पाल्पा ,आज पाल्पाको रैनादेवीमा देवीलाई नयाँ धान चामल चढाएर न्वागी पर्व मनाइँदै छ । परम्परा देखी नै पाल्पा, पुर्वी अर्घाखाँची, दक्षिण गुल्मीका जनताले रैनादेवी भगवतीलाई प्रत्येक बर्ष नयाँ धानको चामल चढाएर मात्र खाने दिनलाई न्वागी पर्वको रुपमा मनाउने प्रचलन रहँदै आएको छ । यो बर्षको न्वागी आज परेको छ ।
यस क्षेत्रका जनताले परापुर्वकाल देखी नै देवीलाई धान चामल चढाउने, पुजा पाठ गर्ने, स्तुती गान गर्ने र सोही राती देखी नै देवी मन्दिर परिसरमा आ–आफ्नो जात जातीको कलासंस्कृती प्रस्तुती गरी देवीलाई खुसी पार्ने चलन रहेको रैनादेवी मन्दिर व्यबस्थापन समितिका अध्यक्ष भुपाल सिंह खाँम्चाले बताए । रैनादेवीलाई नयाँ धान प्रयोगमा ल्याएमा सो घरमा अनिष्ट हुने जनविश्वास स्वरुप पश्चिम पाल्पाका जनताले परम्पराकाल देखि नै न्वागी पर्वलाई उत्सवको रुपमा मनाउँदै आएका छन् । न्वागी पर्व पश्चिम पाल्पाकै धार्मिक आस्थासँगै मौलिक संस्कृती, जीवन पद्धती, कृषक तथा कलासंस्कृतीसँग गासिएको छ । पर्वको अवसरमा गाउँपालिकाबाट नव निर्मित कालीका मन्दिरको उद्घाटन समेत गरिने मन्दिर व्यवस्थपन समिातीका अध्यक्ष खाँम्चाले बताए । न्वागी पर्वको अवसर पारेर रैनादेवी छहरा गाउँपालिका ३ नं. वडा कार्यालय र रैनादेवी मन्दिर व्यबस्थापन समितीले, रैनादेवी मन्दिर परिसरमा आएका भक्तजन तथा अतिथीहरुलाई, नयाँ धानको दही र चामल खुवाउने, मौलिक कला संस्कृतिको प्रस्तुती र राष्ट्रिय तथा स्थानीय कलाकार सहितको २ दिने न्वागी मेला राखिएको वडा अध्यक्ष प्रदिप पौडेलले जानकारी दिए ।
रैनादेवी मन्दिर परिसरमा मंसिर ५ गते रातीदेखी नै लोपोन्मुख पञ्चेवाजा, सोरठी, मालश्री, ठूलो नाचँ, रत्यौली, झाम्रे चुडका, लाखे, कौडा मारुनी, जस्ता बभिन्न जात जातीका स्थानीय मौलिक कला संस्कृती प्रस्तुती रहने र ६ गते राष्ट्रिय कलाकार, खुमन अधिकारी, गणेश अधिकारी, विधान कार्की, कोपिला न्यौपाने, अरुषी मगर, राजन थापा, र चन्द्रमणी पौडेल लगायतको प्रस्तुती रहेको वडा अध्यक्ष पौडेलले बताए । पालिका भित्रका ८ वटै वडा तहका धार्मिक आस्था संगै कला संस्कृती जर्गेना गर्ने स्थानीय कलासंस्कृतीलाई प्रोत्साहन गर्ने, मन्दिर क्षेत्रमा खानेपानी, शौचालयहरु, बस्ने प्रतिक्षालय लगायतका पुर्वाधार निर्माणका काममा पालिकाले निरन्तर सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष भट्टराईले बताए । रैनादेवीको विषयमा अनौठो परम्परागत मान्यता रहेको छ । हालको रैनादेवी मन्दिर भएको जंगलमा न्यौपाने बाहुनले गाई पालन गर्दै आएका थिए । गाईले दैनिक रुपमा दुध नदिएपछि, न्यौपाने बाहुन र छहरी मगरले गाईको पिछा गर्दै जंगलमा गए । जंगलको विचमा सुनको मौलोमा दुध चढाईरहेको देखे पछी दुवै जनाले सुनको मौलो खन्दै जादा तल तल भासिदै गयो । सुनरुपी मौलोको टाउको भाचेर भएपनि लैजान कोदालोको पासोले हान्दा रगताम्य भई रुदै देवी उत्पन्न भएको भनाई रहेको छ । रोईन देवी, रोईन देवी, भन्दा भन्दै अपभंश भई रैनादेवी हुन गएको बुढापाकको भनाई रहेको छ । देवी भागेर अन्य स्थान जादै गर्दा दर्लामी र सोमै मगरले रोकी पुजाआजा शुरु गरेको भनाई रहदै आएको छ । भुवनपोखरीको अग्लो डाडाको टुप्पोमा रहेको रैनादेवी मन्दिरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छूे लगायतका दर्जनौ हिमालहरुको साथै पाल्पा, गुल्मी, अर्घाखाँचीका विभिन्न स्थानहरुको मनमोहक दृश्यहरु अवलोकन गर्न सकिन्छ ।


