पाल्पा, पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ पैठेडाँडाबाट हेल्मेटभित्र लुकाएर लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । प्रहरीले शनिबार पैठेडाँडास्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित युवकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले बुटवलबाट बागलुङतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०२–००१ प १०४६ नम्बरको स्कुटरलाई रोकेर जाँच गरेको थियो । मुस्कान छम्त्यालले लगाएको हेल्मेटभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषधजस्तो देखिने विभिन्न तीन प्रकारका औषधि फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार हेल्मेटभित्र लुकाएर ल्याइएको अवस्थामा डाइजेपाम १० एम्पुल, फेनरागन १० एम्पुल र बुफिन १० एम्पुल गरी जम्मा ३० एम्पुल बरामद गरिएको हो ।
सामान्य सुरक्षा जाँचबाट उम्किन हेल्मेटभित्रै लागुऔषध लुकाएर लैजाने प्रयास गरेको अवस्थामा ती सामग्री फेला परेका हुन् । बरामद सामग्रीसहित पक्राउ परेका छम्त्याललाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ । प्रहरीले उनलाई पाल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।पछिल्लो समय लागुऔषधको ओसारपसार तथा दुरुपयोग नियन्त्रण गर्न प्रहरीले राजमार्ग र विभिन्न नाकामा निगरानी तथा सवारीसाधन चेकजाँचलाई प्राथमिकता दिँदै आएको छ । सोही क्रममा गरिएको चेकजाँचबाट हेल्मेटभित्र लुकाएर ल्याइएको शंकास्पद औषधि फेला परेको प्रहरीले जनाएको छ ।


