Shittalpati
आज विश्व शहरीकरण दिवस मनाइँदै

पाल्पा, विश्वभर आज अक्टोबर ३१ तारिखका दिन विभिन्न कार्यक्रम गरी विश्व शहरीकरण दिवस मनाइँदैछ । दिगो सहरी विकास, व्यवस्थित बस्ती निर्माण, वातावरणमैत्री सहर तथा सहरी जीवनस्तर सुधारका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।       

तीव्र रूपमा बढिरहेको सहरीकरणसँगै अव्यवस्थित बसोबास, ट्राफिक जाम, वायु प्रदूषण, फोहोरमैला व्यवस्थापन, खानेपानीको अभाव तथा पूर्वाधार विकासजस्ता चुनौती बढ्दै गएका छन् । यस्ता समस्याको समाधान गर्दै सुरक्षित, समावेशी, व्यवस्थित र दिगो सहर निर्माण गर्नुपर्ने आवश्यकतालाई दिवसले जोड दिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०१३ मा अक्टोबर ३१ लाई विश्व शहरीकरण दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसयता विश्वभर विभिन्न कार्यक्रम, छलफल तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरी यो दिवस मनाइँदै आएको छ । नेपालमा पनि तीव्र सहरीकरणसँगै सहरी पूर्वाधार, सडक, ढल निकास, खानेपानी, सरसफाइ, हरियाली क्षेत्र र सार्वजनिक सेवाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।  विशेषगरी योजनाबिनाको बस्ती विस्तार र जनसङ्ख्याको बढ्दो चापले सहरको दिगो विकासमा चुनौती थपेको छ । विश्व शहरीकरण दिवसले सहरलाई केवल भौतिक संरचनाको विकासमा सीमित नराखी नागरिकमैत्री, वातावरणमैत्री, सुरक्षित र आर्थिक रूपमा सबल बनाउनुपर्ने सन्देश दिएको छ। दिगो भविष्यका लागि स्थानीय तह, सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले जोड दिँदै आएका छन् । व्यवस्थित सहरी योजना, प्रभावकारी नीति तथा नागरिक सहभागितामार्फत मात्रै दिगो र बस्नयोग्य सहर निर्माण गर्न सकिने भएकाले यस दिवसले सहरी विकासप्रति सबैको ध्यानाकर्षण गराएको छ ।

साधारणतया ग्रामीण र शहरी भनेर मानिसले बसोबास गर्ने क्षेत्रलाई विभाजन गर्ने प्रचलन छ । तुलनात्मक रूपमा भौतिक सुविधा प्राप्त हुने क्षेत्र शहर हो भने त्यसको विहीनता ग्रामीण क्षेत्र हो । सुरुमा सारा विश्व गाउँ थियो भने अहिले विश्वको शहरीकरण हुँदैछ । नेपालमा पनि शहरीकरणको प्रभाव र परिणाम तीव्ररूपमा देखिन थालेका छन् । २००७ को परिवर्तनपछि शहरीकरणले आकार लिएको भएपनि पछिल्ला दशकमा यसले तीव्रगति लिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update