँदै आएको छ । पछिल्लो समय इन्टरनेट, सामाजिक सञ्जाल र डिजिटल प्रविधिको तीव्र विकाससँगै टेलिभिजन हेर्ने शैलीमा परिवर्तन आएको छ । परम्परागत टेलिभिजनसँगै अनलाइन स्ट्रिमिङ तथा डिजिटल प्लेटफर्मबाट पनि समाचार, सूचना र मनोरञ्जनका सामग्री हेर्ने क्रम बढेको छ ।
दिवसले टेलिभिजनलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी समाजलाई सचेत, शिक्षित र जिम्मेवार बनाउन उपयोग गर्ने आवश्यकतालाई पनि स्मरण गराएको छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाईन्छ । टेलिभिजन च्यानलहरुको स्थापनको संख्या मात्र होईन पछिल्लो समय सर्वसाधारणमा विश्वास समेत बढ्दै गएको छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको थियो । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । श्रव्यसँग सँगै दृश्यको माध्यमबाट यथार्थ रुपमा प्रस्तुत गर्न टेलिभिजन सफल भएसँगै छोटो समयमा ख्याती कमाउन सफल भएको मानिन्छ । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ विश्व जगतमा भन्दा निकै ढिला गरी नेपालमा सुरु भएको टेलिभिजन अहिले हरेक समूदायमा लोकप्रिय सञ्चार माध्यमका रुपमा परिचित छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो ।


