पाल्पा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो । यहाँका पहाड, वनजङ्गल, ऐतिहासिक स्थल, मठमन्दिर, मौलिक संस्कृति र प्राकृतिक सुन्दरताले पर्यटनको अथाह सम्भावना बोकेका छन् । तर सम्भावना भएर मात्रै पर्यटनको विकास हुँदैन । त्यसका लागि गन्तव्यको पहिचान, प्रचार–प्रसार, पूर्वाधार विकास र पर्यटकलाई आकर्षित गर्ने नवीन कार्यक्रम आवश्यक हुन्छन् । यसै सन्दर्भमा पाल्पामा सम्पन्न दुईदिने ‘पाल्पा हेरिटेज राइड २०८३’ लाई पर्यटन प्रवद्र्धनको एउटा सकारात्मक प्रयासका रूपमा लिन सकिन्छ । तानसेनबाट सुरु भएर निस्दी गाउँपालिकाको झिरुवास, काउलेडाँडा हुँदै रामपुरमा पुगेर समापन भएको साइकल यात्राले पाल्पाका विभिन्न स्थानीय तहमा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रलाई एउटै यात्रामार्फत जोड्ने काम गरेको छ । तानसेन, बगनासकाली, माथागढी, रम्भा, पूर्वखोला, निस्दी र रामपुरका विभिन्न क्षेत्रको अवलोकन गर्दै सम्पन्न यात्रामा देशका विभिन्न स्थान तथा विदेशबाट समेत आएका १८० जना साइकलयात्रीको सहभागिता रहनु आफैँमा उत्साहजनक पक्ष हो ।
विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहसहितको सहभागिताले यस अभियानलाई थप आकर्षक बनाएको छ । पर्यटन प्रवद्र्धनका लागि सधैँ ठूला लगानी र भौतिक संरचना नै आवश्यक हुन्छन् भन्ने छैन । कहिलेकाहीँ यस्ता सिर्जनात्मक अभियानले पनि कुनै क्षेत्रको पहिचान देशविदेशसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् । साइकल यात्रामार्फत पर्यटकले गन्तव्यको दृश्य मात्रै होइन, त्यहाँको जीवनशैली, संस्कृति, रहनसहन, खानपान र स्थानीय परिवेशलाई समेत नजिकबाट बुझ्ने अवसर पाउँछन् । पाल्पामा पर्यटनको सम्भावना बोकेका धेरै स्थान अझै पनि प्रचार–प्रसारको अभावमा ओझेलमा छन् ।
तानसेन र रानीमहलजस्ता परिचित गन्तव्यबाहेक ग्रामीण भेगमा रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको पर्याप्त पहिचान हुन सकेको छैन । यहाँ पर्यटन विकासका प्रशस्त आधार छन् । तर ती सम्भावनालाई चिन्न जरुरी छ । साइकल यात्राजस्ता कार्यक्रमले गन्तव्यको प्रचारप्रसारसँगै स्थानीय अर्थतन्त्रमा समेत योगदान पु¥याउन सक्छन् । बाहिरबाट आउने पर्यटकले स्थानीय होटल, होमस्टे, रेस्टुरेन्ट, यातायात, कृषि उत्पादन तथा हस्तकलाका सामग्री प्रयोग गर्दा गाउँमा आर्थिक गतिविधि बढ्छ । स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा समेत टेवा पुग्छ । तर यसको लाभ स्थानीय समुदायसम्म पुग्ने वातावरण बनाउन आवश्यक छ । पर्यटक आउने तर स्थानीयले त्यसबाट प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था रह्यो भने पर्यटन प्रवद्र्धनको उद्देश्य अधुरो हुन सक्छ । यस्ता अभियानलाई एकपटकको कार्यक्रम वा औपचारिकतामा मात्र सीमित राख्नु हुँदैन । त्यसैले साइकल यात्राले जगाएको उत्साहलाई निरन्तरता दिऔँ, ओझेलमा परेका गन्तव्यलाई चिनाऔँ ।

