नवलपरासी, नेपाली कांग्रेसले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का तीनवटै नगरपालिकामा डिजिटल प्रतिनिधिसम्बन्धी परामर्श भेला सम्पन्न गरेको छ । रामग्राम, सुनवल र बर्दघाट नगरपालिकामा काँग्रेसले भेला सकेको हो ।
अभियान सञ्चालनका लागि काँग्रेसले केन्द्रीय सदस्य हिमाल दत्त श्रेष्ठलाई जिम्मेवारी दिएको थयो । पार्टीले केन्द्रीय सदस्यहरूलाई विभिन्न पालिकाको जिम्मेवारी तोकेर संगठन सुदृढीकरणसँगै डिजिटल विस्तारको नीति अघि बढाएको हो । सोही क्रममा नवलपरासीमा दिएको जिम्मेवारी केन्द्रीय सदस्य श्रेष्ठले सफलतापूर्वक सम्पन्न गरेका छन् । भेलाहरुलाई सम्बोधन गर्दै उनले डिजिटल माध्यमलाई संगठन विस्तार, सूचना सम्प्रेषण र जनतासँग जोडिने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्नुपर्ने बताए ।
काँग्रेस पाल्पाका सभापति समेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमा पार्टीबारे फैलिने गलत सूचना र भ्रमको तथ्य तथा प्रमाणका आधारमा प्रतिवाद गर्न कार्यकर्तालाई आग्रह गरे । कांग्रेसको इतिहास, नीति, सिद्धान्त र गतिविधिलाई नयाँ पुस्तासम्म पुर्याउन डिजिटल प्रतिनिधिहरूको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो । पार्टीको घट्दो जनविश्वास र राजनीतिक साख पुनः स्थापित गर्न संगठनात्मक सक्रियतासँगै प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको उल्लेख गर्दै श्रेष्ठले डिजिटल अभियानलाई भाषण र औपचारिकतामा मात्र सीमित नराखी व्यवहारमा उतार्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
तीनवटै नगरपालिकामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस नवलपरासी पश्चिमका कार्यवाहक जिल्ला सभापति विक्रमप्रसाद यादव, क्षेत्र नं. २ का सभापति एवं लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल, क्षेत्र नं. १ का सभापति एवं बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, रामग्राम नगर सभापति बलिराम यादव, सुनवल नगर सभापति यमलाल पाण्डे र बर्दघाट नगर सभापति सुकबहादुर गुरुङलगायतको सहभागिता थियो । त्यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विश्वप्रेम पाठक, भीमबहादुर थापा र अञ्जना पाण्डेलगायतका नेताहरु समेत सहभागीता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश प्रशिक्षण विभागका सहजकर्ता विनोद घिमिरेले डिजिटल प्रतिनिधिको जिम्मेवारी, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र डिजिटल सञ्चारमार्फत संगठन सुदृढीकरणका विषयमा प्रशिक्षण दिएका थिए ।


