नारायणी शर्मा
बहुमुखी प्रतिभाका धनी व्यक्तित्व पुष्कर अथक रेग्मीले नेपाली साहित्यका सबैजसो विधाहरूमा सफलतापूर्वक कलम चलाउँदै आएका छन् । स्थानीयदेखि राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूमा साहित्य, शिक्षा र समसामयिक विषयवस्तुमा समीक्षात्मक लेख तथा रचनाहरू प्रकाशित गर्दै आएका प्रयोगवादी धाराका साहित्यकार रेग्मीले गीति उपन्यास अफसोस (२०५७), अस्तित्व (२०८०)प्रकाशित गरी अमरामृत ( २०८२) प्रकाशित गरेका छन् भने उनको जम्माजम्मी प्रकाशित कृति संख्या २८ वटा रहेको छ ।नेपाली साहित्यमा ऐतिहासिक उपन्यास लेखनको परम्परालाई आत्मसात् गरी उपन्यासकार पुष्कर अथक रेग्मीले ऐतिहासिक उपन्यास ‘अमरामृत’ प्रकाशन गरेका हुन् । रेग्मीको यो उपन्यास नेपालको राणाकालीन शासन व्यवस्था, दरबारभित्रको षड्यन्त्र, पारिवारिक द्वन्द्व, सामाजिक तथा धार्मिक अवस्था, तत्कालीन राजनीतिक क्रियाकलाप , प्रेम, समर्पण , स्मृति र आध्यात्मिक चिन्तनका रूपमा प्रस्तुत भएको छ । ऐतिहासिक घटनाक्रमअनुसार उपन्यासमा प्रधानमन्त्री जंगबहादुर राणादेखि खडकशमशेर जबराको मृत्युसम्मका घटना समेटिएका छन् । समग्रमा भन्नुपर्दा उपन्यास पाल्पा गौडाका तात्कालिन प्रमुख खड्गशम्सेर जबराको जीववृतमा आधारित छ । बालनरसिंह कुँवरकी कान्छी पत्नी गणेशकुमारीले अर्घाखाँचीको मथुरा जंगलमा सात महिनामै जंगबहादुर कुँवरलाई जन्म दिएसँगै उपन्यासको कथा सुरु हुन्छ । बाल्यकालदेखि नै जंगबहादुर अनौठो लक्षण , हक्की स्वभावका सौखिन हुदै निडरतापूर्वक साहसिक कार्य गर्दै जाँदा एक दिन नेपालको प्रधानमन्त्री बन्न सफल हुन्छन् । किन र कसरी उनी प्रधानमन्त्री बन्छन्, ती घटनाक्रम पनि उपन्यासभित्र समेटिएका छन् । भण्डारखाल पर्वपछि उनी झन् शक्तिशाली हुन्छन् । दरबारमा किचलो भइरहन्छ। उनी विदेश पनि जान्छन् । बेलायत भ्रमण गरेर फर्कन्छन् । उनको हत्या गर्ने योजना बन्छ; तर उनी त्यसबाट पनि बच्छन् र विरोधी भाइहरूलाई पन्छाउदै शक्तिशाली प्रधानमन्त्री बनिरहन्छन् ।

समयको क्रमसँगै उनका ४२ वटा रानी हुन्छन् । अन्ततः शक्तिशाली जंगबहादुर कुँवर निरीह अवस्थामा सिकार खेल्न जाँदा स्वर्गवासी हुन्छन् । जंगबहादुर कुँवरको मृत्युपश्चात् नेपाल दरबारमा त्रिकोणात्मक द्वन्द्व सुरु हुन्छ। नेपाल दरबारमा रणोद्दीपसिंह,जगतज र धीरशमशेरबीच खिचातानी हुन्छ । शक्तिको लागि हानाथाप हुन्छ । अचानक धीरशमशेरको मृत्यु हुन्छ। धीरशमशेरको मृत्युपछि उनका सत्र भाइ छोराहरू निरीहजस्ता देखिन्छन् । जगतजंगको बोलबाला र शक्ति बढ्दै जादा यो कुरा खडकशमशेर, डम्बरशमशेर,वीरशम्सेर लगायत धीरशमशेरका पुत्रहरूलाई सह्य हुँदैन। खड्गशम्सेरले आफ्नै काका प्रधानमन्त्री रणोद्दीपसिंहको हत्या गर्छन् । जगतजंग लगायत धेरै जंग खलकको हत्या हुन्छ ।हत्याका मुख्य योजनाकार खडकशमशेर भएतापनि श्री ३ को पगरी लगाइ प्रधानमन्त्री भने वीरशम्सेर हुन्छन् ।वीरशम्सेर भाइ खडगशम्सेरसंग डराइ षडयन्त्रको तानाबाना बुनी भाइ खडगलाई उपत्यका बाहिर निर्वासनमा पठाउँछन् । अर्घाखाँचीको ठाडा बनमा खडगले दुर्दिन भोग्दै जान्छन। केही वर्ष ठाडामा बसेपछि उनी पाल्पा गौँडा पठाइन्छन्। पाल्पा गौँडामा आएपछि पारिवारिक रूपमा उनलाई केही सन्तोष र शान्ति मिल्छ। पाल्पामा उनले विभिन्न विकास निर्माणका योजनाहरू पनि लागू गर्छन्। आफ्नी प्यारी कान्छी रानी तेजकुमारीलाई औधी माया गर्ने खडकशमशेरले एक दिन रानीलाई गुमाउँछन् । रानीको इच्छाबमोजिम उनले रानीकै स्मृतिमा कालीगण्डकीको तीरमा ‘रानीमहल’ बनाउँछन्। रानीमहल किन, कस्तो र कसरी बनाइयो ? कालीगण्डकीको महात्म्य के छ ? घटनाक्रम के हो? भन्ने जस्ता कुराहरू ‘अमरामृत’ उपन्यासभित्र लेखकले सुन्दरदर क्रमबद्ध ढङ्गले पस्केका छन् । उपन्यासभित्र नाभीदर्शिनी शीर्षकमा खडकशम्सेर र तेजकुमारीको प्रथम भेट र प्रेमालाप देखाइएको छ । कालीगण्डकी किनार र रानीको मृत्यु पछिको कल्पनामा समेत रोमाञ्चक प्रेमालाप रहेका छन् ।
पाल्पामा रहँदा बस्दा खडक शमशेरले लुम्बिनीको उत्खनन गरी अशोक स्तम्भ पत्ता लगाउँछन् र नेपाललाई विश्वसामु चिनाउँछन्। वीर शमशेरको मृत्युपछि चन्द्र शमशेर नेपालका प्रधानमन्त्री हुन्छन् । यो खबर सुनेपछि खडक शमशेर मुर्मुरिन्छन् र चन्द्र शमशेरविरुद्ध षड्यन्त्र रच्न लाग्छन् । चतुर चन्द्र शमशेरले खडक शमशेरलाई कार्वाही गर्ने गोप्य योजना थाहा पाएर उनी पाल्पा छाडेर भाग्छन् । उनलाई नेपालको सिमानामा बस्न दिइँदैन । त्यसपछि उनी भारत पुग्छन् र सागरमा बसोबास गर्छन्।पछि खडक शमशेरका छोराछोरीहरू पनि त्यहीँ पुग्छन् । जेठी रानी नन्दकुमारी पनि त्यहीँ पुग्छिन् र उनीहरू सबैले आफ्नो बाँकी जीवन त्यहीँ बिताउँछन् । उनले आफ्नो इच्छा र सोखअनुसार सागरमा बस्दा पनि नेपाली शानका साथ एक दरबार बनाउँछन्, जसलाई ‘नेपाल दरबार’ भनियो । उनको जीवनको उत्तराद्र्धतिर चन्द्र शमशेरसँग एकपटक भेटघाट पनि हुन्छ। चन्द्र शमशेरले आफूलाई कुनै खतरा नहुने ठानी खडक शमशेरलाई नेपाल फर्कन अनुरोध गर्छन्, तर खडक शमशेर जान मान्दैनन्। त्यसपछि चन्द्र शमशेरले खडक शमशेर लगायत उनका सम्पूर्ण परिवारलाई राजकीय सुविधा प्रदान गर्छन्। खडक शमशेरले आफ्नो जीवनको बाँकी समय धर्मकर्ममा बिताउँदै रामायण, महाभारत र गीताको अध्ययन गर्छन्, बुद्ध दर्शनबाट ज्ञानार्जन गर्छन् र नेपोलियन बोनापार्टको जीवनी पुनः पढेर सबै कुरा गहिरोसँग आत्मसात् गर्छन् । प्रारब्ध (भाग्य) को खेललाई पनि उनले राम्ररी मनन गर्छन् । उनको जीवनको अन्तिम समय आइसकेको थियो। त्यस बेला उनी आफ्ना माता(पिता, जंगबहादुर राणा, वीर शमशेर, चन्द्र शमशेर, जगतजंग तथा काका रणदीप सिंह–सबैलाई सम्झन्छन् र उनीहरूसँग मौन रूपमा मानसिक संवाद गर्छन्। उनी रानीमहल, लुम्बिनी र नेपाल दरबार–सबैसँग कुराकानी गर्छन्। त्यही बेला उनको आँखामार्फत प्रिय रानी तेजकुमारीको स्मृति झलझली आउँछ। तेजकुमारीसँग संवाद गर्दै जाँदा–जाँदै अन्ततः उनको प्राणपखेरु उड्छ।
यसरी, खडक शमशेरको जन्मदेखि मृत्युसम्मको कथावस्तुलाई समेटेर ऐतिहासिक उपन्यास ‘अमरामृत’ लेखक पुष्कर अथक रेग्मीद्वारा तयार पारिएको हो। यस उपन्यासमा खडक शमशेर पूर्वका विषय प्रसंगहरू पनि समेटिएका छन् । यसमा जङ्ग बहादुर र रणोद्दीपसँग जोडिएका घटनाहरू, पाल्पा–अर्घाखाँची क्षेत्रका कथा, रानीमहलको वर्णन, कालीगण्डकीको महात्म्य, दरबारभित्रका क्रियाकलापहरू, हत्या, हिंसा र षड्यन्त्रका गन्धहरूकासाथै दरबारभित्रका सुसारे र मैयाहरूको चर्तिकलालाई समेत उजागर गरिएको छ। उपन्यास खडगशम्सेरको जीवनमा आधारित भएतापनि यसभित्र रानी तेजकुमारी र रानी नन्दकुमारीको कथा छ । जंगबहादुरको बाल्यकालको कथा छ । राजा राजेन्द्र सुरेन्द्र र गीर्वाणको कथा छ । राजमाताको कथा छ । दिदीबहिनी र सौतासौतिको कथा छ । दाजुभाइ मुटु खाइ भन्ने उखान चरितार्थ भएको कथा छ । समग्रमा भन्नुपर्दा नेपालको इतिहासको कथा छ । यस प्रकारले नेपाली इतिहासको ऐतिहासिक कथाक्रमलाई आख्यानात्मक शैलीमा र सरल ढंगले प्रस्तुत गर्दै लेखक पुष्कर ‘अथक’ रेग्मीले यसलाई केवल एक सामान्य उपन्यास मात्र नबनाई तथ्य कथ्य सहितको ऐतिहासिक उपन्यास बनाएका छन् । सम्बादहरू समेत सशक्त उठान गरेका छन् । मैले उपन्यास प्राप्त गरेपछि एकसुरले एकपटक पढेर यी कुराहरू कथासारको रूपमा लेखेकी हुँ । आगामी दिनमा उपन्यासको अझ गहन अध्ययन गरेर अझ विशिष्ट किसिमले चर्चा गर्ने प्रयास हुनेछ । उपन्यासलाई मूल कथातत्वको आधारमा , सम्वादको आधारमा , रसहरूको आधारमा, उपकथाहरूको आधारमा , लघुकाव्य प्रयोगको आधारमा लगायत विभिन्न दृष्टिकोणबाट अध्ययन गरी समालोचना गर्न सकिन्छ । खड्गशम्सेर र रानी तेजकुमारीको अमर प्रेम कथा सहित रानीमहलबारे चासो राख्ने सबैका लागि उपन्यास अमरामृत अति नै पठनीय कृतिको रूपमा रहेको छ । उपन्यासकार रेग्मीलाई कृतिगत सफलताका लागि शुभकामना ।


