Shittalpati
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै

 पाल्पा, प्रधानमन्त्री बालेन शाह आज दिउँसो भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिउँसो सवा ३  बजे भारत प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाहको राजकीय भारत भ्रमण २५ घण्टा ३५ मिनेटको हुने कार्यतालिका तयार भएको छ । छोटो भ्रमणमा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग व्यापार, पारवहन, लगानी, ऊर्जा र पूर्वाधार विकासलाई केन्द्रमा राखेर एक घण्टा २५ मिनेट वार्ता गर्नेछन् ।  प्रधानमन्त्री शाह आइतबार दिउँसो सवा ३ बजेदेखि सोमबार  ४ः५० सम्म नयाँदिल्ली रहने कार्यतालिका छ। प्रधानमन्त्री शाहको राजकीय भ्रमण नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेका हुन् ।

परराष्ट्रसचिव अमृतबहादुर राईले भ्रमण घोषणा गरेलगत्तै मन्त्रालयले प्रेस नोट सार्वजनिक गरेको छ भने त्यसलगत्तै भारतीय विदेश मन्त्रालयले शुक्रबार भ्रमणको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। प्रधानमन्त्रीहरू दिल्लीबाहिर जाने विगतका प्रचलन यसपटक तोडिँदै छ। प्रधानमन्त्रीको अहिलेसम्मकै छोटो बसाइ हुनेछ। प्रधानमन्त्री शाहलाई गत चैतमै भारतीय समकक्षी मोदीले निमन्त्रणा दिएका थिए। शाह प्रधानमन्त्री भएको आठ महिनापछि भारत भ्रमण हुन लागेको छ। संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क भ्रमणमा गएका थिए। यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो। यस्तै प्रधानमन्त्री शाहले भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग परामर्श गर्ने परम्परा तोडेका छन् । भारतसँगको सम्बन्धमा उठाउनुपर्ने राष्ट्रिय हितका मुद्दाबारे उनीहरूसँग सुझावसमेत नमागिएको भन्दै राजनीतिक वृत्तमा यसको आलोचना भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update