Shittalpati
पाल्पाको पर्यटन पवर्धन  र सम्पदाको खोजीमा दुई सय साइकलयात्री

पाल्पा, पाल्पाका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको अवलोकन गर्दै तिनको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यसहित मेचीदेखि महाकालीसम्मका करिब दुई सय साइकलयात्री पूर्वी पाल्पाको यात्रामा निस्किएका छन् । साइकलका पाङ्ग्रासँगै पर्यटन पवर्धन को सन्देश बोकेर शनिबार बिहान तानसेनबाट सुरु भएको यात्रा पूर्वखोला र निस्दीका पर्यटकीय गन्तव्य हुँदै रामपुरमा पुगेर टुङ्गिनेछ ।

पर्यटकीय सम्भावना बोकेर पनि पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेका सम्पदालाई चिनाउने उद्देश्यले पाल्पा साइकलिङ संघले दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा) २०८३’ आयोजना गरेको हो । यात्रामा विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहसहित देशका विभिन्न जिल्ला र विदेशबाट आएका साइकलयात्री सहभागी छन् । कुनै ठाउँको सुन्दरता हेर्न मात्र होइन, त्यहाँको इतिहास, संस्कृति र जीवनशैली बुझ्न पनि यात्रा महत्वपूर्ण हुने भएकाले यसपटक पूर्वी पाल्पाका गन्तव्यलाई प्राथमिकतामा राखिएको आयोजकको भनाइ छ । तानसेनका पुराना बस्ती, ऐतिहासिक दरबार र धार्मिक स्थल हुँदै ग्रामीण क्षेत्रका प्राकृतिक सम्पदासम्म पुग्ने यात्राले पाल्पाको पर्यटनलाई नयाँ ढङ्गले चिनाउने अपेक्षा गरिएको छ । 

संघका अध्यक्ष रुपेश महर्जनका अनुसार जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एकआपसमा जोड्दै तिनको प्रचारप्रसार गर्ने उद्देश्यले यात्रा आयोजना गरिएको हो । पर्याप्त प्रचारको अभावमा ओझेलमा परेका सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन साइकल यात्राले सहयोग पुग्ने उनले बताए । यात्रामा दुई जना विदेशी, जिल्ला बाहिरका १५० जना र पाल्पाभित्रका ५० जना साइकलयात्री सहभागी भएका छन् । शनिबार बिहान ८ बजे तानसेन दरबार परिसरबाट सुरु भएको यात्रामा सहभागीलाई टीका लगाएर बिदाइ गरिएको थियो । पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाले झण्डा उठाएर यात्राको शुभारम्भ गरेका थिए । उनले पाल्पामा पर्यटकीय सम्भावना बोकेका धेरै स्थल रहेकाले तिनको प्रचारप्रसार र आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए । 

‘पाल्पामा पर्यटकीय सम्भावना बोकेका थुप्रै स्थल छन् । तिनको प्रचारप्रसार र आवश्यक पूर्वाधार निर्माणमा सरकारले काम गरिरहेको छ,’ उनले भने, ‘साइकल यात्राले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएका छौँ ।’ उनले पर्यटकीय स्थललाई जोडेर पाल्पामा व्यावसायिक साइकल यात्राको सम्भावना रहेको पनि उल्लेख गरे । यात्राको पहिलो दिन साइकलयात्रीले तानसेनका नारायण टोल, असन टोल, तानसेन दरबार र भगवती मन्दिरको अवलोकन गर्दै आर्यभञ्ज्याङ, चिदिपानी, हुमिन तथा पूर्वखोला गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रको यात्रा गर्ने कार्यक्रम छ । त्यहाँबाट निस्दी गाउँपालिकास्थित अमरिसो बगान क्षेत्र काउलेडाँडा पुगेर पहिलो दिनको यात्रा विश्राम हुनेछ । दोस्रो दिन मंसिर ६ गते बिहान काउलेडाँडाका पर्यटकीय क्षेत्रको अवलोकनपछि किर्तिपुर हुँदै रामपुर नगरपालिकासम्म साइकल यात्रा गरिने संघका सदस्य शान्तम थैवले जानकारी दिए । यस यात्राले पूर्वी पाल्पाका ग्रामीण बस्ती, प्राकृतिक दृश्य र स्थानीय पर्यटनको सम्भावनालाई बाहिर ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

संघका महासचिव विज्ञान बज्राचार्यका अनुसार यात्रामा ११ जना महिला र १८९ जना पुरुष गरी कुल दुई सय जनाको सहभागिता छ । सहभागीको उमेर १६ देखि ६१ वर्षसम्म रहेको छ । कार्यक्रम सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । पाल्पा साइकलिङ संघले यसअघि पनि जिल्लाका सम्पदालाई साइकल यात्रामार्फत चिनाउने अभियान सञ्चालन गर्दै आएको छ । संघले २०७९ मा पहिलो संस्करणअन्तर्गत तानसेन र पश्चिम पाल्पाका सम्पदालाई समेटेर यात्रा आयोजना गरेको थियो । दोस्रो संस्करण २०८२ मा ‘सम्पदा यात्रा’ मूल नारासहित तानसेन दरबारदेखि रामनिहल दरबारसम्म प्रतिस्पर्धात्मक साइकल यात्रा सञ्चालन गरिएको थियो । तेस्रो संस्करणमा भने पश्चिम पाल्पापछि पूर्वी पाल्पाका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यलाई यात्राको केन्द्र बनाइएको छ । साइकलका माध्यमबाट गाउँबस्तीका सम्पदा, संस्कृति र प्राकृतिक सौन्दर्यलाई जोड्ने यो प्रयासले पाल्पालाई पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update