पाल्पा, देउवा–कोइराला समूहले पाल्पामा जिल्ला अधिवेशन स्थगित गरेको छ । समूहले आगामी मंसिर १२ गतेका लागि तय गरेको जिल्ला अधिवेशन विशेष कारणवश निर्धारित मितिमा सम्पन्न गर्न नसकिने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पाल्पाका प्रचारप्रसार संयोजक केशव बस्यालका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने यसअघिको निर्णय स्थगित गरिएको बताए । अधिवेशनको नयाँ मिति भने सूचनामा खुलाइएको छैन ।
समूहका केन्द्रीय प्रतिनिधि तथा जिल्ला संयोजक माधवप्रसाद नेपालले हस्ताक्षर गरी जारी गरेको सूचनामा विशेष कारणले तोकिएको मितिमा अधिवेशन गर्न नसकिने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाइएको छ । जिल्ला अधिवेशनको मिति स्थगित भएसँगै पाल्पामा नेपाली कांग्रेसको आन्तरिक संगठनात्मक गतिविधि र आगामी अधिवेशनको प्रक्रियाबारे थप चासो बढेको छ ।


